१० बजे १० समाचार : आफ्नै पार्टीभित्र आलोचित भए बादल, प्रचण्डद्वारा महाधिवेशन प्रस्ताव
काठमाडौँ । आज मिति २०८२ साल चैत महिनाको १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
१. आलोचित बादल
नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादल पार्टीभित्रै आलोचित भएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले दिएको अभिव्यक्तिलाई लिएर पार्टीकै नेताहरुले आलोचना गरेका हुन् । उनी बुधबार संसदीय दलको नेता चयन हुँदा पनि कतिपयले रुचाएका थिएनन् ।
२. प्रतिनिधि सभाको पहिलो बैठक
फागुन २१ गतेको निर्वाचनबाट गठित प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सांसदहरूबिच घोचपेच भएको छ ।
पहिलो बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका एक एक सांसद र स्वतन्त्र सांसदले शुभकामना मन्तव्य दिएका थिए । आजको बैठकमा के–के भए विस्तृतमा पढ्नुहोस्
३. रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।
४. उपत्यकामा रात्रि बस सेवा
काठमाडौँ उपत्यकाको जनजीवनलाई चलायमान बनाउन र रात्रिकालीन समयमा आवतजावत गर्ने यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।
विगतमा पटक–पटक विभिन्न निकायबाट प्रयास भए पनि दिगो हुन नसकेको यो सेवालाई यसपटक महानगरपालिकाले २०८३ साल वैशाख १ गतेदेखि व्यवस्थित रूपमा सुरु गर्न लागेको हो ।
५. टिकटकरविरुद्ध मुद्दा
ललितपुरका व्यवसायी कुमार चिमोरियालाई बलात्कारको झुट्टा मुद्दा लगाउने धम्की दिदै ६ वर्षसम्म मानिसक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ । साढे चार करोड रुपैयाँ नगद र अन्य जिन्सी समेत जोड्दा ६ करोड ५२ लाख भन्दा बढी रकम ठगी गरेको ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
६. राष्ट्र बैंकको रिपोर्ट
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो ।
७. अदालत
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीले दुवै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
८. प्रचण्डको प्रस्ताव
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा प्रचण्डले महाधिवेशन सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
९. पारस अस्पताल भर्ना
पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ । उनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टले बिहीबार बिहान ब्याट्री फेरिएको बताए ।
१०. मधेसी दलको राजनीति
तराई मधेस केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चालाई विघटन गरेर पार्टी एकता गर्ने दिशामा छलफल अघि बढाएका छन् ।
बबरमहलस्थित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको लोकतान्त्रिक मोर्चाको बैठकमा त्यस्तो छलफल भएको हो । बदलिँदो परस्थितिमा मोर्चाका माध्यमबाट परिवर्तन सम्भव नदेखिएकाले मोर्चामा रहेका र मोर्चा बाहिर रहेका दलहरूको बिचमा एकता हुनुपर्ने विषयमा छलफल सुरु भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका नेता रामकुमार शर्माले बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण