पूर्व–पश्चिम राजमार्ग विस्तारको सकस : राज्यलाई दैनिक करोडौँ घाटा, नागरिकलाई सास्ती
सारांश
- पूर्व–पश्चिम राजमार्गको जीर्ण अवस्था र विस्तार कार्यमा ढिलाइ हुँदा दैनिक करोडौँ रुपैयाँको इन्धन र मर्मत खर्च खेर गइरहेको छ।
- सडकको धुलो र लथालिङ्ग निर्माण कार्यका कारण यातायात मजदुर, स्थानीय व्यवसायी र सर्वसाधारण नागरिक गम्भीर स्वास्थ्य समस्या र आर्थिक मारमा परेका छन्।
- सवारी साधनको चाप बढ्दै गए पनि सडकको दुरावस्थाले गर्दा दुर्घटनाको जोखिम उच्च हुनुका साथै नागरिकको कार्यक्षमता र उत्पादकत्वमा ह्रास आएको छ।
विराटनगर । इटहरीबाट पूर्व लागेको नागरिक यातायातको बस गछियामा घ्याच्च रोकियो । बस रोकिने बित्तिकै ह्वार्र धुलोको मुस्लो बसभित्र छिर्यो । बसमा सवार सबै यात्रु मुख थुन्न कसैले आफ्नो हात, कसैले कपडा र मास्क प्रयोग गरे । यतिकैमा एक महिला यात्रुले आक्रोश व्यक्त गरिन्, ‘अलि हेरेर बस रोक्नु नि, धुलो छ भन्ने जान्दाजान्दै किन रोक्नु ?’
बसका सहचालकले भने, ‘दिदी ! मान्छे बोक्न बस किनेको, जान्छु भन्नेलाई नलैजाउँ भने भएन ।’ यो एउटा बस स्टेसनको कुराकानी हो, तर पूर्वपश्चिम राजमार्गमा बसका चालक र सहचालकहरूसँग यात्रुहरूले गर्ने गुनासो यस्तै सुनिन्छन् ।
सुनौलो पूर्व नेपाल यातायात प्रालिका कोषाध्यक्ष राजु धमला आफ्नो कम्पनीले कति कमायो भनेर दिनदिनै हिसाब निकाल्छन्, तर आजकाल उनको अनुहारमा खुसी होइन, आक्रोश देखिन्छ । उनले भने, ‘हिजोका दिनमा विराटनगरबाट काँकडभिट्टा पुग्न ३५ लिटर डिजेलले पुग्थ्यो, तर आज बाटोको दुरावस्थाले गर्दा ५० लिटर आसपास डिजेल खपत हुन्छ । १० देखि १५ लिटर डिजेल त एउटै ट्रिपमा बढी लागिरहेको छ ।’
_OgxKERGBN9.jpg)
धमलाको यो पीडा व्यक्तिगत मात्र होइन । यो कोशी प्रदेशका हजारौँ यातायात व्यवसायीको साझा व्यथा हो । सडकको दुर्दशाले गर्दा एउटा बसमा मात्रै दैनिक ३ हजार रुपैयाँ मर्मतका नाममा अतिरिक्त खर्च भइरहेको धमलाको दाबी छ । टायर खिइने, पत्ती भाँचिने र मोबिल चाँडै फेर्नुपर्ने समस्याले गर्दा व्यवसाय नै धराशायी भएको उनी सुनाउँछन् ।
यातायात व्यवसायी तेजराज श्रेष्ठले भने, ‘पहिले १ घण्टामा सहजै पुगिने ठाउँमा पुग्न अहिले २ देखि साढे २ घण्टा लाग्छ । जताततै खनिएका डाइभर्सन, ह्युम पाइप र लथालिङ्ग निर्माण सामग्रीले गर्दा गाडी ढिलो चलाउनुपर्छ । यसले इन्धन खपत ७० देखि ८० प्रतिशतले बढाएको छ भने मेसिनरी मर्मत खर्च पनि दोब्बर भएको छ ।’
एकातिर व्यवसायीहरूले आर्थिक नोक्सानी व्यहोरिरहेका छन् भने अर्कोतिर यातायात क्षेत्रमा काम गर्ने मजदुरहरूले यस्तै समस्या भोगिरहेका छन् ।
नेपाल यातायात मजदुर संघका अध्यक्ष तथा मजदुर नेता बाबुराम कट्टेलका अनुसार सडकको धुलोले मजदुरको स्वास्थ्यमा समस्या आउने क्रम बढ्दो छ । ‘धुलो र धुवाँको समस्याले गर्दा मजदुरहरूलाई रुघाखोकी लाग्ने, छाती दुख्ने र आँखा पोल्ने समस्या सामान्य जस्तै भइसक्यो । कतिपय मजदुर त अस्पताल नै भर्ना हुनुपर्ने अवस्था छ,’ कट्टेलले गुनासो गरे ।
उनका अनुसार सडकमा मान्छे खोज्दै हिँड्नुपर्ने मजदुरहरूका लागि यो धुलोले जीवन नै कष्टकर बनाएको छ ।
यता, सडक आसपासमा व्यापार गर्नेहरूको कथा झनै कारुणिक छ । बेलबारी उद्योग वाणिज्य महासंघका महासचिव विवेक मिश्रले भने, ‘राजमार्ग विस्तारको नाममा जिरो स्पेसमा गाडी गुड्दा पार्किङको ठाउँ नै छैन । पार्किङ नभएपछि ग्राहक होटल र पसलमा आउँदैनन् ।’
मिश्रका अनुसार राजमार्गको उत्तरपट्टिका व्यवसायीहरू त झनै धराशायी बनेका छन् । बाटो क्रस गर्ने ठाउँ नहुँदा मानिसहरू २–३ किलोमिटर घुमेर आउनुपर्ने बाध्यता छ । ‘धुलो नियन्त्रणका लागि पानी छर्कने नियम भए पनि ठेकदारले डिजेल महँगो भयो भन्दै पानी छर्कन छाडेका छन्,’ उनले भने ।
_yn7GvMED2U.jpg)
सडक निर्माणका क्रममा उड्ने धुलोका कारण नजिकका घरका सटरमा राखिएका पसलहरू बन्दजस्तै भएको मिश्रले बताए छन् । सडक नजिकका मानिसहरूलाई धुलोले बसिनसक्नु बनाएको छ ।
सरकारले इन्धन खपत घटाउन सार्वजनिक बिदा सातामा दुई दिन दिने निर्णय गरेको छ । तर, सडकको दुरावस्थाका कारण इन्धन खपत बढिरहेको बारे अनभिज्ञ जस्तै छ ।
कोशी प्रदेशको लाइफलाइन मानिने कोशी ब्यारेजदेखि झापाको काँकडभिट्टासम्मको १३४ किलोमिटर सडक खण्डमा दैनिक हजारौँ सवारी साधन आवत–जावत गरिरहन्छन् । सडक विभागको सन् २०१८ को तथ्याङ्कमा यो खण्डमा दैनिक १ लाख १५ हजार ३३८ सवारी साधन गुड्ने देखिएको थियो । कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको हालैको तथ्याङ्कले सवारी साधन दर्तामा वार्षिक १० देखि १२ प्रतिशतको वृद्धि भएको देखाएको छ । ५ प्रतिशतले मात्रै सवारी चाप बढेको अनुमान गर्दा पनि अहिले यो सडकमा दैनिक १ लाख २१ हजार १०५ सवारी साधन गुड्छन् ।
यो वृद्धिका बिच पनि सडकको जर्जर अवस्थाले गर्दा भइरहेको आर्थिक क्षति भने भयावह छ । हाल बजारमा डिजेलको मूल्य प्रतिलिटर २३४.५ र पेट्रोलको मूल्य प्रतिलिटर २१६.५ रुपैयाँ छ । १३४ किलोमिटरको दुरी पार गर्दा एउटा मोटरसाइकलले सामान्य अवस्थामा भन्दा १.५ लिटर बढी पेट्रोल खपत गर्छ । यस हिसाबले दैनिक ६३ हजार ८ सय मोटरसाइकलबाट मात्रै २ करोड ७ लाख रुपैयाँभन्दा बढीको अतिरिक्त पेट्रोल खपत भइरहेको छ ।
त्यस्तै, ८ हजार ८ सय बसले दैनिक १५ लिटर थप डिजेल खपत गर्दा ३ करोड ९ लाख रुपैयाँ अतिरिक्त खर्च भइरहेको छ । ४ हजार २ सय ट्रक र टिपरहरूले प्रतिसवारी २० लिटर थप डिजेल खपत गर्दा १ करोड ९६ लाख रुपैयाँ बढी खर्च हुन्छ । कार, जीप र अन्य साना सवारी साधनहरूको अतिरिक्त इन्धन खपत जोड्दा यो १३४ किलोमिटरको खण्डमा मात्रै दैनिक १२ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको इन्धन खराब सडकका कारण खर्च भइरहेको छ ।
_wvBW0GlBlZ.jpg)
इन्धन खपत त देखिने क्षतिमात्र हो । अदृश्य रूपमा भइरहेको मेसिनरी मर्मत र समयको हिसाबको कुनै लेखाजोखा छैन । व्यवसायी राजु धमलाले भने झैँ एउटा बसमा मात्रै दैनिक ३ हजार अतिरिक्त मर्मत खर्च लाग्छ । यदि १ लाख २१ हजार सवारी साधनको औसत मर्मत भार प्रतिसवारी न्यून रूपमा २०० रुपैयाँमात्र मान्दा पनि दैनिक २ करोड ४२ लाख रुपैयाँ मेसिनरीमा अतिरिक्त खर्च भइरहेको छ ।
कच्ची सडक, धुलो र खाल्डाखुल्डीका कारण सवारी साधनको आयु घटेको छ भने टायर र मोबिल फेर्ने समय आधाले छोटिएको छ ।
समयको बर्बादीले देशको उत्पादकत्वमा पनि ह्रास ल्याएको छ । प्रत्येक यात्रीको औसत १ घण्टा समय सडकको जाम र डाइभर्सनमा बढी खर्च हुन्छ । दैनिक करोडौँ रुपैयाँ बराबरको श्रमशक्ति सडकको धुलोमा अल्झिरहेका छन् । यी सबै प्रत्यक्ष र अप्रत्यक्ष खर्चहरू जोड्ने हो भने यो सडक खण्डमा मात्रै नागरिक र राज्यले दैनिक कति करोड नोक्सान व्यहोरिरहेका होलान् ? हिसाब गर्र्नैपर्छ ।
यो सडक विस्तारले मानव स्वास्थ्यमा पनि गम्भीर असर गरिरहेको छ । सडक विभाग र निर्माण कम्पनीले नियमित पानी नछर्कँदा उडेको मसिना धुलोका कण (पीएम २.५) ले स्थानीय बासिन्दा र यात्रीको फोक्सोमा स्थायी क्षति गरिरहेको छ ।
_VbIxiaXJJ7.jpg)
‘अहिले नेपालका सडकहरूको दुरावस्था र अत्यधिक धुलोले जनस्वास्थ्यमा एउटा गम्भीर बहुआयामिक सङ्कट निम्त्याएको छ । वैज्ञानिक दृष्टिले हेर्दा, सडकको धुलोमा हुने सुक्ष्म कणहरू (पीएम २.५) श्वासप्रश्वास प्रणालीमार्फत फोक्सो र रक्तप्रवाहसम्म पुग्ने हुनाले खोकी, दम, एलर्जीदेखि मुटुको समस्या र क्यान्सरसम्मको जोखिम रहन्छ,’ जनस्वास्थ्यकर्मी डा. बालकृष्ण साहले भने, ‘स्वास्थ्यका अतिरिक्त, भत्किएका सडक र जामका कारण यात्रा अनिश्चित बन्दा नागरिकहरूमा तीव्र मानसिक तनाव र चिडचिडापन बढ्नुका साथै कम दृश्यता र खाल्डाखुल्डीले सडक दुर्घटनाको सम्भावनालाई उच्च बनाएको छ ।’
उनका अनुसार दैनिक कामकाजमा निस्कनेहरूका लागि यो अवस्थाले कार्यक्षमतामा ह्रास ल्याउने मात्र नभई, यात्रामा हुने ढिलाइले व्यक्तिगत उत्पादकत्व र पारिवारिक समयमा समेत भारी कटौती गरिरहेको छ ।
राजमार्गलाई आधार मानेर सञ्चालनमा रहेका करिब २ हजार साना–ठुला होटल र पसलहरूको अवस्था पनि कारुणिक छ । पथरी शनिश्चरेमा चाउमिन उद्योग चलाएर बसेका प्रेम गुरुङले सामान पुर्याउन जान निकै समस्या परेको बताए । ‘पहिले दैनिक २० किलोसम्म चाउमिन जाने ठाउँमा राजमार्ग क्षेत्रमा १० किलो, ५ किलोमा झरेको छ,’ उनले भने, ‘व्यापारमात्रै घटेको छैन, हामीले त्यहाँसम्म सामान पुर्याउन पनि डबल समय खर्चिनु परेको छ ।’
कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कका अनुसार २०८१÷०८२ मा मात्र नवीकरण हुने सवारीको संख्या १ लाख ३१ हजारभन्दा बढी छ । यी सवारी धनीले राज्यलाई कर तिरिरहेका छन्, तर राज्यले उपलब्ध गराएको ‘सेवा’ भनेको खाल्डाखुल्डी र धुलोमात्र हो । निर्माण सामग्रीहरू सडकको बिचैमा थुपारिँदा हुने दुर्घटनाको तथ्याङ्क बढिरहेकै छ ।
_BHpUx9HqEC.jpg)
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका अनुसार २०७९÷०८० मा कोशी प्रदेशमा जम्मा ३ हजार ५१० वटा सवारी दुर्घटना भएको थियो, तर आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटनाको संख्या बढेर ५ हजार हाराहारी पुगेको छ ।
पूर्वपश्चिम राजमार्ग अहिले विस्तारको क्रममा छ । एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गरेका थिए ।
तर, यतिबेला गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्य इन्धन र बिटुमिनको अभावका कारण झनै सङ्कटमा परेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको असहजताले आयोजनाको निर्माण कार्य नै ठप्प हुने स्थिति सिर्जना भएको हो । जसले गर्दा यातायात क्षेत्र, मजदुर, यात्रु र राजमार्ग आसपासका व्यापार व्यवसाय पुरानै लयमा फर्किन अझै वर्षौं कुर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण