‘केडी : द डेविल’ को अश्लील गीत विवाद : नोरा फतेहीलाई अन्तिम मौका
सारांश
- कन्नड फिल्म 'केडी : द डेविल' को गीतमा अश्लील शब्द प्रयोग भएको भन्दै अभिनेत्री नोरा फतेहीलाई राष्ट्रिय महिला आयोगले अन्तिम मौका दिएको छ ।
- गीतका गीतकार र निर्देशकले माफी माग्दै महिला सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
- नोरा फतेहीले आफूलाई झुक्याएर गीतमा अभिनय गराइएको स्पष्टीकरण दिएकी छन् ।
मुम्बई । कन्नड फिल्म ‘केडी: द डेविल’ को ‘सरके चुनर तेरी’ बोलको गीतमा प्रयोग भएका अश्लील शब्दका कारण अभिनेत्री नोरा फतेहीको समस्या बढ्दै गएको छ । अप्रिल ६ मा भारतको राष्ट्रिय महिला आयोगमा भएको सुनुवाइमा उपस्थित नभएपछि आयोगले कडा आपत्ति जनाउँदै उनलाई अप्रिल २७ मा हाजिर हुन अन्तिम मौका दिएको छ ।
आयोगकी अध्यक्ष विजया रहाटकरले सिर्जनाका नाममा महिलाको गरिमामाथि खेलबाड गर्न नपाइने चेतावनी दिएकी छन् । सुनुवाइका क्रममा गीतका गीतकार रकिब आलम, निर्देशक प्रेम र निर्माण पक्षका प्रतिनिधिहरू उपस्थित भएर लिखित रूपमै माफी मागेका छन् ।
उनीहरूले गीतका बोल आपत्तिजनक रहेको र यसले समाजमा नकारात्मक प्रभाव पारेको स्वीकार गर्दै आगामी तीन महिनासम्म महिला सशक्तीकरणका लागि काम गर्ने र त्यसको रिपोर्ट आयोगलाई बुझाउने प्रतिबद्धता समेत जनाएका छन् । नोरा आफैँ उपस्थित नभई वकिल पठाएपछि आयोग थप रुष्ट बनेको हो । यसै विषयमा बयान लिन आयोगले अभिनेता सञ्जय दत्तलाई पनि अप्रिल ८ मा उपस्थित हुन पत्र जारी गरेको छ ।
विवाद चर्किएपछि नोरा फतेहीले भने आफूलाई झुक्याएर गीत सुट गराइएको स्पष्टीकरण दिएकी छन् । उनले कन्नड भाषामा गलत अनुवाद सुनाएर छायाङ्कन गरिएको र पछि आफ्नो अनुमति बिना नै एआई प्रविधि प्रयोग गरी हिन्दी संस्करण सार्वजनिक गरिएको दाबी गरेकी छन् ।
गीत सार्वजनिक हुने कार्यक्रममा पुगेपछि मात्र आफूले हिन्दी शब्दहरू थाहा पाएको र ती शब्द सुनेर आफू आफैँ स्तब्ध भएको उनले बताएकी छन् । उनले गीतका शब्दहरू अनुचित रहेको कुरामा आफू सहमत रहेको पनि उल्लेख गरेकी छन् ।
प्यान इन्डिया फिल्मका रूपमा निर्माण भएको ‘केडी : द डेविल’ आगामी अप्रिल ३० मा रिलिज हुँदैछ । मार्च १४ मा सार्वजनिक भएको यो गीतमा नोरा र सञ्जय दत्तले अभिनय गरेका छन् ।
युट्युबमा रिलिज हुनासाथ गीतका शब्द र नृत्यका शैलीहरू अश्लील तथा द्विअर्थी भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । व्यापक विरोध र उजुरीपछि अहिले यो गीतलाई युट्युबबाट हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण