बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नर्वेजियन मनोवैज्ञानिक यात्रीको नेपाल अनुभव

‘त्यो हृदयले देख्ने ठाउँ हो, जहाँ जीवनको अर्थ भेटिन्छ’

बुधबार, १८ चैत २०८२, ०८ : ३२
बुधबार, १८ चैत २०८२

सारांश

  • नर्वेकी बोका लागि नेपाल सुन्दर देश मात्र नभई शान्ति, प्रेरणा र आत्मिक घर हो।
  • उनले नेपालमा आत्मीयता, अपनत्व, र शान्ति पाउँछिन्, र यहाँको वातावरणले गहिरो प्रभाव पार्छ।
  • बो नेपालमा ध्यान, योग, ट्रेकिङ, र लेखनमा संलग्न हुन्छिन्, र उनलाई नेपाली संस्कृति मन पर्छ।

जर्मनी । सामान्यतया एक विदेशीलाई नेपालबारे प्रश्न गर्दा आउने अधिकांश उत्तर हो– एउटा सुन्दर हिमाली देश। तर, नर्वेको किसान परिवारमा जन्मिएकी मनोवैज्ञानिक, लेखक र आजीवन यात्री बोर्गहिल्ड बोका लागि भने नेपाल एउटा सुन्दर देशमात्र होइन– शान्ति, प्रेरणा र आत्मिक घर पनि हो। नेपाल पुगेपछि उनले आत्मीयता र अपनत्व मात्र महसुस गर्दिनन् आफ्नै मनभित्र शान्ति पनि पाउँछिन्।

नर्वेको बर्गेनभन्दा दक्षिणतिरको शान्त ठाउँमा जन्मिएर प्रकृतिको काखमा किसान परिवारभित्र हुर्किएकी बो सन् २००७ मा पहिलो पटक नेपाल जाँदा मुख्य उद्देश्य ट्रेकिङ थियो। आमाबुवा, हजुरबुवा–हजुरआमा र सात दाजुभाइ–दिदीबहिनीसँगै एउटा कृषि फार्ममा बितेको बाल्यकालले उनलाई प्रकृति, जिम्मेवारी र समुदायप्रति सचेत बनाएको थियो। पछि फर्केर हेर्दा उनलाई लाग्छ त्यो प्रारम्भिक जीवनले कुनै न कुनै रूपमा नेपालसँगको सम्बन्धका लागि आफूलाई तयार पारिरहेको थियो। ‘म प्रकृति, मौनता र व्यवहारिक जीवनसँग नजिक भएर हुर्किएँ,’ उनले भनिन्, ‘त्यसैले नेपाल नर्वेभन्दा धेरै फरक भए पनि मभित्रको ‘केही’ ले यसको सरलता र सत्यतालाई चिनेको जस्तो लाग्यो।’

परिवारमा कान्छी छोरी भएका कारण पाएको स्वतन्त्रताले बोको जिज्ञासा र संसार बुझ्ने चाहनालाई अझ फैलाउन मद्दत गर्यो।यात्राप्रति सानैदेखिको लगावले अन्ततः उनलाई हिमाली देश नेपालसम्म पुर्‍यायो। नर्वेका अग्ला अग्ला पहाड देखेकी उनलाई हिमालप्रतिको आकर्षणले नेपालको गोक्यो मार्ग हुँदै कालापत्थर र सगरमाथा बेस क्याम्पसम्म पुर्‍यायो। सानो समूह र नेपाली गाइडहरूसँगको त्यो यात्रा उनका लागि केवल साहसिक अनुभव मात्र थिएन, अत्यन्तै व्यक्तिगत र आत्मीय पनि थियो। तर उनलाई सबैभन्दा गहिरो रूपमा छोएको कुरा त्यहाँका दृश्य मात्र थिएनन्, नेपालको वातावरण, त्यहाँका मानिसको आत्मीयता र जीवनप्रतिको दृष्टिकोणले उनलाई महसुस गरायो– नेपाल एउटा साधारण गन्तव्यभन्दा धेरै माथि छ।

बोको पहिलो वास्तविक साहसिक कार्य २० वर्षको उमेरमा सुरु भएको थियो। ‘जब म आठ महिनाको लागि कृषि फार्ममा काम गर्न अष्ट्रेलिया गएँ। मेरा लागि त्यही नै अन्वेषण र आजीवन यात्राका लागि सुरुआत थियो,’ उनले भनिन्, ‘त्यसपछि विशेष गरी एउटा यात्राले निर्णायक मोड ल्यायो। सन् २०११ मा भारतको वाराणसीमा रहँदा एक प्रिय ध्यानगुरुले मसँग भने– तिमी एकपटक मुक्तिनाथ जानैपर्छ। त्यसपछि म त्यहाँ गएँ र त्यो यात्राले नै मेरो दिशा पनि बदलिदियो।’ बोले संसारका ८०–९० मुलुक घुमेकी छन् तर नेपालमा पाइने आत्मीयता र शान्ति अन्यत्र पाउन सकिनन्। करिब १६ वर्ष अस्ट्रेलिया बसेर फेरि नयाँ जीवन खोज्दै युरोपको आफ्नै पहाडी देश नर्वे फर्किएकी उनी त्यसपछि भने संसार भ्रमण गर्न निस्किएकी आजीवन यात्री हुन्।

पहिलो पटक नेपाल देख्दा उनलाई यो देश जीवन्त, रंगीन र चलायमान लाग्यो– धूपको वास्ना, मन्दिरका घण्टीहरूको आवाज, सडकको चहलपहल। तर ती सबैका बीचमा पनि उनले एउटा अनौठो शान्ति महसुस गरिन्। ‘ध्वनि, रङ, चालचलन, धूप, मन्दिरका घण्टी र यहाँका सबै कुरा पूर्ण रूपमा फरक संसारजस्तो लाग्यो, सबै जीवित जस्तो लाग्यो,’ बोले भनिन्, ‘यही भित्र कतै मैले शान्ति महसुस गरें।’ अपरिचित भए पनि यो ठाउँ कुनै न कुनै रूपमा निकै चिनिएको जस्तो लाग्यो। कारण नर्वे र नेपालको भौगोलिक समानता पनि हो। यही अनुभूतिले नेपालसँग उनको सम्बन्धको सुरुआत गर्‍यो, जुन समयसँगै अझ गहिरो बन्दै गएको छ। उनी भन्छिन्, ‘नेपालले मलाई बारम्बार बोलाउँछ, यसले मलाईलाई स्वतन्त्रता र अपनत्व दुवै दिन्छ।’ त्यसैले उनी बारम्बार नेपाल गहिरहन्छिन्।

1-IMG_8329

हिमाल उनको आकर्षणको एउटा पाटो हो भने मानिसहरूको न्यानोपन, आत्मीयता र आध्यात्मिक वातावरण, विशेषगरी बौद्ध धर्मको प्रभावले बोलाई गहिरो शान्ति दिन्छ। नेपालमा हुँदा उनी सहजै ‘आफू’ हुन सक्छिन्। अहिलेसम्म उनले करिब दस पटक जति नेपालको यात्रा गरिसकेकी छन्। ती प्रत्येक यात्राले उनलाई फरक अनुभव दिएको छ र प्रत्येक यात्रामा नेपालले उनलाई नयाँ ढंगले स्वागत गर्छ। ‘म नेपाल जाँदा पर्यटक जस्तो महसुस गर्दिन,’ बो भन्छिन्, ‘सबै कुरा स्वाभाविक र परिचित जस्तो लाग्छ। मानिसहरूले मलाई आफ्नै घरको सदस्य जस्तो व्यवहार गर्छन्। म आफ्नो घरमै भएको महसुस गर्छु।’

बोले भारतीय हिमालयका लद्दाख र जास्कर क्षेत्रमा गरिएको २१ दिने रूपान्तरणकारी यात्राबाट प्रेरित भएर ’वाकिङ इन्टु इट ः ए पिल्ग्रिमेज थ्रु फरेन ल्याण्ड्स टु इनर वल्ड्र्स’ नामक पुस्तक पनि लेखेकी छन्। त्यो यात्रा उनलाई आफ्नै भित्री संसारलाई अझ गहिरो रूपमा अनुभव गर्न महत्त्वपूर्ण मोड बन्यो।

3-IMG_8402

उनले ‘फायर अफ क्रिएसनः पेन्टिङ भिजन अफ इनर्जी’ नामक कलासम्बन्धी पुस्तक र ’लेयर्स अफ कन्सेसनेसः ओपन टु डिपर सेल्फ अवारनेस’ नामक कविता र तस्बिरहरूको पुस्तक पनि प्रकाशित गरेकी छन्। दक्षिण अमेरिकामा गरेको एक यात्राबाट प्रेरित भएर उनले यी पुस्तक प्रकाशित गरेकी हुन्। हाल उनी नेपालमा गरेका आफ्ना यात्रासँग सम्बन्धित अर्को पुस्तक पनि लेख्दै छिन्।

क्लिनिकल मनोवैज्ञानिक र लेखकका रूपमा पनि नेपालले बोमाथि गहिरो प्रभाव पारेको छ। हिमालय, गुम्बा र ध्यानस्थलहरूले मनोवैज्ञानिक उपचार पद्दति र मानसिक स्वास्थ्यबारे पनि प्रशस्त सोच्ने अवसर दिएको बताउँदै उनले भनिन्, ‘दृष्टिकोण परिवर्तन भएपछि मेरो लेखन र सिर्जनशीलताले पनि आकार लिएको छ। मलाई लेख्न, चिन्तन गर्न र के महत्त्वपूर्ण छ भन्ने कुरा सोच्न प्रेरणा पनि मिलेको छ।’

2-IMG_8108

यदि नेपाल एउटा व्यक्ति भएको भए बोले बुझ्ने नेपाल ’एक बुद्धिमान र न्यानो मन भएको ज्येष्ठ सदस्य, जसले सधैं भन्छ– ‘आउ एकछिन बस अनि एक कप चिया पिएरमात्र जाउ’ हो। ‘नेपालले मलाई छुने अर्को कुरा भनेको जीवन आफैं अभ्यास बन्नु हो,’ उनले भनिन्, ‘पश्चिमा मुलुकहरूमा हामी प्रायः जीवनलाई सन्तुलनमा राख्न अनेक अभ्यास गर्छौं। तर नेपालले मलाई बारम्बार सम्झाउँछ तिम्रो जीवनशैली नै अभ्यास बन्न सक्छ। हिँड्नु, चिया पिउनु, मौन बस्नु यी सबै अभ्यासका भाग हुन्। दैनिक जीवन नै अभ्यास हो।’

नर्वे र नेपालको सांस्कृतिक भिन्नताबारे बोको बुझाइ छ, ‘नर्वे व्यवस्थित, विकसित र संरचित छ भने नेपाल लचिलो, सम्बन्धमुखी र अर्थमा आधारित छ। नेपालमा मान्छेको जीवन सम्बन्ध, विश्वास र भावनासँग जोडिएर बग्छ।’ उनका लागि अर्को ठूलो भिन्नता भनेको दैनिक जीवनमा अध्यात्मको उपस्थिति हो। नेपालमा त्यो स्पष्ट रूपमा अनुभव गर्न सकिन्छ भने नर्वेमा अपेक्षाकृत कम छ। यद्यपि बाहिरी रूपमा फरक देखिए पनि दुवै समाजमा नैतिकता, सहनशीलता र राम्रो मानिस बन्ने मूल्य समान रहेको उनको बुझाइ छ। नेपालीहरू न्यानोपन र आत्मीयता खुलेर व्यक्त गर्छन् भने नर्वेजियनहरू यस विषयमा अलि शान्त हुन्छन् तर भित्री शक्ति भने दुवैमा रहेको उनको अनुभव छ। ‘नर्वेमा हामी धेरै व्यक्तिगत र निजी भएका छौँ,’ पश्चिमा समाज र नेपाली समाजबीचको भिन्नताबारे उनले सुनाइन्, ‘नेपालमा म दैनिक सहकार्य देख्छु। समाजमा  मानिसहरू सँगै बस्ने, कुरा गर्ने, एकअर्कालाई सहयोग गर्ने। त्यो अमूल्य मानवीय मूल्य हो, जुन हामीले धेरै हदसम्म गुमाएका छौं।’

4-IMG_2625 (1)

नेपाली भाषा पूर्ण रूपमा बोल्न नसके पनि बोले केही शब्द सिकेकी छन्। तर नेपालमा उनले सिकेको सबैभन्दा ठूलो कुरा भाषा बिना पनि धेरै कुरा बुझ्न सकिन्छ भन्ने हो। नेपालीको दयालु संकेत, हाँसो र ‘आउनुस् एक कप चिया पिएर जानुहोस्’ भन्ने जस्ता कुरा उनलाई अति आत्मीय लाग्छन्। नेपाली संस्कृतिको भक्ति, कृतज्ञता, आतिथ्य र सम्मानले उनलाई गहिरो रूपमा प्रभावित पारेको छ। विशेषगरी करुणा र शान्ति उनलाई अत्यन्त मनपर्ने पक्ष हो।  

दुई देशबीचको जीवन सन्तुलनबारे बो भन्छिन्, ‘नेपालमा हुँदा ध्यान, योग, ट्रेकिङ, हिँडडुल, लेखन र आत्मचिन्तन गर्दै सरल जीवन बिताउँछु। नर्वेमा हुँदा नियमित काम र जिम्मेवारीमा फर्किन्छु।’ नेपालले उनलाई आफैमा बिस्तार गर्न, विश्वास गर्न र वर्तमानसँग जोडिन सिकाएको छ।

काठमाडौंको बौद्धनाथ स्तुपाले पनि उनका लागि विशेष महत्त्व राख्छ। ‘बौद्ध क्षेत्रमा प्रवेश गरेर स्तूप वरिपरि हिंड्नासाथ म पूर्ण रूपमा शान्ति महसुस गर्छु,’ बोले भनिन्, ‘यो मेरो सम्पूर्ण शरीरमै तुरुन्तै महसुस हुन्छ। नेपालले मलाई सूक्ष्म तर अत्यन्त गहिरो तरिकाले परिवर्तन गरेको छ।’ काठमाडौँमा रहेको जीवित देवी कुमारी परम्पराले उनलाई विशेष रूपमा प्रभावित गरेको छ। यद्यपि कहिलेकाहीँ नेपालमा व्यक्तिगत प्रश्नहरू छिट्टै सोधिने चलन उनलाई सुरुमा फरक लाग्यो किनकि नर्वेमा यस्तो कम हुन्छ। तर उनले यस्ता कुराहरूलाई सम्मान र हाँसोका साथ स्वीकार्न सिकिन्। नेपालका केही धार्मिक स्थलहरूमा देखिने सीमाहरूलाई पनि उनले सम्मानपूर्वक बुझेकी छन्।

6-IMG_2930

नेपालमा बिताएका धेरै अनुभवहरूमध्ये सन् २०११ को मुक्तिनाथ यात्रा बोको जीवनकै महत्त्वपूर्ण मोड बन्यो। त्यही क्रममा उनले पछि रिन्पोछे बनेका र मौन साधनामा रहेका लामा ताशीसँग भेटिन्। त्यो भेटले उनको जीवन र सोचमा गहिरो प्रभाव पार्‍यो। उनी रिन्पोछेको गुम्बामा धेरै पटक बसेकी छन्। त्यहाँ बस्दा उनले गाउँले समुदायसँग अपनत्व महसुस गर्न थालिन्। हालसालै करिब तीन महिना १५ दिन लामो नेपाल भ्रमणका क्रममा उनले मुस्ताङमा रिन्पोछेको गुम्बामा सात हप्ताको एकल साधना पनि पूरा गरेकी छन्। ’मुस्ताङमा केही यस्तो चिज छ जुन शब्दमा भन्न गाह्रो छ,’ बो भन्छिन्, ‘मौनता, पहाड, विशालता र सरल जीवन, यी सबै कुराले तपाईंलाई एकै समयमा अनेकौं अनुभूति दिलाउँछ।’

मुस्ताङ र मुक्तिनाथ आज पनि उनको हृदयसँग गहिरो रूपमा जोडिएका छन्। त्यहाँको शान्तिमय र हिमाली वातावरण तथा सरल जीवनले उनलाई बारम्बार तान्छ। पछिल्लोपटक यस वर्षको नेपाल यात्राका क्रममा उनले मनास्लु सर्किट ट्रेक पनि पूरा गरिन्।

5-IMG_2637

‘काठमाडौँ पुग्दा मलाई सधैं घर फर्किएको जस्तो महसुस हुन्छ भने शरीर र मन दुवैमा ऊर्जा आउँछ,’ बोले रातोपाटीसँगको लामो कुराकानीका क्रममा भनिन्, ‘काठमाडौं सहरभित्र हुने चलायमान जीवन पनि मलाई अर्थपूर्ण लाग्छ।’ नर्वे फर्किएपछि पनि उनी नेपालका धेरै कुराहरू सम्झिन्छिन्–मानिसहरूको न्यानोपन, आध्यात्मिक वातावरण, हिमाल र सरल जीवनको अनुभूति। अर्कोतर्फ नेपालमा हुँदा उनी नर्वेको न्यानो कोठा, सफा पानी, पूर्वाधार र सहज जीवनलाई सम्झिन्छिन्।

उनको जीवनमा नेपालको भूमिका गहिरो छ– व्यक्तिगत रूपमा, आत्मचिन्तनको क्षेत्रमा, पेसागत सोच र मनोवैज्ञानिक उपचारका दृष्टिमा पनि। उनले अहिलेसम्म नेपालमा औपचारिक रूपमा कुनै सामाजिक वा स्वयंसेवी काम गरेकी छैनन्। तर, भविष्यमा युवा र मानसिक स्वास्थ्यका क्षेत्रमा योगदान गर्ने चाहना छ। यात्राका क्रममा नेपालमा उनले केही पूर्वाधारका चुनौतीहरू पनि भोगेकी छन् तर ती सबैलाई उनले अनुभवको एउटा सानो अंशका रूपमा स्वीकारेकी छन्। बोका लागि नेपालले सिकाएको सबैभन्दा ठूलो पाठ भनेको धैर्यता हो। बोले भनिन्, ‘नेपालले मलाई दुर्लभ कुरा दिएको छ– आफू को हुँ भन्ने विस्तारित चेतना तथा जीवन जिउने अझ गहिरो र अर्थपूर्ण तरिका।’

7-IMG_3926

दुई देशबीचको जीवन सन्तुलनबारे बो भन्छिन्, ‘नेपालमा हुँदा ध्यान, योग, ट्रेकिङ, हिँडडुल, लेखन र आत्मचिन्तन गर्दै सरल जीवन बिताउँछु। नर्वेमा हुँदा नियमित काम र जिम्मेवारीमा फर्किन्छु।’ नेपालले उनलाई आफैमा बिस्तार गर्न, विश्वास गर्न र वर्तमानसँग जोडिन सिकाएको छ। उनका परिवार र साथीहरूले उनको नेपाल अनुभव पूर्ण रूपमा नबुझे पनि यस देश र मनिससँगको सम्बन्ध उनको पहिचानको महत्त्वपूर्ण हिस्सा हो भन्ने बुझेका छन्।

नर्वेमा नेपाललाई वर्णन गर्दा उनी भन्ने गर्छिन्, ‘त्यो हृदयले अनुभव गर्ने ठाउँ हो, जहाँ मानिसहरूको न्यानोपन र जीवनको अर्थ भेटिन्छ।’ उनका अनुसार नेपालबाट सिक्न सकिने सबैभन्दा ठूलो कुरा भनेको समुदायमा ठूलो परिवार पनि मिलेर सँगै बस्ने संस्कार हो, जुन नर्वेजियन समाजले पनि पुनः अँगाल्न सक्छ। नर्वेजियन यात्रुहरूलाई उनको सन्देश छ– खुला मन, सम्मान र जिज्ञासासहित नेपाल जानुहोस्, हतार नगर्नुहोस् किनभने नेपालले धैर्यता सिकाउँछ।

भविष्यमा बो नेपाल र नर्वेबीच पारस्परिक सिकाइ र सम्मानमा आधारित सम्बन्ध अझ बलियो हुने आशा राख्छिन्। उनको दीर्घकालीन योजना भनेको नेपाल गइरहने र दुवै देशबीच सन्तुलित जीवन जिउने हो। नेपालीहरूलाई के भन्न चाहान्छौ भन्ने प्रश्नमा बोको जवाफ छ, ‘धन्यवाद! तपाईंहरूको देशले मलाई शान्ति र अपनत्व दिएको छ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुबल सापकोटा
टुबल सापकोटा
लेखकबाट थप