बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी क्रिकेटको नयाँ सम्झौता : डेभिड मिलर बाहिरिँदा ५ युवा खेलाडी टोलीमा समेटिए

बुधबार, १८ चैत २०८२, ११ : १४
बुधबार, १८ चैत २०८२

सारांश

  • क्रिकेट दक्षिण अफ्रिकाले २०२६-२७ सिजनका लागि नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ, जसमा डेभिड मिलर बाहिरिएका छन्।
  • नयाँ सम्झौतामा पाँच नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय सम्झौता पाएका छन् भने अनुभवी खेलाडी डेभिड मिलर भने यसबाट बञ्चित भएका छन्।
  • यो सम्झौता आगामी जुन १, २०२६ देखि मे ३१, २०२७ सम्म लागु हुनेछ, जसमा दक्षिण अफ्रिकाले विभिन्न देशहरूसँग टेस्ट खेल खेल्नेछ।

जोहानेसबर्ग । क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले सन् २०२६–२७ सिजनका लागि आफ्नो नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। आगामी व्यस्त सिजनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यस सूचीमा ५ जना नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय सम्झौता प्राप्त गर्दा अनुभवी ब्याटर डेभिड मिलर भने आश्चर्यजनक रूपमा बाहिरिएका छन्।

सीएसएले १८ पुरुष र १५ महिला खेलाडीलाई पूर्णकालीन सम्झौता उपलब्ध गराएको छ। नयाँ अनुहारका रूपमा ओट्नेल बार्टम्यान, कोर्बिन बोश, म्याथ्यू ब्रीत्जके, डेवाल्ड ब्रेभिस र काराबो मेसोले पहिलो पटक राष्ट्रिय टोलीको सम्झौता पाएका हुन्। 

अफस्पिनर साइमन हार्मरलाई भने पुरुषतर्फको हाइब्रिड सम्झौतामा राखिएको छ। यसका साथै बोर्डले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका २० पुरुष खेलाडीलाई प्लेयर्स अफ नेसनल इन्ट्रेस्ट (पोनी) को सूचीमा राखेको छ, जो भविष्यमा राष्ट्रिय टोलीको छनोटका लागि पहिलो प्राथमिकतामा रहनेछन्।

यस पटकको सम्झौतामा सबैभन्दा ठुलो चर्चाको विषय विष्फोटक ब्याटर डेभिड मिलरको बर्हिगमन बनेको छ। अघिल्लो सिजन हाइब्रिड सम्झौतामा रहेका मिलर यस पटक कुनै पनि श्रेणीमा नपर्नुले उनको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको संकेत गरेको अनुमान गरिएको छ। 

सन् २०१० देखि दक्षिण अफ्रिकाका लागि खेल्दै आएका मिलर पछिल्लो समय विश्वभरका लिग क्रिकेटमा बढी केन्द्रित देखिँदै आएका छन्। मिलरसँगै अर्का अनुभवी ब्याटर रासी भान डर डुसेन पनि सम्झौताबाट बाहिरिएका छन्। यस्तै चोटका कारण लामो समय मैदान बाहिर रहेका नान्द्रे बर्गर, जेराल्ड कोएट्जी र लिजाड विलियम्स पनि यस पटक सम्झौतामा अटाएनन्।

सीएसएको छनोट समितिका संयोजक प्याट्रिक मोरोनीले आगामी सिजन निकै व्यस्त र महत्त्वपूर्ण रहेकाले टोलीको गहिराई बढाउन युवा खेलाडीलाई प्राथमिकता दिएको बताएका छन्। सन् २०२७ को विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपलाई लक्षित गर्दै तयार पारिएको यस रणनीतिले टोलीलाई सबै आईसीसी इभेन्टमा प्रतिस्पर्धी बनाउने विश्वास बोर्डको छ। 

नयाँ सम्झौता जुन १, २०२६ देखि मे ३१, २०२७ सम्म लागु हुनेछ। यो अवधिमा दक्षिण अफ्रिकाले अष्ट्रेलिया, इङ्गल्याण्ड र बंगलादेश विरुद्ध गरी कुल ८ वटा टेस्ट खेल घरेलु मैदानमा खेल्ने तालिका छ।

पुरुष टोलीको सम्झौतामा कप्तान टेम्बा बाभुमासहित कागिसो रावाडा, मार्को यानसन, लुङ्गी एनगिडी र क्विना माफाका जस्ता तीव्र गतिका बलरहरू सुरक्षित छन्। तर अनुभवी बलर एनरिच नोर्किया भने यो सूचीमा छैनन्। 

लगातारको चोटका कारण उनले दुई वर्षअघि नै केन्द्रीय सम्झौताबाट बाहिर रहने निर्णय गरेका थिए र अहिले उनी केवल टी-२० फर्म्याटमा मात्र सक्रिय छन्।

महिला टोलीतर्फ आगामी जुन–जुलाईमा हुने टी-२० विश्वकपलाई मुख्य प्राथमिकतामा राखिएको छ। युवा विकेटकिपर ब्याटर काराबो मेसो सम्झौतामा अटाउने एक्लो नयाँ अनुहार हुन्। पूर्व कप्तान डेन भान निकर्कले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे पनि उनलाई केन्द्रीय सम्झौतामा भने समावेश गरिएको छैन। 

तर उनी विश्वकप छनोटका लागि भने टोलीको राडारमै रहेको बुझिएको छ। दक्षिण अफ्रिकी महिला टोलीले आगामी वर्ष घरेलु मैदानमा भारत र अष्ट्रेलियाविरुद्ध टेस्ट र सीमित ओभरको शृङ्खला खेल्ने तयारी गरिरहेको छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप