मोर्चा भङ्ग गरेर पार्टी एकताका लागि मधेसी नेताको जोड
सारांश
- तराई मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा विघटन गरी पार्टी एकता गर्ने छलफल थालेका छन्।
- मोर्चाका नेता रामकुमार शर्माका अनुसार, मोर्चामा रहेका र बाहिर रहेका दलहरूबीच एकताको विषयमा छलफल सुरु भएको छ।
- जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा अन्य दलका अध्यक्ष अनुपस्थित थिए र उनले एकताका लागि सकारात्मकता जनाए।
काठमाडौँ । तराई मधेस केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चालाई विघटन गरेर पार्टी एकता गर्ने दिशामा छलफल अघि बढाएका छन् ।
बबरमहलस्थित तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको लोकतान्त्रिक मोर्चाको बैठकमा त्यस्तो छलफल भएको हो । बदलिँदो परस्थितिमा मोर्चाका माध्यमबाट परिवर्तन सम्भव नदेखिएकाले मोर्चामा रहेका र मोर्चा बाहिर रहेका दलहरूको बिचमा एकता हुनुपर्ने विषयमा छलफल सुरु भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका नेता रामकुमार शर्माले बताए ।
अन्य पार्टीका अध्यक्षहरू व्यस्तताका कारण बैठकमा उपस्थित नभएको कारण कुनै निष्कर्षमा नपुगेको बताउँदै उनले अध्यक्षहरू सम्मलित बैठकबाट पार्टी एकताका लागि गृहकार्य सुरु हुने जानकारी दिए ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा अन्य दलका अध्यक्षहरू सहभागी थिएनन् । तराई मधेसमा रहेका सम्पूर्ण दलहरूको बिचमा एकताका लागि संरक्षक ठाकुर सकारात्मक रहेको र उनले आफ्नो दलका अध्यक्षसँग कुरा गरेर एकता प्रक्रियालाई अगाडि बढाउने जनाएको बताइएको छ ।
संघीय लोकतान्त्रिक मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल छन् । मोर्चा बाहिर रहेका दललाई समेत मिलाएर एकीकृत पार्टी बनाउने गृहकार्य सुरु भएको हो ।
महन्थ ठाकुरबाहेक अन्य पार्टीका अध्यक्ष उपत्यका बाहिर रहेका कारण बैठकमा अनुपस्थित रहेको जनाइएको छ । ठाकुरले चाँडै सबै दलका अध्यक्षलाई बोलाएर बैठक बोलाउने बताइएको छ ।
जसपा नेपालका नेता शर्माले अब पुरानै तरिका र पुरानै नेतृत्वले पार्टी वा देश चल्न नसक्ने बताए । उनले अब पार्टी अध्यक्षहरू एवं वरिष्ठ नेताहरूलाई पार्टीमा उच्च सम्मानसहितको स्थान दिएर नेतृत्वमा युवालाई ल्याउनुपर्ने सुझाव दिए ।
मधेसी थारु/जनजाति/खस आर्य समेत रहेको बृहत् पार्टी एकतामा जोड दिँदै उनले युवा पुस्ताको नेतृत्वमा हिमाल, पहाड, तराई मधेस समेतको सहभागितामा राष्ट्रिय पार्टी बन्नुपर्ने बताए । उनले पुरानो विचार एवं राजनीतिमा समय अनुकूल संशोधन र परिमार्जन आवश्यक रहेकोमा जोड दिँदै छिमेकीसँग विशेष एवं विश्वनीय मैत्रीपुर्ण सम्बन्धका लागि सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण