१० वर्षमा हावाहुरीका एक हजार ५१९ वटा घटना हुँदा १०१ जनाको मृत्यु
काठमाडौँ। पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ २५ गतेसम्मको अवधिमा कूल एक हजार ५१९ वटा हावाहुरीका घटना भएका छन् ।
उक्त अवधिमा हावाहुरीका कारण १०१ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै, एक हजार ५७२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । आठ हजार ५०४ परिवार यस अवधिमा प्रभावित बनेका छन् । हावाहुरीबाट मानवीय क्षतिसँगै भौतिक क्षति पनि ठूलो मात्रामा हुने गरेको छ । विशेषगरी तराई तथा मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिने गरेको विज्ञहरू बताउँछन् । करिब ५३ करोड आर्थिक क्षति यस अवधिमा भएको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा भारी वर्षाका कारण ११० जनाले र हिउँ–हुरीका कारण १७ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म देशभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् र करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
जलवायुविद् डा.मनिष पाण्डेले जलवायु परिवर्तनका कारण हावाहुरीको प्रकृति तथा तीव्रता परिवर्तन हुँदै गएको भन्दै सरोकारवालाले पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार जलवायु जोखिम न्यूनीकरणका लागि जलवायु न्यूनीकरण र अनुकूलनलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण