दुई दिन बिदा दिने सङ्घको निर्णय खारेज गर्न माग
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सांसद रेवतिरमण भण्डारीले सङ्घीय मन्त्रिपरिषद्ले गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई प्रदेशले हुबहु कार्यान्वयन गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।
यस्तै बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णय पनि अव्यवहारिक रहेको भन्दै उनले आलोचना गरेका छन् । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भण्डारीले दुई दिन बिदा दिने निर्णय यसअघि पनि असफल भइसकेको दाबी गरे ।
उनले संवैधानिक र कानुनी व्यवस्था अनुसार सङ्घीय सरकारले निर्णय गर्ने बित्तिकै प्रदेशका कार्यालयहरूमा त्यो स्वतः लागू नहुने बताए । ‘सङ्घ र प्रदेशको निजामती ऐन छुट्टाछुट्टै छन् ।
प्रदेश सरकारको कार्यसञ्चालन नियमावली पनि सङ्घीय सरकारको भन्दा फरक छ । यस्तो अवस्थामा सङ्घीय मन्त्रिपरिषद्को निर्णय प्रदेशमा स्वतः लागू हुने कानुनी आधार के हो ?,’ भण्डारीले भने, ‘प्रदेशमा कुनै पनि नियम वा कार्यालय समय परिवर्तन लागू गर्नका लागि प्रदेश मन्त्रिपरिषद्ले नै आधिकारिक निर्णय गर्नुपर्छ । सङ्घीय सरकारको निर्णयलाई आँखा चिम्लेर पछ्याउनु सङ्घीयताको मर्म विपरीत हो ।’
उनले बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णयले कर्मचारी र सेवाग्राही दुवैलाई सास्ती हुने बताए । ‘तराई र पहाडको खानपान र संस्कार अनुसार बिहान ८–९ बजे नै तयार भएर कार्यालय पुग्न सम्भव छैन,’ उनले थपे, ‘कर्मचारी ९ बजे पुगे पनि सेवाग्राही १० बजेभन्दा अघि आउँदैनन् । १० नबजी सेवाग्राही नआउने भएपछि कर्मचारीलाई ९ बजे नै बोलाएर सास्ती दिनुको कुनै तुक छैन । यो सुशासन होइन, उल्टै लाखौं कर्मचारीलाई सास्ती मात्र हो ।’
इन्धन सङ्कट टार्नका लागि बिदा दिने निर्णय गर्नुभन्दा सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने र सचिवदेखि सहसचिवसम्मले एउटै गाडी प्रयोग गर्ने विकल्प अपनाउनुपर्ने उनको सुझाव थियो।
सांसद भण्डारीले प्रदेश सरकारलाई आफ्नो अधिकार प्रयोग गर्दै ९ बजेको समयलाई खारेज गरी साबिककै १० बजेको कार्यालय समय कायम राख्न र सेवाग्राहीको चाप भए बेलुकाको समय केही थप्न उचित हुने सुझाव समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण