शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
स्टार एण्ड स्टोरिज

मेरो अभिनयले दर्शकको आँखा रसाउँछ भने मेरो के दोष ?

कलाकारिताले बाँच्ने आधार दिएको छ : मिथिला शर्मा
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । मिथिला शर्मा नेपाली कला क्षेत्रकी वरिष्ठ अभिनेत्री र कुशल नृत्याङ्गना हुन् । ४ दशकभन्दा लामो समयदेखि कला क्षेत्रमा निरन्तर सक्रिय उनी जीवन्त अभिनय र कुशल नृत्यका कारण नेपाली दर्शकमाझ प्रिय छिन् ।

नृत्यबाट आफ्नो कला यात्रा सुरु गरेकी उनले ‘विश्वास’बाट फिल्म डेब्यु गरेकी थिइन् । फिल्ममा ३ मिनेटको शिक्षिकाको भूमिका निर्वाह गरेकी उनले अभिनय गरेका ‘दिदी’, ‘आमा’, ‘बसाइँ’, ‘मुना मदन’, ‘सुख–दुःख’, ‘कठपुतली’ जस्ता एकसेएक फिल्मबाट दर्शकको मन जितिरहेकी छन् ।

पछिल्लो फिल्म उनी अभिनीत ‘गुरुआमा’ आगामी २५ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा उनी शिक्षिकाको रूपमा देखिँदै छिन् । ‘गुरुआमा’ले पनि आफ्नो करिअरको माइलस्टोन फिल्म साबित हुने विश्वास उनको छ । पर्दामा आफू नरोइकन पनि अभिनयमार्फत दर्शकको आँखामा आँसु ल्याउन सक्ने अभिनेत्री मिथिला शर्मासँग गरिएको कुराकानी ।

  • ‘आमा’ प्रदर्शनमा आएको लामो समयपछि ‘गुरुआमा’ शीर्षक भूमिकामा देखिँदै हुनुहुन्छ । फिल्मलाई लिएर डर, उत्साह के छ ?

– ‘आमा’पछि मैले केही फिल्महरूमा अभिनय गरेँ, तर शीर्षक भूमिका भने ‘आमा’ पछि ‘गुरुआमा’ नै हो । फिल्मलाई लिएर निकै उत्साहित छु । मलाई नयाँ फिल्म आउँदैछ भन्नेबित्तिकै डर र अपेक्षा त सधैँ हुन्छ । रोचक कुरा के छ भने, मेरो पहिलो फिल्म ‘विश्वास’मा पनि मैले शिक्षिकाकै भूमिका निर्वाह गरेकी थिएँ । त्यसमा म जम्मा ३ मिनेट मात्रै देखिएकी थिएँ । त्यही ३ मिनेटको भूमिकाले मलाई यहाँसम्म डोर्‍यायो ।

  • ‘गुरुआमा’मा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

– म एउटा शिक्षिका (टिचर)को भूमिकामा छु । ‘गुरुआमा’ एउटा यस्तो सकारात्मक पात्र हो, जसले आफ्ना विद्यार्थीहरूमा कहिल्यै नकारात्मकता देख्दैन । उसले हरेक विद्यार्थीभित्र लुकेको सम्भावनालाई पहिल्याउने काम गर्छ । गुरुको मुख्य उद्देश्य विद्यार्थीको भविष्य निर्माण गर्नु हो ।

  • अभिनयका लागि ‘गुरुआमा’ किन रोज्नुभयो ?

– म आफैँ पनि वास्तविक जीवनमा झन्डै ४२–४३ वर्षदेखि शिक्षण पेसामा आबद्ध भएको व्यक्ति हुँ । बालबालिकाहरूसँग काम गर्ने मेरो लामो अनुभव छ । यसको विषयवस्तु पनि शिक्षक–विद्यार्थीको सम्बन्धमा आधारित भएकोले रोजाइमा पर्‍यो ।

  • त्यसो भए शिक्षिकाको भूमिकामा ढल्न तयारी गर्नुपरेन ?

– सत्य बोल्नुपर्दा, यो फिल्मका लागि मैले छुट्टै रिसर्च गरिरहनु परेन । किनभने मेरो आफ्नै जीवनको यात्रा नै शिक्षण पेसामा बितेको छ । ४२–४३ वर्षभन्दा बढी समय विद्यार्थीहरूलाई सिकाउँदै र उनीहरूसँगै हुर्किएकी हुनाले शिक्षिकाको मनोविज्ञान मलाई राम्रोसँग थाहा थियो । कलाकारका रूपमा म सधैँ सादा कागज बनेर जान मन पराउँछु । यद्यपि, मेरो व्यक्तिगत अनुभवले यो पात्रलाई जीवन्त बनाउन निकै मद्दत गर्‍यो । सुटिङका क्रममा पनि हामीले वास्तविक स्कुल र वास्तविक शिक्षकहरूसँगै काम गर्‍यौँ, जसले गर्दा माहौल निकै सहज भयो ।

  • कलाक्षेत्रमा तपाईंलाई ‘इमोसन क्विन’ पनि भनिन्छ, किन ?

– मेरो अभिनयले दर्शकको आँखा रसाउँछ रे । त्यसमा मेरो केही दोष छैन । तर यस्तो हुनुमा मेरो कुनै त्यस्तो विशेष टेकनिक त छैन । म जुन पात्र निर्वाह गर्छु, त्यसको गहिराइमा पुग्ने कोसिस गर्छु । त्यो पात्र कहाँ रुन्छ, कहाँ हाँस्छ र कहाँ सन्तुष्ट हुन्छ भन्ने कुरालाई म महसुस गर्छु । म बाहिर–बाहिर मात्र अभिनय गर्दिनँ, आफूभित्र त्यो पात्रलाई बाँच्न दिन्छु । एउटा कथावस्तु र एउटा जीवन मसँगै बाँचिरहेको छ भन्ने जिम्मेवारी बोध गर्छु ।

mithila sharma  (3)

  • समाजमा शिक्षकको स्थानलाई कसरी हेर्नुहुन्छ ?

– परापूर्व कालदेखि नै गुरुको स्थान सबैभन्दा माथि छ । हामी आज जे जस्तो छौँ, त्यो हाम्रा गुरुहरूले सिकाएको ज्ञानका आधारमा यहाँसम्म आइपुगेका हौँ । तर अहिलेको प्रविधिले शिक्षक र विद्यार्थीबिच केही दूरी ल्याएको जस्तो लाग्छ । अहिलेका विद्यार्थीहरू शिक्षकभन्दा धेरै इन्टरनेट र प्रविधिमा भर पर्छन् । शिक्षकले सिकाउने गहिराइ र प्रविधिले दिने रेडिमेड जवाफमा धेरै फरक हुन्छ । यदि हामीले समाजलाई राम्रो बनाउने हो भने पहिले शिक्षकहरूलाई सम्मानजनक स्थान र सहज जीवनयापनको वातावरण दिनुपर्छ ।

  • नाटक र चलचित्र दुवैमा काम गर्नुभएको छ, कुन विधा चुनौतीपूर्ण लाग्छ ?

– मलाई लाग्छ, चुनौती त पक्कै पनि थिएटर (नाटक) मै छ । थिएटरमा कट भन्ने हुँदैन । तपाईं एकचोटि मञ्चमा प्रवेश गरेपछि नाटक नसकिउन्जेल त्यो पात्रलाई बोकेर हिँड्नुपर्छ । त्यहाँ ८० प्रतिशत भार कलाकारकै हुन्छ । स्क्रिनमा त ५० प्रतिशत हामीले काम गर्छौँ भने बाँकी काम प्रविधि र सम्पादनले गरिदिन्छ । तर थिएटरले कलाकारलाई आत्मविश्वास दिन्छ र सिकाउँछ ।

  • अभिनय यात्राको लामो करिअरमा कुन स्थानमा छु जस्तो लाग्छ ?

– कला क्षेत्र एउटा यस्तो समुद्र हो, जसको गहिराइ नाप्न सकिँदैन । म आफूलाई अझै पनि एउटा विद्यार्थी नै मान्छु । म कुनै नयाँ प्रोजेक्टमा जाँदा फेरि शून्यबाटै सुरु गर्छु । यहाँ कोही पनि कहिल्यै पूर्ण (पर्फेक्ट) हुँदैन । कलाकारका रूपमा मेहनत गरिरहनुपर्छ, किनकि तपाईंले काम गर्न छोड्नुभयो भने समाजले तपाईंलाई बिर्सिदिन्छ । म आज पनि प्रत्येक काममा उत्तिकै मेहनत गर्छु ।

mithila sharma  (1)

  • अभिनय यहाँको लागि पेसा, नशा हो कि पूजा ?

– नृत्य तथा कला क्षेत्र मेरो साधना गर्ने क्षेत्र हो । जसले मलाई नाम पनि दिएको छ, आजसम्म म मेरै माटोमा आनन्दले बाँच्न पनि पाएको छु, सबैको मैले माया पनि पाएको छु । त्यसैले गर्दा मेरो यो धर्म भने पनि यही हो, कर्म भने पनि यही हो, जीवन भने पनि यही हो, परिचय भने पनि यही हो । जसले एउटा मिथिला शर्मालाई यति लामो जीवन बाँच्ने आधार दिएको छ, भोलिका दिनमा पनि जबसम्म चितामा पुगिँदैन म बाँच्न सक्छु यो क्षेत्रमा भन्ने आत्मविश्वास पनि दिएको छ । यो त संसारै हो मेरो, जीवनै हो ।

  • फिल्म निर्देशन गरौँ भन्ने लागेको छैन ?

– निर्देशन त म गर्छु, तर स्क्रिनको गर्दिनँ । रङ्गमञ्चमा गर्छु, यताउता गरिरहेकी छु । तर कस्तो भने सबै काम सबैले गर्नुपर्छ भन्ने छैन । हामी कहिलेकाहीँ के सोच्छौँ यो पनि गर्नुपर्छ, त्यो पनि गर्नुपर्छ । रङ्गमञ्चको लागि म जे पनि गर्न सक्छु, लेख्छु, निर्देशन पनि गर्छु, खेल्छु पनि । तर स्क्रिनको लागि भनेर मैले त्यो किसिमको गहन सोच चाहिँ लिएको छैन । म स्क्रिनको लागि चाहिँ कलाकार भएर बाँच्न पाउनुपर्छ, कलाकार भएर स्क्रिनमा आउँदा मलाई जुन आत्मसन्तुष्टि हुन्छ नि एउटा पात्रमा बाँच्न पाउँदा त्यही आनन्द लाग्छ । भोलि मेरो माइन्ड चेन्ज भएर मैले केही गरेँ भने थाहा छैन । अहिलेको क्षणसम्म चाहिँ निर्देशकको भूमिका निर्वाह गर्ने वा फिल्म बनाउने भन्ने त्यस्तो सोचहरू छैन । म फिल्म चाहिँ खेल्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया