बझाङकी चैतली : सल्लाको रुख कसरी बन्यो भगवान ?
सारांश
- बझाङको बान्नी चौरमा मस्टा देवता र सुर्मा देवीको पौराणिक विजयोत्सवको सम्झनामा चैतली मेला भव्य रूपमा सम्पन्न भएको छ।
- मेलाको मुख्य आकर्षणका रूपमा रहेको सल्लाको काँकरलाई सुर्मा देवीले दानवको वध गर्दा प्रयोग गरेको भालाको प्रतीक मानिन्छ।
- यस वर्ष मेलामा खेलकुदको महत्व बढाउँदै सर्वाधिक पुरस्कार राशिको भलिबल र क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ।
धनगढी । बझाङको छविसपाथीभेरा–३ स्थित बान्नी चौरमा देवताको विजयोत्सव चलिरहेको बेला मेला अवधिभर गाउँमा कसैको मृत्यु भएमा शवसमेत बाहिर निकालिँदैन ।
यस वर्ष पनि बान्नी चौरमा परम्परागत रूपमा मेलाका गतिविधि सकिएका छन् । मेलाको उत्साह भने अझै सकिएको छैन । झन्डै २५ मिटर अग्लो सल्लाको काँकर लिङ्गो मस्टाको मन्दिरमा ठड्याइएपछि अहिले त्यही ऐतिहासिक बान्नी चौरमा भलिबल र क्रिकेट प्रतियोगिता चलिरहेका छन् ।
बान्नीकी चैतलीको कथा पौराणिक कालखण्डमा मस्टा देवता र महिषासुर वा खापर दानवबिच भएको लडाइँसँग जोडिएको छ । स्थानीयका अनुसार, महिषासुरले मस्टालाई पासोमा पारेर दुःख दिएको बेला शक्तिस्वरूपा सुर्मा देवी प्रकट भएर दानवको वध गरी मस्टालाई मुक्त गरिन् र अधर्मको एउटा ठुलो साम्राज्यलाई ध्वस्त पारिन् ।
त्यही विजयको सम्झनामा हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि पूर्णिमासम्म यो मेला लाग्ने गर्छ । मेलाको मुख्य आकर्षण मानिने काँकर वास्तवमा सुर्मा देवीले दानवलाई प्रहार गरेको भालाको प्रतीक हो । चैत औंसीका दिन काटिएको सल्लाको त्यो रुखलाई चैत शुक्ल द्वादशीका दिन तोलेनी खेतमा हिँडाउने गरिन्छ । सयौँ मानिसले डोरी र घोचाको सहायताले झन्डै ३ सय मिटर जति त्यो काँकरलाई सन्तुलन मिलाएर हिँडाउँछन् ।

धामीगाउँ र मुम्लाका दुई वटा काँकरमध्ये कुन ठुलो छ भनेर नाप्ने विधिमा सिङ्गो गाउँको प्रतिष्ठा र भविष्य जोडिएको विश्वास गरिन्छ । अन्ततः ती काँकरहरूलाई बान्नी मस्टाको मन्दिरमा चढाएपछि मात्र गाउँलेहरूले सुरक्षित महसुस गर्छन् ।
यी काँकर मन्दिरमा चढाएपछि राति चैतली मेलामा भकुन्डो खेल खेलिन्छ । यो खेल प्रतीकात्मक युद्ध हो । बहरको छालाबाट बनाइएको यो भकुन्डोलाई राक्षसको काटिएको टाउको मानिन्छ । तल्लो छविस र मल्लो छविसका बासिन्दाहरूबिच हुने यो खोसाखोसले सुर्मा देवीले दानवको टाउकोसँग खेलेको क्षणलाई जीवित तुल्याउँछ ।
यस्तै, मेलामा दाहिना जुधाउने गरिन्छ । किंवदन्ती अनुसार सुर्मा देवीले राक्षसलाई मारिसकेपछि उसको पेटको छाला निकालेर दमाहा बनाएकी थिइन् र आफ्ना औँलाहरूको नगरा गजा बनाएर विजयोत्सव मनाएकी थिइन् ।
मुम्लाका स्थानीय देवी अयडीका अनुसार, त्यही परम्परालाई कायम राख्न आज पनि दमाहा बजाउने अनौठो प्रतिस्पर्धा चल्छ । दमाहाको त्यो गर्जनले बान्नी चौरको हावामा एउटा छुट्टै ऊर्जा भरिदिन्छ ।

बान्नी मस्टाका स्थानीय भूमिराज पण्डितका अनुसार, मेला सुरु भएपछि मस्टाका करियाहरू भक्तहरू र पुजारी स्वयं अत्यन्तै कठोर व्रत बस्छन् ।
यही आध्यात्मिक कारण छविसपाथीभेरा र दुर्गाथली गाउँपालिकाबाट जिल्ला बाहिर वा विदेश गएकाहरू पनि यो समयमा सकेसम्म घर फर्किनैपर्ने मान्यता छ । जहाँ भए पनि चैतलीमा बान्नी पुग्नैपर्छ भन्ने सोचले यो मेलामा हजारौँको सहभागिता हुन्छ ।
अहिले समय फेरिएको छ र मेलाको स्वरूप पनि बिस्तारै बदलिँदै छ । बान्नीकी चैतली मेला व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज थापा यस वर्ष मेलालाई अझ भव्य र व्यवस्थित बनाउन कम्मर कसेर लागेका छन् । परम्परागत विधिहरू सकिए पनि अहिले चौरमा खेलकुदको ठुलो महोत्सव चलिरहेको छ ।
मेलामा देउडा पनि खेलिन्छ । छविस पाथिभेरा गाउँपालिका–३ की मुना थापाले मेलामा आफूहरूले देउडा खेल्न पाउँदा दुःख–पीडा एकछिन भए पनि बिर्सिने गरेको बताइन् ।
यस वर्ष मेलाको मुख्य आकर्षण सर्वाधिक पुरस्कार राशिको भलिबल र क्रिकेट प्रतियोगिता हो । खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५१ हजार ६२० नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यो राशि सुदूरपश्चिमका ग्रामीण भेगमा हुने खेलकुदका लागि निकै ठुलो मानिन्छ । त्यस्तै, बझाङ जिल्लास्तरीय खुला क्रिकेट प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ६२० रुपैयाँ प्राप्त गर्नेछन् ।
भलिबल र क्रिकेटका यी खेलमा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले आफ्नो कौशल देखाइरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण