बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सांसद केसीले उठाए प्रधानमन्त्रीको ड्रेसअपदेखि अध्यादेशसम्मका प्रश्न

‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ, अध्यादेशको राजनीति बन्द गर’
बिहीबार, ३१ वैशाख २०८३, १४ : ०५
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • कांग्रेस सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिचेर अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाएका छन्।
  • सांसद केसीले प्रधानमन्त्री बालेन्द्र साहको पहिरन र कार्यशैलीमाथि प्रश्न उठाउँदै नयाँ परम्पराको थालनी भएको हो कि भनी संशय व्यक्त गरेका छन्।
  • उनले गृह मन्त्रालय लामो समयदेखि खाली रहेको विषयमा ध्यानाकर्षण गराउँदै सरकारले संसदीय प्रणालीलाई कमजोर बनाएकोमा आपत्ति जनाएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले स्थापित संसदीय परम्परा मिच्दै नयाँ नजिर बसाल्न खोजेको आरोप लगाएका छन्। 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बोलाइएको संसद बैठक स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरीत भएको दाबी गरेका हुन् । 

सरकारले पुराना नजिरहरूलाई बेवास्ता गर्दै संसदलाई छल्ने प्रयास गरेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए। बैठकमा सम्बोधन गर्दै सांसद केसीले प्रधानमन्त्री बालेन्द्र साहको पहिरन र कार्यशैलीलाई लिएर समेत प्रश्न उठाएका छन्। 

उनले नेपालको इतिहासमा अहिलेसम्म नदेखिएको 'ड्रेसअप' र शैलीमार्फत नयाँ परम्परा थालनी गर्न खोजिएको हो कि भन्ने संशय व्यक्त गरे। उनले भने, ‘सरकार एकातिर पुरानो परम्परा तोड्दै नयाँ जग बसाल्न उद्यत देखिन्छ। बोलाइएको संसद स्थगित गरेर चाङ लगाएर अध्यादेश ल्याइएको छ। प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा अहिलेसम्म नभएको ड्रेसअप म देख्दैछु। यसमा पनि नयाँ परम्पराको थालनी सुरु भएको हो कि, नेपालको इतिहासमा नयाँ आयाम थप्न खोजिएको हो कि?’

सांसद केसीले लामो समयदेखि गृह मन्त्रालय खाली रहेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। संसदले बनाएको प्रधानमन्त्री अनिवार्य रूपमा संसदप्रति नै उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको तर्क छ। 

सरकारले संसदीय प्रणालीलाई कमजोर बनाउँदै स्वेच्छाचारी ढंगले अध्यादेशहरू ल्याएकोमा आपत्ति जनाउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न आग्रह गरे। प्रधानमन्त्रीको क्रियाकलाप र सरकारका पछिल्ला निर्णयहरूले संसदीय गरिमामा आँच पुर्याउन सक्ने भन्दै उनले सजग गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप