आजको जटिल विश्व र चेतना निर्माणको प्रश्न
सारांश
- लेखमा विश्व भूराजनीतिक शक्ति संघर्ष, प्रविधि र एकाधिकार पुँजीवादको जटिलतालाई चित्रण गरिएको छ।
- लेखले नेपालमा असन्तोषको ऊर्जा भए पनि त्यसलाई परिवर्तनको बाटोमा डोर्याउने दिशा कमजोर रहेको औंल्याएको छ।
- लेनिनका विचारलाई उद्धृत गर्दै, संगठित प्रयास र वैचारिक स्पष्टता बिना सामाजिक परिवर्तन सम्भव छैन भनिएको छ।
आजको विश्व भू–राजनीतिक शक्ति संघर्ष, एकाधिकारवादी पुँजीको वैश्विक सञ्जाल र प्रविधिको अभूतपूर्व नियन्त्रणले जेलिएको जटिल संरचना हो । यहाँ एकातिर वैश्विक आपूर्ति शृङ्खलाले श्रमिकको जीवनलाई केवल बजारको एउटा सानो र उपेक्षित पुर्जामा खुम्च्याएको छ भने अर्कोतिर डिजिटल ‘अल्गोरिदम’ ले मानिसको सोच्ने र निर्णय गर्ने क्षमतालाई घेराबन्दीमा पारेर सामाजिक सञ्जालको ‘इकोच्याम्बर’ भित्र कैद गरिदिएको छ ।
नेपालमा पनि यो जटिलता ठ्याक्कै प्रतिबिम्बित भइरहेको छ । काठमाडौंका सडकमा पोखिएको जेनजी पुस्ताको आक्रोशदेखि गाउँका चोकमा हुने वैचारिक शून्यतासम्म, हरेक तहमा असन्तोषको ऊर्जा प्रचुर छ । तर, यो ऊर्जालाई परिवर्तनको बाटोमा डोर्याउने ऐतिहासिक दिशा अत्यन्तै दुर्बल छ ।
यस्तो समयमा एउटा समयातीत प्रश्न सबैका अघिल्तिर भभिएको छ– के स्वतःस्फूर्तता मात्रै पर्याप्त छ ? यही प्रश्नले हामीलाई पुनः भ्लादिमिर लेनिनतर्फ फर्काउँछ । चौतारीमा गफगाफ त चल्छ, तर त्यसको निश्चित बाटो भेटिँदैन । सत्य यही हो कि असंगठित आवाजले गन्तव्यमा पुगिँदैन ।
लेनिनले सन् १९०२ मै आफ्नो कालजयी कृति ‘ह्वाट इज टु बी डन ?’ मार्फत एउटा कडा चेतावनी दिएका थिए । उनका अनुसार स्वतःस्फूर्त आन्दोलनले तत्कालको पीडा चिन्छ, तर मुक्तिको संरचनागत निकास देख्दैन । यसले केवल ‘ट्रेड युनियनवादी चेतना’ मात्रै पैदा गर्छ, जसले व्यवस्थाभित्र केही सुधार वा सुविधा त माग्छ, तर व्यवस्थाको आमूल रूपान्तरण गर्न सक्दैन ।
इतिहास साक्षी छ, उत्पीडित वर्गलाई आफैँमा क्रान्तिकारी चेतना प्राप्त हुँदैन । यो चेतना वैज्ञानिक संगठन र कठोर वैचारिक श्रममार्फत बाहिरबाट भर्नुपर्छ । यो कुनै लहड होइन, बरु अनुशासनबद्ध तर्क र रणनीतिक अभ्यासको उपज हो ।
इन्साइक्लोपिडिया ब्रिटानिकाले लेनिनवादी संगठनलाई एउटा ‘ज्ञानात्मक इन्जिन’ का रूपमा व्याख्या गरेको छ । यो यस्तो संरचना हो, जसले समाजमा छरिएको असन्तोषलाई सङ्कलन गरी त्यसलाई वैज्ञानिक दिशा दिन्छ । आजको डिजिटल युगमा हाम्रो समाजमा यही इन्जिनको अभाव छ ।
हाम्रा किसानले बजारमा आफ्नो उत्पादनको मूल्य नपाउँदा आक्रोश पोख्छन्, तर उनीहरू विश्वव्यापी श्रम र पुँजीको कुन जालोमा बेरिएका छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् । ज्ञानात्मक इन्जिनले नै क्षणिक आक्रोशलाई ऐतिहासिक शक्तिमा बदल्ने हैसियत राख्दछ ।
इतिहासकार लार्स टी. लिहको विश्लेषण यहाँनेर प्रासङ्गिक छ । लेनिनका लागि ‘सक्षम नागरिकता’ नै राजनीतिको मूल लक्ष्य थियो । सक्षम नागरिकको अर्थ समाजको संरचनात्मक यथार्थ र असमानताको स्रोत पहिचान गर्न सक्ने सक्रिय व्यक्ति हो । यस्तो नागरिक स्वतःस्फूर्त जन्मँदैन । यसका लागि निरन्तर वैचारिक श्रम चाहिन्छ ।
आजको पपुलिज्म र डिजिटल एल्गोरिद्मले यस्तो गम्भीर नागरिकतालाई विस्थापित गरेर मानिसलाई केवल उपभोक्ता वा भावनाको सिकार बनाइरहेका छन् । डिजिटल संसारले सूचना त दिन्छ, तर व्याख्या दिँदैन । आजको नेपाली युवाले फोनको स्क्रिनमा घण्टौं समय बिताउँछ, तर त्यही एल्गोरिमले उसलाई उसको इकोच्याम्बरमा कैद गरिदिएको छ । यसले गर्दा ऊ आफ्नै समस्याको वास्तविक जरोसम्म पुग्नै पाउँदैन ।
उदाहरणका लागि मगर समुदायको स्थानीय असन्तोषले पहिचानको माग त गर्छ, तर त्यो माग वैश्विक पुँजीवादी जालोसँग जोडिन नसक्दा अधुरो रहन्छ । सूचनाको यो बाढीमा व्याख्याको अभाव हुनु नै राजनीतिक विचलनको मुख्य कारण हो ।
यस सन्दर्भमा, लेनिनको ‘सामाजिक परिवर्तन केवल भावनाले होइन, वैचारिक कठोरता र अनुशासित संगठनको संयोजनले मात्र सम्भव हुन्छ’ भन्ने कथन विल्कुलै सान्दर्भिक ठहर्छ । लेनिनका यी कथन केवल क्रान्तिकारी राजनीतिका सूत्र मात्र होइनन्, बरु जुनसुकै गम्भीर ऐतिहासिक परियोजनाका प्रस्थानविन्दु हुन् ।
चेतना बिनाको संगठन आयु विहीन हुन्छ र संगठन बिनाको चेतना शक्तिहीन । नेपालको आजको मुख्य समस्या यही दिशाबोधको शून्यता हो । हाम्रो देशमा असन्तोष त प्रचुर छ, तर त्यसले कुनै निश्चित क्रान्तिकारी पहलकदमीलाई धक्का दिन सकेको छैन ।
जेनजी पुस्ताको सडक उभार किन असफल भयो ? किनकि त्यहाँ वैचारिक अनुशासनको इन्जिन थिएन । दशकौं लामो युद्धका संरचनाहरू जर्जर हुनुका कारण पनि चेतना निर्माणको प्रक्रिया वैज्ञानिक नहुनु नै हो । संगठन भनेको भावनात्मक जमात होइन, यो त एउटा साझा बुझाई, तर्कको अभ्यास र निरन्तर संवाद चल्ने कारखाना हो ।
राजनीतिक अव्यवस्थामा नयाँ आशा राख्ने नागरिकहरूले लेनिनका यी सूत्रहरूलाई नजरअन्दाज गर्नै सक्दैनन् । नेटवर्कयुक्त यो संसारमा अबको चेतना केवल आर्थिक संरचनामा मात्र सीमित भएर पुग्दैन । संगठन अब केवल पदानुक्रम मात्र हुनहुँदैन, सचेत नागरिकहरूको एउटा शक्तिशाली नेटवर्क बन्नुपर्छ ।
नेपालमा जमिनी यथार्थ बुझ्ने क्षमता कमजोर हुनुका पछाडि वैचारिक संवादको अभावले भूमिका खेलेको छ । अर्को उदाहरण, दलित युवाको फोन स्क्रोलले मात्रै उसलाई विदेशी लगानी वा राष्ट्रिय अर्थतन्त्रको असर बुझाउन सक्दैन । हामीलाई चोक र चौतारीका जस्तो जीवन्त संवाद चाहिन्छ, जहाँ असन्तोषले बाटो भेटोस् । छलफलले समाजलाई सफल उदाहरणसम्म पु¥याउँछ ।
गुरुङ महिलाहरूको सामुदायिक समूह आमा समूहको सफलता एउटा सानो तर जीवन्त उदाहरण हो । उनीहरूले स्थानीय असन्तोषलाई सामूहिक शक्तिमा बदल्दै सामाजिक रूपान्तरणको औजार बनाएका छन् । जब स्थानीय समस्या राष्ट्रिय र वैश्विक संरचनासँग जोडिन्छ, तब मात्र परिवर्तनको ढोका खुल्छ ।
अन्तमा, हामी पुनः त्यही जटिल विश्वको यथार्थमा आइपुग्छौँ । वैश्विक आपूर्ति शृङ्खलाको जालोमा पिल्सिएको असन्तोष केवल एउटा आवाज हो । तर चेतना त्यो आवाजलाई हिँडाउने बाटो हो र संगठन सामूहिक पाइलो हो । लेनिनले यसलाई प्रमाणित गरेर देखाएका छन् कि वैचारिक स्पष्टता, अनुशासित संगठन र रणनीतिक चेतनाको संयोजन विना परिवर्तन असम्भव छ ।
यो एकीकृत चेतनाको निर्माण गर्नु नै आज हाम्रो साझा ऐतिहासिक जिम्मेवारी हो । परिवर्तन भावनाले मात्र होइन, वैचारिक कठोरता र रणनीतिक क्रियाशीलताको संयोजनले सम्भव हुन्छ । के हामी यो वैचारिक थलो निर्माण गर्न तयार छौं ? समय बदलिन्छ, तर लेनिनले स्थापित गरेका यी नियमहरूको तीक्ष्णता कहिल्यै कम र कमजोर हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण