शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सुरक्षा/अपराध

दुई दिनमा ३३ ‘गुण्डा’ हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष

यी हुन् हिरासतमा रहेका गुण्डाहरू
आइतबार, २२ चैत २०८२, १७ : ५६
आइतबार, २२ चैत २०८२

सारांश

  • काठमाडौँ उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले पछिल्लो दुई दिनमा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
  • दीपक मनाङे कारागारबाट छुटेपछि उनको स्वागतमा भेला भएका गुण्डाहरूको निगरानी गर्दै प्रहरीले यो विशेष अपरेशन चलाएको हो।
  • पक्राउ परेकाहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने र थप कसुर भेटिए सोही अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

काठमाडौँ । पछिल्लो दुई दिनमा काठमाडौँ उपत्यकामा सक्रिय ३३ जना गुण्डाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

चैत २०  र चैत २१ मा अपरेशन चलाएर प्रहरीले गुण्डाहरू पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘गुण्डागर्दीमा संलग्न ३३ जना अहिले हिरासतमा छन् ।’

प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति दिएको छ । यसअघि पनि पक्राउ परेकाहरूलाई ‘पटके’ कायम गरेर कसुर मागदाबी गर्दै अदालतमा मुद्दा लैजाने प्रहरीको तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएपछि प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन चलाएको आशङ्का गरिएको छ । तर, प्रहरी अधिकृतहरू त्यसअघि नै निगरानी भइरहेको बताउँछन् ।

ज्यान मार्ने उद्योगसम्बन्धी कैद भुक्तान गरेर फागुन २७ मा डिल्लीबजार कारागारबाट दीपक मनाङे छुटे ।

गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ छुटेको ३ दिनपछि ठमेलमा उनको भव्य स्वागत भएको थियो । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका मनाङेको स्वागतमा त्यस दिन उपत्यकामा सक्रिय धेरै गुण्डाहरू ठमेलस्थित क्लब नोभामा पुगे । मनाङेको स्वागतमा झण्डै ४ सय ५० जना मानिसहरू भेला भएका थिए ।

भेलामा उपस्थित भएका गुण्डाहरूबारे ‘निगरानी’ गरेर अपरेशनको तयारी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘मनाङेको स्वागत पछि हामीले उनीहरूमाथि निगरानी गरिरहेका थियौँ ।’  

मनाङे छुटेपछि उपत्यकाका गुणडहरू सलबलाएको प्रहरीको निष्कर्ष छ । काठमाडौँमा हप्ता असुली, धाकधम्की र बिचौलियाको भूमिका निर्वाह गरेर गुण्डाहरूले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सुरुमा गुण्डाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा र अन्य मुद्दा आकर्षित भएमा अरु मुद्दामा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताए । उनले भने, ‘उजुरी र थप कसुर गरेको भेटिएमा त्यसमा पनि अनुसन्धान गरेर कानुनी कारबाही गर्छौँ ।’

प्रहरीले यसअघि २०८१ माघमा तरबार र खुकुरीले केक काटेर आतङ्क मच्चाउने गुण्डा समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । ‘शोअप’ गरेर असुली गरेको आरोपमा त्यसबेला गोपाल मोक्तान सहित ७ जना पक्राउ परेका थिए ।  

पछिल्लो समय प्रहरीले अपरेशन सञ्चालन गरेपछि धेरै गुण्डाहरूले उपत्यका छाडेका छन् । एसएसपी खड्का भन्छन्, ‘गुण्डागर्दीमा संलग्न धेरै जना भागेको सूचना पाएका छौँ, उनीहरूमाथि निगरानी गरिरहेका छौँ ।’

यी हुन् हिरासतमा रहेका गुण्डाहरू

gunda

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप