इनिसा मृत्यु प्रकरणः ‘सहमतिमा यौन सम्बन्ध’को दाबीमै आशङ्का
सारांश
- सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना किशोरलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ।
- प्रहरीको अनुसन्धान प्रतिवेदन र सरकारी वकिलको अभियोग पत्रमा भिन्नता देखिएको छ, जसले मुद्दामा प्रश्न खडा गरेको छ।
- घटनास्थलमा भेटिएका प्रमाण र शव परीक्षण रिपोर्टका आधारमा अदालतले सामूहिक बलात्कार र हत्याको ठहर गरेको छ।
सुर्खेत । सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना किशोरलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । मंगलबार सुर्खेत जिल्ला अदालत, बाल इजलासका न्यायाधीश दीपक ढकालले यस्तो आदेश दिएका हुन् ।
अदालतमा वादी (नेपाल सरकार÷पीडित)का तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाई, पुष्पा चालिसे, अधिवक्ताहरू गोविन्दराम परियार, राजेन्द्र भारती, मङ्गलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार लगायतले बहस गरेका थिए ।
आरोपित किशोरहरूको तर्फबाट अधिवक्ताहरू शंकर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवश कुमार बस्नेत, खगेन्द्रबहादुर खनाल, नारायणनाथ योगीले बहस गरेका थिए ।
अदालतका सूचना अधिकारी उज्ज्वल रावलका अनुसार हाललाई पुर्पक्षका लागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै छ । ‘सबै साक्षीको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुनेछ,’ उनले भने ।
अदालतले यो घटनालाई सामूहिक बलात्कार र अति नै यौन हिंस्रक बनेर इनिसामाथि करणी गरेको प्रारम्भिक ठहर गरेको छ ।
यद्यपि प्रहरीको अनुसन्धान प्रतिवेदन, सरकारी वकिलको अभियोग पत्र तथा सीसीटीभी फुटेज अनुसार घटनामा इनिसाका प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’ बाहेक अन्यको भूमिकाबारे बलियो प्रमाण देखिन्न ।
तर पनि अन्य तीन आरोपितलाई अदालतले तत्काल निर्दोष भन्न सकिने अवस्था देखेन । तीन जना किशोरका आफन्तले सरकारी वकिल कार्यालयको अभियोग पत्र विरुद्ध सोमबार र मंगलबार आन्दोलन गरेका थिए ।
उनीहरूले ‘निर्दोषलाई होइन, दोषीलाई सजाय देऊ, न्याय बेचिने होइन, देखिने बनाऊ’ भन्दै प्रदर्शन गरेका थिए ।
हरेक अनुसन्धानमा सामूहिक बलात्कार नभएको रिपोर्ट आउँदा सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार भन्दै मुद्दा अभियोजन गरी निर्दाेषलाई फसाउन खोजिएको आरोप उनीहरूको छ । उनीहरूले न्यायालयलाई प्रभावित पार्ने र निर्दोष बालकहरूलाई फसाउने काम भएको दाबी गरिरहेका छन् ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका ‘वीरेन्द्रनगर प’लाई नियन्त्रणमा लिएको थियो ।
इनिसाकी आमाले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिइन् । प्रहरीले ती तीन जना किशोरलाई सोही दिन पक्राउ गर्यो ।
अदालतले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिए पनि यहाँ प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको पत्रबिचको भिन्नताले गम्भीर प्रश्न उठाएको देखिन्छ ।
चैत ११ गते प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो, जसमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्ष थियो । इनिसाका प्रेमी भनिएका किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा इनिसाको मृत्यु भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित सिफारिस गरेको थियो । अन्य ३ जनाको हकमा भने ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा प्रहरीले पेस गर्यो ।
उनीहरूमाथि इनिसालाई समयमा अस्पताल पुर्याउन मद्दत नगरेको, समयमा प्रहरी र परिवारलाई खबर नगरेको भन्ने हिसाबले कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने प्रहरीको निष्कर्ष थियो ।
यद्यपि आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनालाई ‘सामुहिक जबरजस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान)’ भन्दै अदालतमा अभियोग पत्र दायर गर्यो ।
अदालतले सोही अभियोग पत्रलाई नै आधार मानेर अन्य तीन जनालाई पनि पुर्पक्षका लागि सुधार गृहमा राख्न आदेश दियो ।
इनिसाका प्रेमी ‘प’ ले आफू र मृतकबिच सहमतिमा यौन सम्बन्ध भएको, त्यस क्रममा एक्कासि रक्तश्राव भई बेहोस भएको बयान दिएका छन् । ‘त्यसपछि अस्पताल लैजानका लागि साथीहरूलाई सहयोग गर्न आईदऊ न भनी बिन्ती गरेँ,’ उनले बयानमा भनेका छन् ।
ती तीन किशोरले पनि ‘प’ले नै सहयोग मागेकाले उद्धारका लागि घटनास्थलमा पुगेको भनेका छन् । यद्यपि घटना भएको समयमा उनीहरूको उपस्थिति र घटनास्थलको वीभत्स प्रकृतिले गर्दा उनीहरूलाई अदालतले पुर्पक्षका लागि सुधार गृहमा पठाउने आदेश दिएको छ ।
अदालतले उनीहरूले ‘मृतकलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेका होइनौँ’ भनेर जिकिर लिएता पनि घटनास्थलमा गएको तथ्य स्वीकार गरेको, मृतकलाई उद्धार गरेको अवस्था नदेखिएको, ‘प’सँग फोन सम्बाद भएको देखिएको, घटनास्थलमा पुगे पनि उद्धार कार्यको लागि प्रहरी तथा गाउँलेलाई जानकारी नदिएको तथा जाहेरवालाको भनाइलाई नै आधार मानेर आदेश जारी गरेको छ ।
‘सबै प्रमाणहरूबाट कानुनको विवादमा परेका बालकहरू वीरेन्द्रनगर ‘ध’, ‘न’ र ‘फ’ अहिले नै निर्दोष हुन् भनी भन्न सकिने अवस्था नदेखिएकोले थप प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने गरी आदेश गरिएको छ,’ आदेशमा भनिएको छ ।
अन्य तीन जनालाई पुर्पक्षमा पठाउन इनिसाकी आमाको बयान तथा जाहेरीमा ‘प’ ले फकाई–फुल्याई लगि अन्य साथीहरू ‘ध’, ‘न’ र ‘फ’ लाई फोन गरेर बोलाई सबै मिली सामूहिक बलात्कार गरेको र सोही कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको दाबी गरेको कुरालाई अदालतले मुख्य आधार बनाएको छ ।
इनिसाकी आमाले सुरुमा घटना घटेको दिन बिहान ६ बजेतिर सबै बालकहरू आफ्नो घरमा आएर स्कुलमा प्रयोगात्मक परीक्षा छ भन्दै लिएर गएको बयान दिएकी थिइन् । तर पछि उक्त कुरा सच्याएकी थिइन् । पछि उनले स्कुल जान्छु भनेर घरबाट एक्लै छोरी गएकी भनेकी थिइन् ।
यद्यपि सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र पेस गर्दा इनिसाकी आमाको सच्याएको भनाइ भन्दा अघिल्लो भनाइलाई पनि प्राथमिकता दिएको देखिन्छ । यसले आरोपित गरिएकाहरूलाई प्रश्न उठाउने ठाउँ दिएको देखिन्छ ।
साथै, घटनास्थलमा वन पाले र अन्य साक्षीहरूले उनीहरूको उपस्थितिबारे कागज गरिदिएको र घटनाको प्रकृति पनि गम्भीर भएको अदालतले भनेको छ ।
शव परीक्षण रिपोर्टको व्याख्यालाई अदालतले अर्को आधार बनाएको छ । शव परीक्षण रिपोर्टमा योनीको भित्री तहसम्म ३ से.मी. लामो र १ से.मी. गहिरो चोट लागेको, पाठेघरको मुखभन्दा केही तलसम्म भित्री पर्खाल च्यातिएको र अत्यधिक रक्तश्राव भएको उल्लेख छ ।
अदालतमा ‘प’ले ‘मृतक मेरो प्रेमिका हुन्, दुई पटक सहमतिमा यौन सम्पर्क हुँदा एक्कासि रक्तश्राव भएर बेहोस भई मृत्यु भएको हो, हत्या गरेको होइन’ भनी दिएको बयानलाई अदालतले पत्याएको देखिन्न ।
अदालतले यसलाई ‘अति नै यौन हिंस्रक बनी बलात्कार गरिएको’ तथ्यका रूपमा लिएको छ । र, यसलाई ‘सहमतिमा भएको यौन सम्बन्ध हो’ भन्ने जिकिरसँग मेल नखाने भनेको छ ।
अन्य बालकलाई ‘प’ सँगै पुर्पक्षमा पठाउन अदालतले लिएको अर्को आधार घटनास्थलमा एकभन्दा धेरै कण्डम भेटिनु हो । घटनास्थलबाट प्रहरीले एउटा रगत लतपतिएको कण्डम, एउटा खोलेको र बाँकी ३ वटा नखोलेका कण्डम बरामद गरेको थियो ।
साथै, घटनास्थलमा संघर्ष भएको जस्तो देखिने जमिन मडारिएको र मृतकका छरिएका कपडाहरू फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण