शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

बयान फेर्ने सरकारी साक्षीविरूद्ध अख्तियारले दायर गर्‍याे मुद्दा

सोमबार, ०७ वैशाख २०८३, १५ : २४
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • अदालतमा पुगेर बयान फेरेपछि (होस्टाइल भएपछि) तामाङलाई अख्तियारले पुनः प्रतिवादी बनाएको हो।
  • अख्तियारले ५ लाख रुपैयाँ बिगो कायम गरी तामाङलाई कैद र जरिवानाको मागदाबी गरेको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर अधिकारी जोडिएको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अनुसन्धानका क्रममा आयोगलाई सहयोग गर्ने सर्तमा सजायमा पूर्ण छुट पाएका हिमाल तराई कन्स्ट्रक्सनका प्रोप्राइटर तामाङले अदालतमा पुगेर आफ्नो बयान फेरेपछि (होस्टाइल भएपछि) उनी विरुद्ध मुद्दा चलाइएको हो ।

नेपाल बैंकबाट ऋण मिलाइदिने सहजीकरणका लागि अध्यक्ष अधिकारीले रमेश आचार्यमार्फत तामाङसँग ५ लाख रुपैयाँ घुस लिएको र उक्त रकमको चेक अधिकारीकै घरबाट बरामद भएको थियो । 

अनुसन्धानका क्रममा तामाङले घुस दिएको स्वीकार गर्दै आयोगलाई सहयोग गरेका कारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा छुट दिई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर, विशेष अदालतमा बकपत्र गर्ने क्रममा तामाङले आयोगमा गरेको बयान र सङ्कलित प्रमाण विपरीत हुने गरी बयान दिएपछि आयोगले उनलाई पुनः प्रतिवादी बनाएको हो । 

तामाङले गैरकानुनी लाभका लागि अधिकारीलाई घुस दिएको र पछि अदालतमा झुटो बकपत्र गरी भ्रष्टाचारको कसुर लुकाउन खोजेको ठहर गर्दै अख्तियारले ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप