काठमाडौँ । जेनजी आन्दोलनपछि चुनाव भएर बनेको प्रतिनिधि सभाको बैठक बिहीबार बसेको छ । पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरे भने यसअघि तय भएका कार्यसूचीमाथि प्रक्रिया पूरा गर्दै सकिएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रतिनिधि सभाको बैठकमा व्यक्त गरेको विचारलाई लिएर पार्टीभित्र हलचल पैदा भएको छ।
पार्टीका शीर्ष नेताहरूले नै बादलको अभिव्यक्ति एमालेको आधिकारिक नीति, सिद्धान्त र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत रहेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उपाध्यक्ष विष्णु पौडेलले बादलको सम्बोधनप्रति टिप्पणी गर्दै यसलाई पार्टीको स्थापित मान्यता विरुद्धको कदम भनेका छन्। 'प्रतिनिधि सभाको आजको बैठकमा दल नेताको हैसियतले मा रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,' पौडेलले फेसबुकमा भनेका छन् । उनले यस विषयमा केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय लिइने समेत जानकारी दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रतिनिधि सभामा सांसदहरूले देखाउने समर्थन र ऐक्यबद्धता केवल दलीय घेराभित्र सीमित भएको बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभाको पहिलो बैठकको अनुभव सुनाउँदै उनले सदनभित्र राम्रो कुराको समर्थनमा बजाइने 'टेबल ढ्यापढ्याप' पनि कोटाअनुसार बाँडिएको जस्तो देखिएको बताएकी हुन् ।
सांसद ओलीले सदनमा विचारको ओजन र गहिराइभन्दा पनि कुन बेन्चबाट आवाज आएको हो भन्ने आधारमा प्रतिक्रिया जनाउने प्रवृत्ति देखिएको बताइन् । 'आफ्नै पक्षले बोले उत्साह देखिने, तर अर्को पक्षले जतिसुकै सार्थक विषय उठाए पनि मौनता साध्ने विडम्बना देखियो,' उनले भनेकी छिन्, 'यदि समर्थन पनि दलगत स्वीकृतिपछि मात्र दिने हो भने अब त सही विचारलाई पनि पार्टीको 'टिकट' चाहिने अवस्था आयो । यो लोकतन्त्र होइन, यो त सोचमाथि लगाइएको अदृश्य सेन्सरशिप हो ।'
सदनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट गम्भीर विषयहरू उठेको स्मरण गर्दै उनले विचारको मूल्य त्यसको प्रभावले निर्धारण हुनुपर्नेमा जोड दिइन्। सांसद ओलीले अहिले सदनमा नीति र दृष्टिकोणको बहस हुनुको साटो केवल 'ताली बजाउने अधिकारको राजनीति' भइरहेको बताइन् ।
काठमाडौंँ । फागुन २१ गतेको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक आज भयो ।
सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद् भवनको बहुउद्देश्यीय हलमा बैठकलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद् अजुननरसिंह केसीले सञ्चालन गरेका थिए । पहिलो बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका एक एक सांसदले सम्बोधन गरे l सत्ताधारी दल रास्वपाका सभापति एवं सांसद रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे र साना दलहरू नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल), नेकपाका सांसद वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) र राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गरे ।
यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि महत्त्वपूर्ण कुराहरू राखे । नयाँ संसद् भवनमा नयाँ जनमतसहित भएको पहिलो बैठकमा केही रोचक दृश्यहरू पनि देखिए ।
काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।
तालिका अनुसार चैत २० गते सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने, दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । २० गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ : ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने जनाइएको छ ।
सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले शुभकामना मन्तव्यका क्रममा जेनजी आन्दोलनबारे थोरैमात्रै बोले, त्यो पनि व्यङ्ग्यात्मक रूपमा । उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदकी आमालाई न्याय दिनुपर्ने विषय मात्रै बोले, अरु केही बोलेनन् । लामिछानेले सम्बोधनका क्रममा भने, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुनमै संशोधन गरिएका, अध्यादेश ल्याइएका जस्ता गलत क्रियाकलापहरू अब यथाशीघ्र सच्चाइने कुरा म जानकारी गराउन चाहन्छु । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन ।’
जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकको पक्राउबारे एमालेले बैठक सुरू हुने बित्तिकै आपत्ति जनाएको थियो । त्यसैको जवाफ दिएको शैलीमा लामिछानेले यो वाक्य बोलेका थिए ।
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने वित्तकै अवरोध भएको छ । नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन् ।
एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।
सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन् ।
काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुलाई काम गर्नका लागि सय दिने 'हनिमुन पिरियड' को सुविधा नचाहिने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरु दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेको बताए ।
सांसद लामिछानेले विगतका सरकारहरु पारदर्शिता र जवाफदेहिताको कमजोरीले गर्दा इतिहास बदल्ने औजार बन्न नसकेको भन्दै आफूहरु इतिहासबाट सिक्न र परिणाम दिन आएको बताए। उनले प्रतिपक्षी दलहरुलाई आफूहरुमाथि २४ सै घण्टा निगरानी गर्न र बाटो बिराएमा सच्याइदिन आग्रह समेत गरे। आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गर्ने र अध्यादेश ल्याउने जस्ता गलत क्रियाकलाप अब नदोहोरिने लामिछानेले बताए। आस्थाका आधारमा फरक व्यवहार नहुने र अन्यायपूर्वक विधि मिचेर कसैलाई नफसाइने उनले प्रतिबद्धता व्यक्त गरे।
'सुशासनको वेग रोकिने छैन, न्याय पाउने हक सहिद र आमाको हो, यसलाई प्रतिशोध भन्न पाइने छैन,' उनले भने। उनले राजनीतिक सिफारिसमा नियुक्ति लिएका पदाधिकारीहरुलाई स्वेच्छाले मार्गप्रशस्त गर्न समेत अपिल गरे। निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्दै लामिछानेले बिचौलिया र माफियाहरुले बिगारेको व्यावसायिक वातावरण अब सुधार हुने बताए। 'नीतिहरु अब बजारमा बेचिँदैनन्, निर्णयहरु कसैको दबाबमा बन्ने छैनन्,' उनले भने, 'समान अवसर, पारदर्शिता र व्यावसायिक स्वतन्त्रताको जिम्मा सरकारले लिन्छ।'
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले वर्तमान परिवर्तन र उपलब्धिलाई संस्थागत गर्दै जनआकाङ्क्षा पूरा गर्न नवनिर्वाचित शक्ति र सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरू इतिहासको साक्षी र सङ्घर्षको उत्तराधिकारीका रूपमा सदनमा उपस्थित भएको उल्लेख गर्दै नयाँ जनमतलाई परिवर्तनको संवाहकका रूपमा स्वीकार गरेको बताए।
पुनले विगतका आन्दोलन र जनयुद्धकै कारण आज राज्यका हरेक निकायमा महिला, दलित र उत्पीडित समुदायको प्रतिनिधित्व सम्भव भएको स्मरण गराए। २० वर्षअघिको तुलनामा आज महिलाहरूको सम्पत्तिमाथिको स्वामित्व र राज्यका उच्च पदमा उनीहरूको पहुँच पुग्नु ठुलो क्रान्ति भएको उनको तर्क छ। १८ वर्षअघि १९ हजार किलोमिटर रहेको सडक सञ्जाल आज सवा लाख किलोमिटर पुग्नुलाई उनले विकासको गतिको उदाहरणका रूपमा प्रस्तुत गरे। यद्यपि, भदौ २३ र २४ को युवा विद्रोहले वर्तमान विकास र सुशासनको गति पर्याप्त छैन भन्ने स्पष्ट पारेकाले त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
पूर्वमन्त्री समेत रहेका पुनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारलाई आफ्नो ऐतिहासिक अनुभव सुनाउँदै सतर्क रहन सुझाव दिए। २०६४ सालमा माओवादीले र २०७४ सालमा तत्कालीन नेकपाले पाएको झण्डै दुई तिहाइको जनमतलाई सदुपयोग गर्न नसकिएको स्वीकार गर्दै उनले नयाँ शक्तिलाई ती कमजोरीबाट शिक्षा लिन आग्रह गरे। "हामीले जनमत सदुपयोग गर्न सकेनौँ, हाम्रा ती सीमा र कमीहरूबाट शिक्षा लिएर तपाईंहरूले देश र पार्टीलाई अगाडि बढाउनुहोस्," उनले सदनमा भने।
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकबाट ६ पूर्वसांसदको निधनमा शोकप्रस्तव पारित भएको छ ।
बैठकमा सभामुख अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका पूर्व सांसदहरू ऋषिकेश गौतम, मोहम्मद अफताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका थिए ।
केसीले राखेका ती प्रस्ताव सर्वसम्मतिले पारित भएका हुन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले संविधान संशोधनका नाममा लोकतन्त्र, गणतन्त्र र समावेशीता जस्ता प्राप्त उपलब्धिका विषयमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको मूल राजनीतिक ढाँचा र सामाजिक न्यायको मुद्दामा आफ्नो पार्टी अडिग रहने बताएका हुन् ।
राष्ट्र निर्माण र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकारलाई सहयोग गर्न नेकपा सधैं तयार रहेको उनले उल्लेख गरे । सांसद पुनले विगतमा कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको विशाल जनमतको सही सदुपयोग गर्न नसकेको यथार्थलाई स्वीकार गर्दै नवनिर्वाचित शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका गल्तीबाट पाठ सिक्न सुझाव दिएका छन् ।
२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले पाएको भारी जनसमर्थन र २०७४ सालको निर्वाचनपछि बनेको झण्डै दुई तिहाइ बहुमतको सरकारले अवसर पाएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले स्मरण गरे । ‘हामीले जनमतको सदुपयोग गर्न जानेनौं र सकेनौं, हाम्रा यस्ता कमजोरीबाट शिक्षा लिएर नयाँ शक्तिले देश र पार्टीलाई अगाडि बढाओस्,’ उनले सदनमा भने ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अर्जुननरसिंह केसीले बैठक चैत २२ गते ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
बुधबार बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो ।
सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति पनि दलहरूबीच भएको छ । यही सहमति अनुरुप महासचिव पाण्डेले सूचना प्रकाशित गर्नेछन् ।
काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले देशमा विद्यमान चरम राजनीतिकरण, भ्रष्टाचार र भागबन्डाको संस्कृतिका कारण शिक्षा र प्रविधिको क्षेत्र धारासायी भएको बताएका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर संसद् छिरेका पुनले बिहीबार बसेको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै आफू चार महिना मन्त्री हुँदा शिक्षा क्षेत्र सुधार्न थुप्रै प्रयास गरे पनि राजनीतिक हस्तक्षेपका कारण असफल भएको बताए ।
उनले आफू मन्त्री हुँदा ल्याएका तीनवटा अध्यादेश र चारवटा नियमावलीको मस्यौदा राजनीतिक स्वार्थकै कारण संसद्मा अलपत्र परेको र अन्त्यमा आफूले राजीनामा दिनुपरेको स्मरण गराए।
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सत्तापक्ष विहीन भएको छ । भदौमा भएको जेनजी आन्दोलनसँगै तल्लो सदन प्रतिनिधिसभा विघटन भएको थियो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुइतिहाइ नजिक बहुमत ल्याएर पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भइसकेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार सिंहदरबार स्थित निर्माणाधीन संसद्को अस्थायी हलमा बसेको छ। स्थायी सदन मानिने राष्ट्रियसभामा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतको उपस्थित रहेको छ । रास्वपाको एक सिट पनि छैन ।
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठकमा देशको स्वाधीनता, सुशासन, आर्थिक विकास र जनजीविकाका सवालमा सरकारलाई ९ बुँदे माग तथा सुझाव प्रस्तुत गरेका छन् ।
बिहीबार संसदको रोस्ट्रमबाट बोल्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । उनले आफ्नो सम्बोधनको अन्त्यमा उक्त ९ बुँदे सुझावसहितको पत्र सभामुखलाई हस्तान्तरण समेत गरेका छन् ।
सांसद राईले संसदमा बुँदागत रूपमा राखेका प्रमुख मागहरू यसप्रकार छन्:
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर बनाएको देश भएको दाबी गरे। 'यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन। यो देश राजसंस्था र जनताले बनाएको हो,' उनले भने, 'त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस्।'
उनले देशमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत गरी ९३ प्रतिशतभन्दा बढी ॐकार परिवार रहेको तथ्यांक प्रस्तुत गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट धर्मसापेक्ष 'हिन्दु अधिराज्य' घोषणा गर्न माग गरे।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन कायम राख्न एमसीसी खारेज गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्ने पनि साम्पाङले जनताको माग रहेको बताए । साथै, उनले प्रत्यक्ष कार्यकारी चुन्नेतर्फ सरकारको नीति कार्यक्रम अघि सार्नुपर्ने पनि बताए ।
उनले जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने तथा भदौ २४ मा सर्वोच्च र संसद् भवन जलाउनेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे । सम्पत्ति शुद्धीकरणसम्वन्धी छानबिन आयोग गठन गरेर मन्त्री र सांसदहरूको छानबिन गर्नुपर्ने तर त्यो आफैँबाट सुरु गर्नुपर्ने, शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्ने बताए । ‘हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ चार दिन उत्पादनमा जोड्नुपर्छ’, साम्पाङले कृषिमा देखिएका समस्या हल गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबारको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।
बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले जनप्रतिनिधिलाई काममा ढिलासुस्ती गर्न नपठाएको स्मरण गराए। ‘जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो,’ संसदमा बोल्दै उनले भने, ‘नेपाल हो, यहाँ ढिला गरेपनि हुन्छ भन्ने भाष्य लिएर हामी बसेका छौँ। हामीले उन्नति गर्न नसकेको मुख्य कारण नै यही हो।’
देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराए। उनले सभामुखमार्फत माग राख्दै भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देम्बेले बोलेका छन् । सो क्रममा उनले विगत ३५ वर्षमा देशमा 'केही पनि भएन' भन्ने भाष्य गलत रहेको भन्दै पुराना उपलब्धिको फेहरिस्त प्रस्तुत गरे।
बिहीबारको बैठकमा उनले भदौ २३ र २४ गते संसद भवन र सिंहदरबार जलाइएको घटनाको अनुसन्धानमाथि पनि सरकारलाई गम्भीर प्रश्न सोधे। नयाँ यात्रा प्रारम्भ भएको भन्दै सम्बोधन सुरु गरेका सांसद आङ्देम्बेले समाजमा केवल निराशा मात्र बाँड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
उनले १० वर्षे द्वन्द्व, राजाको निरंकुशता, भूकम्प र कोरोना महामारी जस्ता अनेकौं संकटका बाबजुद देशले थुप्रै प्रगति गरेको दाबी गरे। 'गाउँमा पुगेको बाटो, बिजुली, खानेपानी, स्वास्थ्य चौकी, बैंक तथा वित्तीय संस्थाको विस्तार र हातहातमा पुगेको सञ्चार सुविधा केही पनि नभएको उदाहरण हो कि सुरुवात भएको नमुना हो?' भन्दै उनले संसद्मा प्रश्न गरे। उनले शासकीय कमजोरीका कारण सोचेजस्तो नभए पनि केही पनि भएन भन्ने भाष्य सत्य नरहेको जिकिर गरे।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ गतेको घटनाको छानबिनजस्तै भदौ २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले सरकारले गठन गरेको गौरीबहादुर कार्कीको नेतृत्वको छानबिन आयोगले भदौ २४ गतेको घटनाबारे पटक–पटक समय थप्दा पनि छानबिन गर्न समय भएन भन्ने आश्चर्यको विषय भएको बताए ।
‘जसरी भदौ २३ गतेको घटनाको छानबिन भयो, त्यसैगरी भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने हो,’ आङदेम्बेले भने, ‘तर, सरकारले बनाएको आयोगले पटक–पटक समय थप्दा पनि समय भएन भन्यो, त्यो किन भयो ।’
उनले नेपाली कांग्रेस भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा रहेको बताए । ‘दुई दिनको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने, ‘दोषी उम्किन हुन्न, निर्दोष फस्न हुन्न भन्ने पक्षमा कांग्रेस हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहनेछ ।’
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् ।
‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, बादलले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नेपाली जनताले केवल सरकारको अनुहार परिवर्तन मात्र नभई शासन सञ्चालनको शैली, संस्कृति र संस्कारमै आमूल परिवर्तनको अपेक्षा गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र यो सदनप्रति आम नागरिकको ठूलो आशा, विश्वास र उत्सुकता रहेको उल्लेख गरेका हुन् ।
ताजा जनादेशबाट गठित यो संसदले जनताको भरोसालाई परिणाममुखी कार्यमार्फत सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा बोल्दै केसीले मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधारको कार्यसूची स्वागतयोग्य रहेको बताए ।
यसको सफल कार्यान्वयनका लागि समयको सही व्यवस्थापन, पूर्ण समर्पण र निष्पक्षता अनिवार्य रहेको उनको भनाइ छ । उनले मुलुकको संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे । राष्ट्रिय आवश्यकताहरू पूरा गर्न अब विभाजनभन्दा एकता, उत्तेजनाभन्दा चेतना र आवेगभन्दा विवेकको प्रयोग हुनुपर्नेमा उनले विशेष जोड दिए ।
आजको संसदमा सदनमा प्रतिनिधित्व रहेका सबै दलका तर्फबाट बोल्न समय दिइएको छ । पहिलो बैठकको माहोलको रातोपाटीकर्मी कृष्ण खड्काले खिचिएका केही तस्बिरहरु हेर्नुहोस्ः