बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मस्कका चार सन्तानकी आमाको सनसनीपूर्ण बयान : वीर्य दान गर्ने प्रस्ताव राखेपछि स्वीकार गरेँ

बिहीबार, २४ वैशाख २०८३, ०६ : ५८
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • शिवोन जिलिसले एलोन मस्कसँगको व्यक्तिगत सम्बन्ध र चार सन्तानको जन्मबारे अदालतमा खुलासा गरेकी छिन्।
  • जिलिसले मस्कले वीर्य दान गर्ने प्रस्ताव राखेपछि आफूले सन् २०२० मा त्यसलाई स्वीकार गरेको बताइन्।
  • ओपनएआईका वकिलहरूले मस्कलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाए पनि जिलिसले सन् २०१८ पछि रोमान्टिक सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन्।

क्यालिफोर्निया । ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले विश्वकै धनी व्यक्ति एलोन मस्कसँगको आफ्नो फरक किसिमको व्यक्तिगत सम्बन्ध र त्यसबाट चार सन्तानको जन्म कसरी भयो भन्नेबारे अदालतमा विस्तृत खुलासा गरेकी छिन्।

मस्कले ओपनएआईलाई नाफामूलक कम्पनीमा परिणत गर्ने निर्णयविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइका क्रममा क्यालिफोर्नियाको ओकल्यान्डस्थित सङ्घीय अदालतमा बुधबार जिलिसले घण्टौँ बयान दिएकी हुन्।

अदालतमा उपस्थित जिलिससँग ओपनएआईलाई नाफामूलक बनाउने प्रारम्भिक छलफलमा उनको भूमिका र मस्कसँगको उनको सम्बन्धका विषयमा केन्द्रित रहेर सोधपुछ गरिएको थियो। बयानका क्रममा उनले सन् २०२० तिर आफू आमा बन्न चाहेको र त्यही समयमा मस्कले वीर्य दान गर्ने प्रस्ताव राखेपछि आफूले त्यसलाई स्वीकार गरेको बताएकी छिन्। मस्कले त्यतिबेला आफ्नो वरपरका सबैलाई सन्तान जन्माउन प्रोत्साहन गरिरहेका थिए र जिलिसको कुनै सन्तान नभएको थाहा पाएपछि उनले यस्तो प्रस्ताव राखेका थिए।

सिलिकन भ्यालीमा विगत १५ वर्षभन्दा बढी समयदेखि भेन्चर क्यापिटलिस्टका रूपमा कार्यरत जिलिसले मस्कको कार कम्पनी टेस्ला र न्युरोटेक्नोलोजी कम्पनी न्युरालिङ्कमा उच्च कार्यकारी पदहरू सम्हालिसकेकी छिन्। उनी सन् २०१६ मा स्थापना भएको केही समयपछि नै ओपनएआईमा सल्लाहकारका रूपमा जोडिएकी थिइन, जहाँ उनको पहिलोपटक मस्कसँग भेट भएको थियो। पछि उनी सन् २०२० देखि २०२३ सम्म ओपनएआईको निर्देशक समेत बनेकी थिइन्।

ओपनएआईका वकिलहरूले मस्कले सन् २०१८ मा कम्पनी छोडेपछि पनि जिलिसले ओपनएआईका गोप्य सूचनाहरू मस्कलाई पुर्‍याउने गरेको आरोप लगाएका छन्। तर जिलिसले मस्कसँग करिब एक दशकअघि छोटो समयका लागि मात्र रोमान्टिक सम्बन्ध रहेको र सन् २०२० मा मस्कले सन्तानको पिता बन्ने प्रस्ताव राख्दा उनीहरूबीच कुनै प्रेमसम्बन्ध नरहेको स्पष्ट पारेकी छिन्। स्वास्थ्य समस्याका कारण परम्परागत रूपमा विवाह गरेर सन्तान जन्माउने आफ्नो योजना सफल हुन नसकेपछि उनले मस्कको प्रस्ताव स्वीकार गरेको बताएकी हुन्।

सुरुमा मस्कलाई सन्तानको जीवनमा सक्रिय पिताका रूपमा राख्ने उनको योजना थिएन र उनीहरूले यो कुरालाई पूर्ण रूपमा गोप्य राख्ने सहमति गरेका थिए। तर अहिले मस्क आफ्ना चारै जना सन्तानको जीवनमा सक्रिय रहेको र उनीहरू हप्तामा केही घण्टा सँगै समय बिताउने जिलिसले बताएकी छिन्। यही गोपनीयताको सम्झौताका कारण आफूले सन् २०२१ मा जन्माएका जुम्ल्याहा सन्तानको पिता मस्क हुन् भन्ने कुरा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानलाई नभनेको उनले स्वीकार गरिन्।

सन् २०२२ मा सञ्चारमाध्यम बिजनेस इन्साइडरले यस विषयमा समाचार छाप्न लागेको थाहा पाएपछि मात्र उनले अल्टम्यानलाई यसबारे जानकारी गराएकी थिइन्। यद्यपि, अल्टम्यान र ओपनएआईका अध्यक्ष ग्रेग ब्रकम्यानले जिलिसलाई बोर्डमै निरन्तरता दिन चाहेका थिए र उनीहरूबिच सन् २०२३ सम्म राम्रो मित्रता रहेको थियो। ब्रकम्यानले अदालतमा जिलिसमाथि आफूहरूलाई पूर्ण विश्वास रहेको र मस्कसँगको स्वार्थको द्वन्द्वलाई उनले नियन्त्रणमा राख्नेमा ढुक्क रहेको बताएका थिए।

मस्कले ओपनएआईको प्रतिस्पर्धी च्याटबोट विकास गर्ने कम्पनी एक्सएआई स्थापना गरेपछि जिलिसले मार्च २०२३ मा ओपनएआईको बोर्ड छोडेकी थिइन्। अदालतमा देखाइएका इमेल र सन्देशहरूका अनुसार, सन् २०१७ देखि नै ओपनएआईलाई ठुलो बनाउन र अर्बौँ डलर लगानी जुटाउन गैर-नाफामूलक संरचनाबाट बाहिर निस्कनुपर्ने छलफल सुरु भएको थियो।

मस्कले ओपनएआईमा आफ्नो नियन्त्रण बढाउन चाहेका थिए र यसलाई टेस्लाको मातहतमा ल्याउने प्रस्ताव समेत गरेका थिए, जसलाई जिलिसले पनि कोषको समस्या तत्काल हल हुने भन्दै समर्थन गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप