डाँडापारि पुर्याइएका सुकुमबासी : ‘हामी कहिलेसम्म सेल्टरमा थुनिएर बस्ने ?’
बनेपा । वैशाख २४ गतेको साँझ तीनवटा गाडी बनेपाको रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए, ११० जना सुकुमबासी । गैरीधारा, गैरीगाउँ, सिनामङ्गल, वंशीघाट, जडिबुटी, बालाजु लगायत स्थानका सुकुमबासीहरूलाई नाम इन्ट्री गरेपछि तालिम केन्द्रको भवनमा पुर्याइयो ।
सुकुमबासीहरुलाई ‘आफू कहाँ जाँदैछु, कति दिनका लागि जाँदैछु’ भन्ने अत्तोपत्तो समेत थिएन । काभ्रेका प्रमुख जिल्ला अधिकारीको फोन र सहरी विकास मन्त्रालयको काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीको आदेशमा उनीहरु सिधै बनेपा पुर्याइएका थिए । रेडक्रसको तालिम केन्द्रमा राखिएको १० दिनसम्म पनि सरकारका कुनै प्रतिनिधिहरू फर्केर गएनन् । सुकुमबासीहरुको अवस्था र व्यस्थापनका लागि सरकारी तवरबाट जति चासो र चिन्ता हुनुपर्ने हो, त्यो देखिएन ।
२७ परिवारका ११० जना सुकुमबासीको एक्लै रेखदेखमा छन्, रेडक्रसको तालिम केन्द्रका चौकीदार विष्णुप्रसाद आचार्य । उनी बिहान ५ बजेदेखि अबेर राति २ बजे स्याहारसुसारमा खटिन्छन् । बाँकी रेडक्रसका दुई जना कर्मचारी आवश्यक पर्दा समन्वय गरिहेका छन् । थोरै जनशक्तिले ठुलो संख्यामा आएका सुकुमबासीको व्यवस्थापनमा कठिनाइसँगै जटिलता पनि थपिँदै गएको छ । कहिलेसम्म तालिम केन्द्रमा राख्नुपर्ने हो, त्यसको यकिन समेत छैन ।

सुकुमबासीलाई बनेपा ल्याइएको केही दिन स्थानीय क्याटरिङबाट खाना मगाएर खुवाइएको थियो । त्यो प्रक्रिया झन्झटिलो भएपछि रेडक्रसकै क्यान्टिनमा खाना बनाउन थालिएको छ ।
डाँडा कटाएका सुकुमबासीहरुसँग बेखबर सरकार
सुकुमबासी बस्तीमा डोजर चल्दा नेपाल प्रहरी, शसस्त्र प्रहरी, महानगर प्रहरी बलको ठुलो उपस्थिति देखिन्छ । निगरानीका लागि थापाथलीमा नेपाली सेनाको गाडी ओहोरदोहोर गरिरहेको देखिन्थ्यो । मनोहरामा हातहतियारसहित नेपाली सेना सडकमा नै उत्रियो । यी सबै दृश्य हेर्दा यस्तो लाग्थ्यो, यहाँ कुनै युद्ध सुरू हुँदैछ । छद्म भेषमा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु सुटुक्क आउँथे, फोटो खिच्थे, निरीक्षण गरेर जान्थे ।
सुकुमबासी बस्तीमा डोजर चलाउनु नै सबैभन्दा ठुलो जित र सफलता ठानेको सरकारले त्यसपछिका जिम्मेवारीमा उति तदारुकता देखाएको पाइँदैन । सुकुमबासीहरुका बस्तीमा डोजर चल्दा सुरक्षाकर्मीको फौजले घेरिएका थिए, डाँडा कटाएर बनेपा पुर्याइएका तिनै सुकुमबासी अहिले आफू एक्लै र निरीह महसुस गरिरहेका छन् ।

बालबालिका, विद्यार्थी, सुत्केरी, बिरामी, वृद्धवृद्धाहरुले अनेकौं समस्यासँग जुधिरहेका छन्, तिनको समस्या सुन्न एक जना सरकारी कर्मचारीहरुको यहाँ उपस्थिति छैन ।
सुकुमबासीलाई उकुसमुकुस
काठमाडौं उपत्यकाबाट डाँडा कटाएर बनेपाको रेडक्रस तालिम केन्द्र पुर्याइएका सुकुमबासीहरु उकुसमुकुसमा छन् । हावा चलिरहने चिसो डाँडामा दिन बिताउन उनीहरुलाई कठिन छ । औषधि र आवश्यक सरसामान किन्न बाहेक बाहिर निस्किन पाइँदैन । ज्याला मजदुरी गरेर गुजारा चलाइरहेकाहरू काममा फर्किन नपाउँदा छटपटीमा छन् । स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरु पढाइ छुटेकोमा सबैभन्दा बढी चिन्तामा छन् ।

बनेपा पुग्दा नौ दिनकी सुत्केरी चाँदनी महतो छटपटीमा थिइन् । न पोषणयुक्त खानेकुरा छ, न साथमा न्यानो लुगा । त्यसमाथि बस्ने बासको स्थायी टुंगो नलाग्दा उनलाई अर्को चिन्ता थपिएको छ । सिनामंगलको सुकुमबासी बस्तीमा डोजर चलेपछि केही दिन गोंगबुको होटलमा उनको बास भयो । अस्थायी बसोबासका लागि बनेपा पुर्याउँदा उनलाई झन् धपेडी भएको छ । ‘हामीलाई मानवीय हिसाबले हेर्नुपर्छ,’ महतोले भनिन् ।
थापाथलीको सुकुमबासी बस्तीमा डोजर चलेपछि उठिबास लागेकी अनिता लामालाई सेल्टरको अनिश्चित बसाइले दिक्क बनाइसक्यो ।

उनी थापाथलीको भीएस निकेतनमा पढ्थिन् । स्कुल भर्ना हुन नपाउँदा कक्षा-७ की विद्यार्थी लामालाई तनाव थपिएको छ । दिनभरि मोबाइल चलाएर, टोलाएर बस्नु उनको दैनिकी बनेको छ ।
सीमित बेड, क्षमता भन्दा बढी सुकुमबासी
बनेपाको रेडक्रस तालिम केन्द्रमा जम्मा ६६ बेड उपलब्ध छन् । ११० जनाको व्यवस्थापनमा अत्यन्त कठिनाइ भइरहेको छ । खानपिन, बसाइ, सरसफाइ लगायत सम्पूर्ण कुराको भार बोकिरहेका छन, रेडक्रसका चौकीदार विष्णुप्रसाद आचार्यले । ‘हामीलाई सोचे भन्दा बढी भार छ,’ आचार्य भन्छन् । यस्तै खानेपानी, फोहोरमैला व्यवस्थापनमा कठिनाइ भइरहेको बताउँछन् रेडक्रसका कपिल कार्की ।

स्थानीय प्रशासनको समन्वयमा काम त भइरहेको छ, तर अस्थायी आवासमा सबै कुरा पूरा गर्न सम्भव नभएको उनी बताउँछन् । बालबालिकाहरूलाई पढ्ने अधिकारबाट वञ्चित गराउन नमिल्ने उनको तर्क छ । ‘स्थायी व्यवस्थापन गर्नुपर्छ,’ उनी भन्छन्, ‘दीर्घ रोगी भएका मानिसहरू छन्, भोलि जे पनि घटना घट्न सक्छ ।’ एकै ठाउँमा बालबालिका, सुत्केरी, बिरामीहरू र वृद्धवृद्धा भएर व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको देखिन्छ ।
रोजीरोटी गुमाउँदा थपिँदैछ तनाव
थापाथलीको सुकुमबासी बस्तीमा बस्दै आएका ५५ वर्षीय रामनाथ महतोले ज्यामी र ढलानको काम गर्थे । मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने महतोले नौ जनाको परिवार पाल्दै आएका थिए । चारवटा छोरी र एउटा छोरालाई स्कुल पढाउँथे । टहरामा डोजर चलेपछि उनको रोजगारी गुम्यो । बनेपाको सेल्टरमा बसिरहेका उनी भविष्यको चिन्ताले पिरोलिएका छन् । ‘न घर छ, न खेत छ, बस्ने ठाउँ त दिनुपर्यो, केही त गर्नुपर्यो नि सरकार ।’ मधेसी लवजमा महतो भन्छन्, ‘बाल बच्चा छ, कहाँ जाने ? कहाँ जानु ? केही व्यवस्था मिलाइदिनुपर्यो ।’

मनोहरामा बस्दै आएकी डल्ली विकले अरूकहाँ काम गरेर छोरालाई पढाइरहेकी थिइन् । अरूको घरमा भाँडा माझेर उनले ५ हजार रुपैयाँ कमाउँथिन् । त्यो पनि गुमेपछि उनी आफ्नो भन्दा बढी छोराको चिन्तामा देखिन्थिन् ।
भन्छिन्, ‘अब स्कुल छुटिहाल्यो, हामी कहाँ बस्ने ? पहिले कोठा भाडा पनि पाएनौँ ।’ डल्ली र रामनाथ जस्तै रोजगारी गुमाएका कैयौं यस्ता पात्र छन्, जसले मजदुरी गरेर परिवारको जीविका चलाउँथे । तर अहिले छैन रोजगारी ।
भिडियो/फोटो : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण