विद्युतीय सवारीमा बीवाईडीको नयाँ क्रान्ति: १० मिनेटमै फूल चार्ज, ‘रेन्ज एन्जाइटी’को युग अन्त्य
सारांश
- बीवाईडीले १० मिनेटमै सयौँ किलोमिटर यात्रा गर्न सक्ने ऊर्जा भर्ने क्षमता हासिल गरेको छ, जसलाई ईभी उद्योगको गेमचेन्जरका रूपमा हेरिएको छ ।
- बीवाईडीको नयाँ प्रविधिबाट गाडीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट लाग्छ, जसले विद्युतीय सवारी साधनको चार्जिङ चिन्ताको अन्त्य गर्ने दाबी गरिएको छ ।
- बीवाईडीले विश्वमै पहिलोपटक 'फ्लास चार्जिङ' भइरहेकै बेला ब्याट्रीमा किला ठोक्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ, जसले सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ ।
काठमाडौँ । कल्पना गर्नुहोस् त, तपाईं लामो दुरीको यात्रामा हुनुहुन्छ । बाटोमा गाडी रोकेर एक कप तातो चिया पिउन नभ्याउँदै तपाईंको विद्युतीय गाडी (ईभी) सयौँ किलोमिटर कुद्नका लागि पूर्ण रूपमा चार्ज हुन्छ ।
तपाईंलाई लाग्न सक्छ– यो सम्भव छैन । किनकि नेपालमा कुनै समय पेट्रोल पम्पमा गाडी रोकेर पाँच मिनेटमै ट्याङ्की भरिनु नै सुविधा मानिन्थ्यो ।
पछिल्लो समय विद्युतीय गाडी (ईभी) प्रति विश्वव्यापी आकर्षण ह्वात्तै बढेको छ, तर गाडी चार्ज गर्न लामो समय कुर्नु पर्ने अवस्था छ ।
विद्युतीय गाडी जतिसुकै वातावरणमैत्री र अत्याधुनिक भए पनि उपभोक्ताको मनमा सधैँ एउटा डर हुने गरेको छ– विद्युतीय सवारी साधनको चार्ज बिच बाटोमै सकियो भने के गर्ने र लामो समय घन्टौँ कहाँ गएर कुर्ने ?
यस्तो हुँदा ईभी कसरी पेट्रोल गाडीको पूर्ण विकल्प बन्न सक्छ भन्ने थियो । तर अब विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ क्रान्ति ल्याएको छ ।
विद्युतीय सवारी साधनमा ‘चार्जिङ एन्जाइटी’ अर्थात चार्ज गर्नुपर्ने चिन्ताको बीवाईडीले अन्त्य गरिदिएको छ । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता चिनियाँ कम्पनी बीवाईडीले यो असम्भव जस्तो लाग्ने विषयलाई यथार्थमा परिणत गरेको छ ।
कम्पनीले केही समय अघिमात्रै ‘फ्लास चार्जिङ’ प्रविधि र ‘दोस्रो पुस्ताको ब्लेड ब्याट्री’ले अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा नयाँ तरङ्ग ल्याइदिएको छ । १० मिनेटमै सयौँ किलोमिटर यात्रा गर्न सक्ने ऊर्जा भर्ने क्षमता कम्पनीले हासिल गरेको छ । यो प्रविधिलाई ईभी उद्योगको एउटा युगान्तकारी गेमचेन्जरका रूपमा हेरिएको छ ।
_yVmyKo22xw.jpg)
चीनको सेन्जेनस्थित बीवाईडी मुख्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीका एसिया प्यासिफिक महाप्रबन्धक लिउ सिएलियाले ईभी उद्योगको सबैभन्दा ठुलो समस्या अब गाडीको रेन्ज (दुरी) नभएर चार्जिङको समय भएको बताए ।
उनले भने, ‘ईभी उद्योगको सबैभन्दा ठुलो समस्या अब गाडीको रेन्ज (दुरी) नभएर चार्जिङको समय थियो । हाम्रो फ्लास चार्जिङले यही मनोवैज्ञानिक अवरोध हटाउने प्रयास मात्र गरेको छैन, यसलाई पूर्ण रूपमा समाधान गरेका छौँ ।’
महाप्रबन्धक लिउ सिएलियाले फास्ट चार्जिङ प्रविधिलाई विदेशी बजारहरूमा क्रमिक रूपमा विस्तार गर्दै लैजाने योजना सुनाए । उनले यो वर्ष कम्पनी मुख्य गरी स्वदेशका बजारमै केन्द्रित रहने बताए । उनले बिस्तारै यसलाई अन्य देशका बजारहरूमा पनि लिएर जाने उल्लेख गरे ।
कसरी सम्भव भयो यति छिटो चार्ज ?
बीवाईडीको दाबी अनुसार उसको नयाँ प्रविधिबाट गाडीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट लाग्छ ।
अझ १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न जम्मा ९ मिनेटमात्र लाग्छ । विश्व अटोमोबाइल उद्योगमा यो आँकडा अहिले ‘रेकर्ड–ब्रेकिङ’ का रूपमा चर्चा गरिएको छ ।
विद्युतीय गाडीको अर्को ठुलो कमजोरी चिसो मौसमलाई मानिन्छ । तापक्रम घटेपछि ब्याट्रीको क्षमता र चार्जिङ गति दुवै कम हुन्छ । यही कारण उत्तरी युरोप, क्यानडा वा हिमाली क्षेत्रका उपभोक्तामा ईभीप्रति आशंका थियो ।
अहिले बजारमा उपलब्ध अमेरिकी कम्पनी टेस्लाको ‘भी–फोर सुपरचार्जर’ ले २५० देखि ३५० किलोवाटसम्म शक्ति दिन्छ । जसले १० बाट ८० प्रतिशत चार्ज गर्न औसत २० मिनेटभन्दा बढी लगाउँछ ।
सामान्य फास्ट चार्जरमा पूर्ण चार्ज हुन घन्टौँ लाग्ने गरेको छ । तर बीवाईडीले १ हजार ५ सय किलोवाटसम्म शक्ति प्रवाह गर्ने ‘मास–प्रोडक्सन’ चार्जिङ प्रणाली ल्याएको छ, जुन विश्वकै उच्च क्षमताको प्रविधि हो ।
यति छोटो समयमा यति धेरै ऊर्जा प्रवाह हुनु सामान्य इन्जिनियरिङ नभएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार कम्पनीले विकास गरेको ‘दोस्रो पुस्ताको ब्लेड ब्याट्री’ को मुख्य भूमिका छ । यस ब्याट्रीमा ‘फुल–चेन फ्लासपास आयन ट्रान्सपोर्ट’ प्रणाली प्रयोग गरिएको छ ।
ब्याट्रीभित्र लिथियम आयनको आवागमनलाई अत्यन्तै तीव्र बनाउँछ । ब्याट्रीभित्रको प्रतिरोधलाई ५० प्रतिशतले घटाएर ताप उत्पन्न हुने प्रक्रियालाई यसले जरैबाट नियन्त्रण गर्छ ।
‘इलेक्ट्रोड रिस्ट्रक्चरिङ’ मार्फत ब्याट्रीको ऊर्जा घनत्व पहिलो पुस्ताको तुलनामा ५ प्रतिशतले बढाइएको छ । यही कारण यो ब्याट्री जडित गाडीले एक पटकको फुल चार्जमा १ हजार किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्छ । भर्खरै सार्वजनिक ‘डेन्जा जेड जीटी’ मोडलले १०३६ किलोमिटरको रेन्ज दिएको कम्पनीले दाबी गरेको छ ।
विद्युतीय गाडीको अर्को ठुलो कमजोरी चिसो मौसमलाई मानिन्छ । तापक्रम घटेपछि ब्याट्रीको क्षमता र चार्जिङ गति दुवै कम हुन्छ । यही कारण उत्तरी युरोप, क्यानडा वा हिमाली क्षेत्रका उपभोक्तामा ईभीप्रति आशंका थियो ।
तर, बीवाईडीले यसमा पनि फरक नतिजा निकालेको छ । माइनस ३० डिग्री सेल्सियसको अत्यधिक चिसोमा समेत २० प्रतिशतबाट ९७ प्रतिशत चार्ज हुन जम्मा १२ मिनेट लाग्ने प्रविधिको विकास गरेको कम्पनीले जनाएको छ । यो सामान्य मौसमभन्दा जम्मा ३ मिनेट बढी हो । यो उपलब्धिले अत्यधिक चिसो हुने देश र क्षेत्रमा ईभीको विस्तारलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
सुरक्षामा नयाँ मापदण्डः न आगो लाग्ने, न पड्किने
विद्युतीय गाडी उद्योगमा अत्यधिक छिटो चार्जिङ गर्दा ब्याट्री तात्ने, सेलमा क्षति पुग्ने र आयु घट्ने जोखिम रहन्छ । तर बीवाईडीले सुरक्षाको मामिलामा चीनको नयाँ राष्ट्रिय मापदण्डलाई समेत अघि बढाएको दाबी गरेको छ ।
नेपालमा अहिले विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सहरी क्षेत्रमा मात्र सीमित ईभी पछिल्लो समय ग्रामीण र हिमाली क्षेत्रका राजमार्गमा समेत गुड्न थालेका छन् । अझ नेपालमा चार्जिङ स्टेसनको कमी रहेको गुनासो समेत छ भने विद्युतीय सवारी साधनमा चार्ज गर्न समेत लामो समय लाग्ने गरेको छ ।
कम्पनीले विश्वमै पहिलोपटक ‘फ्लास चार्जिङ’ भइरहेकै बेला ब्याट्रीमा किला ठोक्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । ५०० पटक फ्लास चार्ज गरिसकेपछि पनि किला ठोक्दा ब्याट्रीमा ‘थर्मल रनअवे’, धुवाँ पनि ननिस्किएको र आगोसमेत नलागेको बताएको छ ।
नयाँ मापदण्डले तोकेभन्दा १० गुणा बढी शक्तिको ‘बटम इम्प्याक्ट टेस्ट’ मा पनि ब्याट्री सुरक्षित रहने कम्पनीले जनाएको छ । ब्याट्रीको क्षमता ह्रास (डिग्रेडेसन) पनि २.५ प्रतिशतले कम भएको कम्पनीको दाबी छ ।
पूर्वाधारको चुनौती र बीवाईडीको ‘स्मार्ट’ समाधान
१ हजार ५ सय किलोवाट क्षमताको चार्जर चलाउनु भनेको विद्युत् ग्रिडका लागि ठुलो टाउको दुखाइ हो । एकैपटक यति धेरै बिजुली तान्दा ग्रिड नै फेल हुने वा ओभरलोड हुने जोखिम हुन्छ । विकासशील मुलुकका लागि यस्तो संरचना निर्माण निकै महँगो र कठिन हुन्छ ।
तर बीवाईडीले ‘ऊर्जा भण्डारण–चार्जिङ एकीकृत प्रणाली’ विकास गरेको छ । यो प्रणालीले एकातिर ऊर्जाको जलाशय को रूपमा काम गर्छ भने ग्रिडलाई ओभरलोड हुनबाट जोगाउँछ । विद्यमान विद्युत् संरचनामै पनि यो सुपरफास्ट चार्जिङ सम्भव भएको छ ।
चीनभर कम्पनीले यसको विस्तार तीव्र पारेको छ । सन् २०२६ को अन्त्यसम्ममा चीनभर २० हजार फ्लास चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने बीवाईडीको योजना छ ।
‘प्लग एन्ड चार्ज’ सुविधाले गर्दा हरेक पटक कार्ड स्वाइप गर्ने वा एप चलाउने झन्झट हुँदैन । एकपटक एपमा सेटिङ मिलाएपछि गाडीमा तार जोड्ने बित्तिकै आफैँ चार्ज सुरु हुन्छ र भुक्तानी पनि स्वतः हुन्छ ।
नेपालमा कहिले भित्रिएला ?
नेपालमा अहिले विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सहरी क्षेत्रमा मात्र सीमित ईभी पछिल्लो समय ग्रामीण र हिमाली क्षेत्रका राजमार्गमा समेत गुड्न थालेका छन् । अझ नेपालमा चार्जिङ स्टेसनको कमी रहेको गुनासो समेत छ भने विद्युतीय सवारी साधनमा चार्ज गर्न समेत लामो समय लाग्ने गरेको छ ।
यस्तो अवस्थामा यो प्रविधि नेपालमा अब अहिले आउँछ भन्ने चासो देखिएको छ ।
_GpjlqrJ6aM.jpg)
नेपालमा यो प्रविधि कहिले आउँछ भन्ने प्रश्नमा बीवाईडी एसिया प्यासिफिकका महाप्रबन्धक लिउ सिएलियाले नेपालमा पनि यो प्रविधि चाँडै पुग्ने संकेत गरे । उनले चीनमा पूर्वाधार विस्तारसँगै दक्षिण एसियाली बजारमा समेत फ्लास चार्जिङ विस्तार गर्ने कम्पनीको योजना रहेको बताए ।
उनले भने, ‘हामी हाम्रो फास्ट चार्जिङ प्रविधिलाई विदेशी बजारहरूमा क्रमिक रूपमा विस्तार गर्दै लैजाने योजनामा छौँ, तर यो वर्षको हाम्रो मुख्य ध्यान र प्राथमिकता भने चीनको आन्तरिक बजारमै केन्द्रित रहनेछ । बिस्तारै यसलाई अन्य बजारहरूमा पनि लिएर जानेछौँ ।’
बीवाईडीको नयाँ ऊर्जा भण्डारणसहितको प्रणाली नेपाल भित्रियो भने लामो दुरीको यात्रा, सार्वजनिक यातायात र व्यावसायिक सवारी क्षेत्रमा ईभीको प्रयोगमा थप विस्तार हुने देखिन्छ ।
बीवाईडीको ‘फ्लास चार्जिङ’ र ‘दोस्रो पुस्ताको ब्लेड ब्याट्री’ को यो प्रविधि विश्वव्यापी रूपमा सामान्य बन्दै गयो भने पेट्रोल र डिजेल गाडीको प्रयोगलाई न्यूनीकरण गर्नसक्छ । नेपालका लागि पनि यो प्रविधि हरित अर्थतन्त्रतर्फको सबैभन्दा भरपर्दो उडान बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण