बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘रामायण’ को टिजर सार्वजनिक : ‘राम’ अवतारमा छाए रणवीर

बिहीबार, १९ चैत २०८२, ११ : १७
बिहीबार, १९ चैत २०८२

सारांश

  • रणवीर कपुरको फिल्म 'रामायण' को टिजर सार्वजनिक भएको छ, जसमा उनको राम अवतारको चर्चा छ।
  • निर्माता नमित मल्होत्राले सार्वजनिक गरेको टिजरमा रणवीर रामको भूमिकामा देखिएका छन्, यश रावणको भूमिकामा छन्।
  • फिल्म २०२६ को दीपावलीमा रिलिज हुनेछ, दुई भागमा रिलिज हुने फिल्ममा साई पल्लवी र सन्नी देओल पनि छन्।

मुम्बई । बलिउड अभिनेता रणवीर कपुरको बहुप्रतीक्षित फिल्म ‘रामायण’ को ‘रामा’ टिजर सार्वजनिक भएको छ । नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरका लागि दर्शकहरू लामो समयदेखि व्यग्र प्रतीक्षामा थिए । 

टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रणवीर कपुरको ‘राम’ अवतारले निकै चर्चा पाएको छ र उनको लुक्सको चौतर्फी प्रशंसा भइरहेको छ ।

निर्माता नमित मल्होत्राले आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको २ मिनेट ३८ सेकेन्ड लामो टिजरमा रणवीर कपुर मर्यादा पुरुषोत्तम रामको भूमिकामा निकै प्रभावशाली देखिएका छन् । फिल्मको संगीत र दृश्यहरूले टिजरलाई झनै भव्य बनाएका छन्, जसले गर्दा फिल्म प्रतिको उत्साह थप चुलिएको छ ।

टिजरको अन्त्यमा ‘रावण’ को भूमिकामा रहेका दक्षिण भारतीय सुपरस्टार यशको झलकले पनि दर्शकहरूलाई उत्साहित तुल्याएको छ । टिजरमा रावणको पुष्पक विमानलाई पनि निकै आकर्षक रूपमा देखाइएको छ, जसबाट फिल्ममा प्रयोग गरिएको भीएफएक्स र प्राविधिक पक्ष निकै उच्च स्तरको हुने प्रस्ट हुन्छ । रणवीर र यशको टक्करले सिनेमाघरमा नयाँ रेकर्ड राख्ने अनुमान गरिएको छ ।

यो भव्य फिल्म सन् २०२६ को दीपावलीको अवसरमा प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई दुई भागमा रिलिज गरिनेछ, जसको पहिलो भाग आगामी वर्षको तिहारमा आउनेछ भने दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन हुनेछ ।

फिल्ममा रणवीर कपुर र यशका साथै साई पल्लवी र सन्नी देओल पनि मुख्य भूमिकामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप