पैसा असुल्न आफ्नै अपहरणको नाटक : श्रीमानलाई निर्घात कुट्न लगाउने इन्फ्लुएन्सर पक्राउ
सारांश
- ब्राजिलकी इन्फ्लुएन्सर मोनिकी फ्रागा र उनका श्रीमान् लुकास अपहरणमा परेको नाटक मञ्चन गरेको आरोपमा पक्राउ परेकी छिन्।
- प्रहरी अनुसन्धानले देखाए अनुसार यो अपहरण फिरौतीको लागि रचिएको नाटक थियो, जसमा मोनिकी र एक जना व्यक्ति संलग्न थिए।
- मोनिकीका श्रीमान् लुकास भने यस घटनाबाट अनभिज्ञ थिए र उनी वास्तविक पीडित बनेका थिए।
इगारासु । २१ अप्रिल २०२५ मा ब्राजिलको इगारासुमा बस्ने इन्फ्लुएन्सर मोनिकी फ्रागा र उनका श्रीमान् लुकास घर फर्कंदै गर्दा तीन जना हतियारधारीको फन्दामा परे। मोनिकीले आफ्ना हजारौँ फलोअर्सलाई आफू र आफ्नो श्रीमानले निकै भयानक अवस्थाको सामना गर्नुपरेको बताइन्। तर, प्रहरी अनुसन्धानपछि घटनाले नयाँ मोड लियो र केही चकित पार्ने तथ्यहरू बाहिर आए।
मोनिकीले सामाजिक सञ्जालमा आफ्ना फलोअर्सलाई भनेकी थिइन्, ‘म लुकाससँग घर फर्कंदै थिएँ, त्यही बेला उनीहरूले बाटोमै हामीलाई घेरे। तीन जना हतियारधारी थिए, सुरुमा त मलाई उनीहरूले कार लुट्छन् जस्तो लागेको थियो। तर जब उनीहरूले हामीलाई कारबाट निकालेर अर्को गाडीमा राखे, तब घटना निकै गम्भीर छ भन्ने मैले बुझेँ।’
मोनिकीले आफूहरूलाई खोला किनारको जङ्गलमा लगेर बन्धक बनाइएको र फिरौती तिर्न बाध्य पारिएको दाबी गरेकी थिइन्। अपहरणकारीले गोली हान्ने धम्की दिएकाले आफ्नो परिवारलाई फेरि कहिल्यै देख्न पाउँदिनँ जस्तो लागेको उनले बताएकी थिइन्।
‘मेरो दिमागमा केवल छोराछोरीको मात्र याद आइरहेको थियो, मैले जे माग्छौ दिन्छु तर मलाई केही नगर भनेर बिन्ती गरेँ,’ उनले भनेकी थिइन्। अपहरणकारीले घुँडा र खुट्टामा गोली हान्ने धम्की दिए पनि आफूले धेरै बिन्ती गरेपछि केही नगरेको उनको भनाइ थियो।
अन्ततः अपहरणकारीले मागेको फिरौती परिवारले तिरेपछि उनीहरूलाई एउटा गाउँमा लगेर छाडिएको थियो। अपहरणकारीको कुटाइबाट घाइते भएका उनका श्रीमान् लुकास सिधै प्रहरी चौकी पुगेर उजुरी दर्ता गराए। त्यसपछि सिभिल पुलिसको विशेष अपरेसन समूहले घटनाको अनुसन्धान सुरु गर्यो।
अनुसन्धान सुरु गरेको केही समयमै प्रहरीले घटना शंकास्पद रहेको पत्ता लगायो। फोनको कल डिटेल हेर्दा मोनिकीले घटनाअघि र पछि पनि एक जना कथित अपहरणकारीसँग निरन्तर सम्पर्क गरेको खुल्यो।
प्रमाणहरूको विश्लेषणपछि यो अपहरणको घटना पैसा असुल्नका लागि कथित पीडित (मोनिकी) र एक जना अपहरणकारी मिलेर रचेको नाटक मात्र भएको प्रहरीले निष्कर्ष निकाल्यो।
यस घटनामा सबैभन्दा अचम्मको कुरा के थियो भने, मोनिकीका श्रीमान् लुकासलाई यो नाटकबारे केही पनि थाहा थिएन। उनी यस घटनाका एक मात्र वास्तविक पीडित थिए। उनले आफू र श्रीमतीको ज्यान खतरामा रहेको साँच्चिकै विश्वास गरेका थिए र अपहरणका क्रममा हतियारधारीहरूबाट निर्घात कुटिएका पनि थिए।
अपहरणको नाटक रचेको करिब एक वर्षपछि २५ मार्चमा प्रहरीले मोनिकीलाई पक्राउ गरेको छ। उनीमाथि पैसा असुली, ठगी र प्रहरीमा झुटो उजुरी दिएको आरोप लगाइएको छ। घटनामा संलग्न तीन जनामध्ये एक जना पक्राउ परेका छन् । अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ।
यस विषयमा मोनिकीका वकिलले भने अहिले केही पनि प्रतिक्रिया दिन मानेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण