बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जन्जिरबाट स्याटेलाइट प्रविधिसम्मको नापी सेवा

बुधबार, ०२ वैशाख २०८३, २० : ०३
बुधबार, ०२ वैशाख २०८३

रसुवा । भूमि प्रशासनलाई आधुनिक र विश्वसनीय बनाउन नापी विभागले धुञ्चेमा जिपिएस प्रणाली जडान गरेको छ ।

नापी कार्यालय प्रमुख शिवजी केसीका अनुसार यस प्रविधिले जग्गाको यथार्थ विवरण सङ्कलन, डिजिटल नक्सा तयार गर्न र विकास आयोजनाका लागि आवश्यक डेटा जुटाउन सहयोग गर्छ । सुरक्षा कारणले प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा निरन्तर सञ्चालन हुने केन्द्र स्थापना गरिएको छ ।

अधिकृत शङ्कर केसीका अनुसार जिपिएस उपकरणले ३० देखि १०० किलोमिटर क्षेत्रसम्मको भूभागको सटिक विवरण सङ्कलन गर्न सक्छ । यसले जमिनको क्षेत्रफल, भोगाधिकार र उपयोग अवस्थाबारे यकिन तथ्याङ्क तयार गर्न मद्दत गर्नेछ ।

नयाँ प्रणालीले जलविद्युत् आयोजना, भू–उपयोग अध्ययन तथा प्राकृतिक संरचनाको मापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

स्थानीयका अनुसार पुराना नक्सा झुत्रो र सानो स्केलका भएकाले प्रयोगमा कठिनाइ भइरहेको छ । नयाँ प्रविधिबाट स्पष्ट र ठूला नक्सा उपलब्ध हुने विश्वास गरिएको छ ।

तर नक्सा प्रिन्ट शुल्क वृद्धि र बैंकमार्फत मात्र राजस्व तिर्नुपर्ने व्यवस्थाप्रति सेवाग्राही असन्तुष्ट छन् ।

नापी प्रणाली जन्जिरबाट सुरु भई अहिले स्याटेलाइट प्रविधिमा पुगेको छ । अब सेवा प्रवाह पनि सरल बने मात्र यसको लाभ सर्वसाधारणसम्म पुग्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप