बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनको सुपर कम्प्युटर ह्याक, चोरीको डाटा बेच्ने प्रयास

बुधबार, २५ चैत २०८२, १४ : ०२
बुधबार, २५ चैत २०८२

सारांश

  • चीनको तियानजिनस्थित सरकारी सुपर कम्प्युटर ह्याक गरी करिब १० पेटाबाइटभन्दा बढी संवेदनशील डाटा चोरी भएको छ।
  • फ्लेमिंग चाइना नामक समूहले सैन्य अनुसन्धान, एरोस्पेस र क्षेप्यास्त्र डिजाइनसहितको चोरी भएको डाटा बिक्री गर्न खोजिरहेको छ।
  • ह्याकरहरूले उक्त डाटाको पूर्ण पहुँचका लागि क्रिप्टोकरन्सीमार्फत लाखौँ डलर मागिरहेका छन्।

बेइजिङ । चीनको एक सरकारी सुपर कम्प्युटरमा ह्याकिङ भएको र ठुलो मात्रामा संवेदनशील डाटा चोरी गरेर बिक्री गर्न खोजिएको घटना सार्वजनिक भएको छ । यो घटनालाई चीनबाट भएको अहिलेसम्मकै सबैभन्दा ठुलो डाटा चोरीको घटनामध्ये एक मानिएको छ । 

साइबर विशेषज्ञहरूका अनुसार करिब १० पेटाबाइट भन्दा बढी संवेदनशील जानकारी चोरी भएको दाबी गरिएको छ । उक्त डेटा तियानजिनमा रहेको राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्रबाट लिइएको हुनसक्ने विश्वास गरिएको छ, जसले चीनभरिका ६ हजारभन्दा बढी संस्थालाई सेवा प्रदान गर्दै आएको छ । यसमा रक्षा र वैज्ञानिक निकायहरू पनि समावेश छन् ।

फ्लेमिंग चाइना नाम गरेको समूहले टेलिग्राममा फेब्रुअरी ६ मा डेटा नमुना सार्वजनिक गर्दै एरोस्पेस इन्जिनियरिङ, सैन्य अनुसन्धान, बायोइन्फर्मेटिक्स र अन्य क्षेत्रका सामग्री समावेश भएको दाबी गरेको छ ।

उनीहरूले यो डेटा एभिएशन इन्डस्ट्री कर्पोरेसन अफ चाइना, कमर्शियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना तथा नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजी जस्ता शीर्ष संस्थासँग सम्बन्धित रहेको बताएका छन् ।

साइबर सुरक्षा विज्ञहरूले नमुना डाटा हेरेपछि प्रारम्भिक रूपमा यसको विश्वसनीयता देखिएको बताएका छन् । केही फाइलहरूमा गोप्य चिन्ह लगाइएका कागजात, प्राविधिक फाइलहरू, एनिमेटेड सिमुलेसन तथा बम र क्षेप्यास्त्रसम्बन्धी डिजाइनहरू समावेश रहेको बताइएको छ ।

यो डाटा ह्याकरहरूले हजारौँ डलरमा सीमित नमुनाका रूपमा र पूर्ण पहुँचका लागि लाखौं डलरसम्ममा बिक्री गर्न खोजिरहेका छन् । 

भुक्तानीका लागि क्रिप्टोकरन्सी मागिएको छ । यद्यपि, सीएनएनले उक्त डाटा र दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । यस विषयमा चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र साइबर स्पेस प्रशासनसँग प्रतिक्रिया मागिएको भए पनि औपचारिक प्रतिक्रिया नआएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप