सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुकुमबासी बस्ती

शनिबार बिहानदेखि तीन ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय

पहिलो चरणमा थापाथली, मनहरा र गैह्रिगाउँको बस्ती हटाइने
बिहीबार, १० वैशाख २०८३, २० : ४५
बिहीबार, १० वैशाख २०८३

सारांश

  • काठमाडौँ जिल्ला प्रशासन कार्यालयले वैशाख १२ गते बिहानदेखि तीन स्थानका सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ।
  • थापाथली, गैह्रिगाउँ र जडीबुटीस्थित मनहरा खोला किनारको बस्ती खाली गराउन प्रशासनले माइकिङ सुरु गरेको छ।
  • बस्ती खाली गर्न अवरोध पुर्‍याएमा कडा कारबाही हुने स्थानीय प्रशासनले चेतावनी दिएको छ।

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल गरेका थिए । सुरक्षा समितिको बैठकपछि उनले काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सँग पनि छलफल गरेका थिए ।

जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखसँग छलफल गरेपछि पहिलो चरणमा ३ ठाउँको सुकुमबासी बस्ती हटाउने निर्णय गरिएको छ । पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको जिल्ला सुरक्षा समिति काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

उनका अनुसार शनिबार बिहान ६ बजेबाट त्यहाँ डोजर चलाएर सुकुमबासी बस्तीका घर र टहरा हटाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिका ती सदस्यले भने, ‘मनहरा खोलाको भक्तपुर तर्फ पनि खाली गराउने कुरा भएको छ, त्यसबारे भक्तपुर प्रशासनले छलफल गरेर टुङ्गो लगाउने कुरा भएको छ ।’

काठमाडौँ महानगर, प्रहरी र सशस्त्रका सुरक्षा अधिकारीहरूले उपत्यकाको तिनै स्थानमा अवैध तरिकाले बनाइएका घर र टहरा खाली गर्न माइकिङ सुरु गरेका छन् । वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न स्थानीय प्रशासनले सूचना दिएको छ । घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

स्थानीय प्रशासनको निर्णय अनुसार सुकुमबासी बस्तीमा माइकिङ गरेर भनिएको छ, ‘वैशाख १२ गते बिहान ६ बजेबाट घर टहरा भत्काउँदा र अतिक्रमित जग्गा खाली गर्दा व्यवधान सिर्जना गरेमा कडा कारबाही भई जानेछ ।’

आगामी १० देखी १५ दिनमा वास्तविक भूमिहीन यकिन गरेर बसोबासको प्रबन्ध गर्ने तयारीबारे पनि छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन् । घर टहरा भत्काउँदा सुरक्षा व्यवस्था मिलाउन प्रहरी तयार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘अन्य व्यवस्थापकीय पाटो अरू निकायको हुनेछ, सुरक्षा प्रदान गर्न हामी सधैँ तयार छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप