हिमाली जिल्ला डोल्पाका समाजसेवी डाक्टर !
सारांश
- डा. अखण्ड उपाध्यायले डोल्पा जिल्ला अस्पतालमा मेडिकल अधिकृतको रूपमा कार्यरत रहँदा बिरामीको उपचारसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ।
- आफ्नो गृह जिल्ला डोल्पाको सेवा गर्ने दृढ सङ्कल्पका साथ कार्यरत उहाँ आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीहरूका लागि आर्थिक सहयोग जुटाउने काममा सदैव अग्रमोर्चामा हुनुहुन्छ।
- डा. उपाध्याय बिरामीको उपचारलाई मात्र नभई उनीहरूको समस्या समाधान र न्यायका लागि पनि उत्तिकै तत्पर रहँदै आउनुभएको छ।
सुर्खेत । डा. अखण्ड उपाध्याय पेसाले एक मेडिकल अधिकृत हुन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत उनी एप्रोन लगाएर बिरामीको उपचारमात्रै गर्दैनन्, सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । उनी समाजसेवी डाक्टरका परिचित छन् ।
कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उद्धार होस् वा जिल्लाभन्दा बाहिर उपचार गर्न जाँदा आर्थिक अभाव झेल्ने बिरामीलाई सहयोग गर्न उनी सधैँ अग्रमोर्चामा हुन्छन् ।
डा. उपाध्यायसँग यस्ता धेरै कथाको सङ्गालो छ । केही दिनअघि कर्णाली उत्सव कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका उनले एक घटना सुनाए– एक जना महिलाले आफ्नो बच्चालाई उपचार गर्न अस्पताल ल्याइन्, तर उसको उपचार डोल्पा जिल्लामा सम्भव नहुने भएपछि हामीले नेपालगञ्ज रिफर गर्यौँ । ती महिलालाई नेपालगञ्ज पुगेर उपचार गर्न आर्थिक समस्या रहेछ ।
त्यसपछि ती महिलाले आफूलाई ‘डाक्टर साब, नेपालगञ्ज जाने पैसा छैन, खल्तीमा एक रुपैयाँ छैन, घरै लान्छु । मरे पनि घरमै मरोस्, म नेपालगञ्ज गएर पाप देख्न सक्दिनँ’ भनेको उपाध्यायले सुनाए ।

‘उहाँ आफ्नो बच्चालाई पिठ्युँमा बोकेर फर्किन लाग्नुभयो,’ डा. उपाध्यायले भने, ‘मेरो मनले पोल्यो ।
त्यसपछि आफूहरूले ‘हामी छौँ तपाईंको लागि’ भनेर केही पैसा चन्दा उठाएर उपचारका लागि नेपालगञ् ज पठाएको उनले सुनाए ।
पैसा अभावमा उपचार गर्नबाट वञ्चित बिरामीलाई यसरी उपचारमा पठाएका कथा उनीसँग अनेकौँ छन् । उनी डोल्पाली जनताको दुःखको भारी बिसाउने चौतारी बनेका छन् ।
डा. उपाध्यायका अनुसार, जिल्लामा बसिरहँदा आफ्नै भिनाजुबाट बलात्कार भएर न्याय पाउन नसकेकी एक किशोरीलाई उनले उद्धार गरेका थिए । ‘यस्ता कथाले पटक–पटक घोचिरहन्छ,’ उनले भने ।
- जसले दुर्गम रोजे
प्रायः डाक्टरहरू दुर्गममा पुगेर सेवा गर्न मन लगाउँदैनन् । तर डा. अखण्ड उपाध्याय भने आफ्नै गृह जिल्ला रोजेर डोल्पा गए । उनले एमबीबीएस पढाइ पूरा गरेपछि स्वास्थ्य विभागले दैलेखको दुल्लू अस्पताल पठाउन खोजेको थियो, तर उनले आफूलाई डोल्पा पठाउन आग्रह गरे ।
आफूले डोल्पाकै लागि डाक्टरी पढेको भन्दै उनले डोल्पा पठाउन आग्रह गरेका थिए । सोही अनुसार उनलाई डोल्पा पठाइयो । उनी ०७८ भदौदेखि जिल्ला अस्पताल डोल्पामा हाजिर भए ।

०४९ सालमा डोल्पाको ठुलीभेरी नगरपालिका–३, दुनैमा ०४९ सालमा जन्मिएका उनी घरको साइलो छोरो हुन् । उनले बाल्यकालमा आफ्नो गाउँठाउँको दुःख, पीडा नजिकबाट हेरेका थिए ।
आफ्नो विद्यालय जीवन डोल्पा जिल्लाको सरकारी विद्यालयबाट पूरा गरेका उनी ०६६ सालमा एसएलसी दिए पश्चात् काठमाडौँमा गए । ०६८ सालमा प्लस टू अनि ०७७ सालमा एमबीबीएस सकाए ।
‘त्यसपछि ०७८ साल भदौ १० गतेदेखि म जिल्ला अस्पताल डोल्पामा मेडिकल अधिकृतको रूपमा काम गर्न गएको हुँ,’ उनले भने, ‘त्यही ठाउँबाट आएर चिकित्सक बनेर फेरि त्यही ठाउँमा फर्किएर काम गर्न पाउनु मेरो भाग्य हो भनेर सम्झिएँ । त्यही ठानेर मैले आफ्नो दुई वर्षको कार्यकाललाई त्यहीँ बिताउँछु भन्ने प्रण गरेर म डोल्पा जिल्ला अस्पतालमा गएको थिएँ ।’
डा. उपाध्यायका अनुसार डोल्पा, जुम्ला जस्ता पछाडि परेका ठाउँमा अवसर छैनन्, विभिन्न समस्याका चाङमा आम जनता बसिरहेका छन् ।
उनले भने, ‘तर तपाईं–हामीले सुनेका हुन्छौँ, हामी सुनको ओछ्यानमा बसेर नुनको खोजी गर्ने मान्छे हौँ । हामीले अवसर नपाएका मात्र हौँ । हामी अवसर पायौँ भने जो जहाँ पनि अब्बल छौँ भनेर देखाउन सक्छौँ भन्ने हो ।’
त्यही भाव मनमा राखेर आफू डोल्पा फर्किएकोे उनले बताए । सानैदेखि उनको मनमा डाक्टर बनेर आफ्नो ठाउँका दुःखी, गरिबहरूको सेवा गर्ने सोच थियो । ‘म जुन दिन त्यो ठाउँबाट डाक्टर बन्नुपर्छ भनेर राजधानी छिरेँ, म त्यो समाजमा पुनः फर्किँदाखेरि म डाक्टरमात्र होइन, मैले यो समाजमा सक्ने जति समस्याका समाधान अथवा मैले सक्ने जति सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने ।
त्यसैले मेडिकल पेसाभन्दा बाहिर रहेर पनि बालबालिकाहरूलाई होस् अथवा कुनै बिरामीकै लागि चन्दा सङ्कलन गरेर हुन्छ अथवा कुन माध्यमबाट सहयोग गर्न सकिन्छ उनी लागि पर्छन् ।
जसका कारण डोल्पामा उनको छवि समाजसेवी डाक्टरको बनेको छ । उनी बिरामी आउँदा २४ सै घण्टा उपचारमा सक्रिय हुन्छन् ।
डा. उपाध्याय डोल्पालीहरूको विभिन्न दुःखका भारी बिसाउने ठाउँ बनेका छन् । ‘ती भारीलाई कति पटक मैले सहज रूपमा उचालेर उहाँहरूलाई सहजता प्रदान गरेँ होला, कति पटक मैले त्यो गर्न नसकेको पनि छु होला,’ उनी मलिन हुन्छन् ।
उनले जिल्लाबाट बाहिर रिफर गर्नुपर्ने अवस्था आए सम्बन्धित स्वास्थ्य संस्थामा फोन गरेर हाम्रोबाट यस्तो बिरामी आउँदै हुनुहुन्छ, सहयोग गरिदिनुस् है भनेर सहजता प्रदान गरिदिन्छन् ।
डा. उपाध्याय आफ्ना बा–आमाको सक्षमताले यहाँसम्म पुगेको बताउँछन् । ‘जोसँग बिहान खाएपछि बेलुका के खाऊँ भन्ने चिन्ता हुन्छ, तिनीहरूको आवाज पनि बन्न सक्नुपर्छ,’ उनले भने, ‘हाम्रो पेसामात्र होइन, त्योभन्दा बाहिर पनि एउटा ठुलो समाज छ । त्यो समाजलाई पनि हामीले हेर्नुपर्छ है भन्ने भावका साथ काम गर्नुपर्छ ।’
अन्य सहकर्मीहरूलाई पनि उनी यस्तै कुराको उत्प्रेरणा दिइरहेका हुन्छन् । उनले दुर्गम ठाउँ नै रोज्नुको अर्को एउटा कारण पनि खुलाए ।
डा. उपाध्याय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दै थिए । मुगुकी एक कमजोर आर्थिक अवस्था भएकी किशोरीको फियोको अप्रेसन गर्नुपर्ने थियो । तर, राजधानी लगेर उपचार गर्न निकै कठिन भयो ।
‘हाम्रै सहयोगमा बहिनीलाई मुगुबाट काठमाडौँको पाटन अस्पतालमा ल्याएर अप्रेसन गर्यौँ,’ उनले भने, ‘अहिले ती बहिनी ब्याचलर पढ्दै छिन् ।’ ती युवतीले अहिले पनि बेलाबेलामा आफूलाई सम्झिएर फोन गर्ने गरेको उनले बताए । उनलाई यस्तै कुरामा खुसी मिल्छ ।
त्यतिमात्र होइन, काठमाडौँमै बसिरहँदा गृह जिल्लामा जाडोका कारणले बच्चाहरू बिरामी भए है भनेपछि चन्दा सङ्कलन गरेरै भए पनि ग्याँस, हिटरहरू जिल्ला अस्पतालसम्म पुर्याउने गर्थे उनी ।
यसै कारण उनी सबैको नजरमा छन् । उनी भन्छन्, ‘सायद म डाक्टर हुँ, मैले बसेर कसैलाई औषधि लेखिदिएँ भने वा मेरो ओपीडीबाट त्यो बिरामी निस्कियो भने मेरो जिम्मेवारी सकिन्छ, तर मलाई मेरो जिम्मेवारी त्यत्तिकैमा सकिन्छ जस्तो कहिल्यै पनि लाग्दैन ।’
उनका बुझाइमा आफूले ओपीडीमा बसेर बिरामी जाँचिरहँदा ‘लौ है तपाईंको उपचार यहाँ हुँदैन, तपाईं काठमाडौँ जानुस्’ भन्दा त्यो बिरामी काठमाडौँ पुग्दैन । ती बिरामीहरू बाटैमा हराउँछन् ।
‘ती बिरामीहरू कि घर पुगेर मृत्यु कुर्छन् कि कुनै मन्दिरमा देउताका गादीमा गएर आफ्नो निधार ठोकेका हुन्छन्,’ उनले डोल्पाको अवस्थाबारे चित्रण गरे, ‘र, अकालमा मृत्युवरण गर्न बाध्य हुन्छन् ।’
तिनीहरूलाई सकेसम्म यो हाम्रै राज्य हो भन्ने आभास गर्न पाउनुपर्ने उनले सुनाए । यहाँ मान्छेहरू बस्छन्, यहाँ सहयोगी मनहरू बस्छन् भन्ने आभास गरुन् भन्ने हेतुले उनीहरूको सहारा बनिदिनुपर्ने तर्क उनको छ ।
उनले डाक्टरसँगै सामाजिक रूपमा पुर्याएको योगदानकै कारण थुप्रै पुरस्कार समेत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण