सांसद कम उपस्थित भएपछि रास्वपा उपनेता पराजुली असन्तुष्ट
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून भएपछि उपनेता गणेश पराजुलीले असन्तुष्टि जनाएका छन् ।
- प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको र अपेक्षित उपस्थिति नदेखिएको भन्दै पराजुलीले यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत भएको बताए ।
- उनले पार्टी र संसदीय दलले सांसदहरूको कम उपस्थितिको मूल्याङ्कन गर्ने चेतावनी दिँदै क्षमता, अध्ययन र परिणामले जनताको विश्वास जित्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ । रास्वपाले शनिबार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरू कम उपस्थित भएका हुन् ।
रास्वपाका १ सय ८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसदहरू कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदहरुले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको बताए । उनले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत भएको बताए ।
उनले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताए । तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भीर विषय रहेको उनको भनाइ छ ।
पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिए । जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उनले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिए । उनले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्यो’ भन्ने आधारमा मूल्याङ्कन गर्न थालेको उल्लेख गरे ।
उनले भने, ‘जनताले केवल नयाँ अनुहार होइन नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन् । राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्ने जनअपेक्षा अहिले बलियो बनेको छ । यस्तो समयमा जनताबाट प्राप्त विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । हामीले राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास गर्नुपर्ने आवश्यकता छ । संसद् र संसदीय समितिको प्रभावकारी भूमिका, पार्टी र सरकारबिचको समन्वय, संसदीय मर्यादा, आचरण र विषयगत तथ्यमा आधारित बहस, जनतासँग जोडिएको उत्तरदायी व्यवहार तथा प्रभावकारी नेतृत्व विकासको अपेक्षा हामीले राखेका छौँ ।’
पराजुलीले आजको राजनीति केवल नाराले नचल्ने बताउँदै क्षमता, तयारी, अध्ययन र परिणामले चल्ने समेत बताए ।
उनले भने, ‘जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मूल्याङ्कन गर्न थालेका छन् । त्यसैले हामी सबैले आफूलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखी बनाउँदै लैजान अति आवश्यक रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि नै सुशासन, पारदर्शिता, जबाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मूल आधार बनाएको छ । पार्टीको वाचापत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासँग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद् आवश्यक रहेको छ । यो प्रशिक्षण केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममूल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट सुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन ।’
उनले थप भने, ‘संसदीय दलको उप–नेताको हैसियतमा म यहाँहरूलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले विशेषगरी संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरूको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्त्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मूल्याङ्कन गरिनेछ ।’
पराजुलीले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्याङ्कन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गरे । प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उनले जानकारी दिए । उनले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण