बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थलगत

डाँडापारि पुर्‍याइएका सुकुमबासी : ‘हामी कहिलेसम्म सेल्टरमा थुनिएर बस्ने ?’

बिहीबार, ३१ वैशाख २०८३, २१ : ००
बिहीबार, ३१ वैशाख २०८३

बनेपा । वैशाख २४ गतेको साँझ तीनवटा गाडी बनेपाको रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए, ११० जना सुकुमबासी । गैरीधारा, गैरीगाउँ, सिनामङ्गल, वंशीघाट, जडिबुटी, बालाजु लगायत स्थानका सुकुमबासीहरूलाई नाम इन्ट्री गरेपछि तालिम केन्द्रको भवनमा पुर्‍याइयो । 
  
सुकुमबासीहरुलाई ‘आफू कहाँ जाँदैछु, कति दिनका लागि जाँदैछु’ भन्ने अत्तोपत्तो समेत थिएन । काभ्रेका प्रमुख जिल्ला अधिकारीको फोन र सहरी विकास मन्त्रालयको काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीको आदेशमा उनीहरु सिधै बनेपा पुर्‍याइएका थिए । रेडक्रसको तालिम केन्द्रमा राखिएको १० दिनसम्म पनि सरकारका कुनै प्रतिनिधिहरू फर्केर गएनन् । सुकुमबासीहरुको अवस्था र व्यस्थापनका लागि सरकारी तवरबाट जति चासो र चिन्ता हुनुपर्ने हो, त्यो देखिएन ।

२७ परिवारका ११० जना सुकुमबासीको एक्लै रेखदेखमा छन्, रेडक्रसको तालिम केन्द्रका चौकीदार विष्णुप्रसाद आचार्य । उनी बिहान ५ बजेदेखि अबेर राति २ बजे स्याहारसुसारमा खटिन्छन् । बाँकी रेडक्रसका दुई जना कर्मचारी आवश्यक पर्दा समन्वय गरिहेका छन् । थोरै जनशक्तिले ठुलो संख्यामा आएका सुकुमबासीको व्यवस्थापनमा कठिनाइसँगै जटिलता पनि थपिँदै गएको छ । कहिलेसम्म तालिम केन्द्रमा राख्नुपर्ने हो, त्यसको यकिन समेत छैन । 

Banepa Sukumbasi6

सुकुमबासीलाई बनेपा ल्याइएको केही दिन स्थानीय क्याटरिङबाट खाना मगाएर खुवाइएको थियो । त्यो प्रक्रिया झन्झटिलो भएपछि रेडक्रसकै क्यान्टिनमा खाना बनाउन थालिएको छ ।

डाँडा कटाएका सुकुमबासीहरुसँग बेखबर सरकार

सुकुमबासी बस्तीमा डोजर चल्दा नेपाल प्रहरी, शसस्त्र प्रहरी, महानगर प्रहरी बलको ठुलो उपस्थिति देखिन्छ । निगरानीका लागि थापाथलीमा नेपाली सेनाको गाडी ओहोरदोहोर गरिरहेको देखिन्थ्यो । मनोहरामा हातहतियारसहित नेपाली सेना सडकमा नै उत्रियो । यी सबै दृश्य हेर्दा यस्तो लाग्थ्यो, यहाँ कुनै युद्ध सुरू हुँदैछ । छद्म भेषमा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु सुटुक्क आउँथे, फोटो खिच्थे, निरीक्षण गरेर जान्थे ।  

सुकुमबासी बस्तीमा डोजर चलाउनु नै सबैभन्दा ठुलो जित र सफलता ठानेको सरकारले त्यसपछिका जिम्मेवारीमा उति तदारुकता देखाएको पाइँदैन । सुकुमबासीहरुका बस्तीमा डोजर चल्दा सुरक्षाकर्मीको फौजले घेरिएका थिए, डाँडा कटाएर बनेपा पुर्‍याइएका तिनै सुकुमबासी अहिले आफू एक्लै र निरीह महसुस गरिरहेका छन् ।

बालबालिका, विद्यार्थी, सुत्केरी, बिरामी, वृद्धवृद्धाहरुले अनेकौं समस्यासँग जुधिरहेका छन्, तिनको समस्या सुन्न एक जना सरकारी कर्मचारीहरुको यहाँ उपस्थिति छैन ।

सुकुमबासीलाई उकुसमुकुस

काठमाडौं उपत्यकाबाट डाँडा कटाएर बनेपाको रेडक्रस तालिम केन्द्र पुर्‍याइएका सुकुमबासीहरु उकुसमुकुसमा छन् । हावा चलिरहने चिसो डाँडामा दिन बिताउन उनीहरुलाई कठिन छ । औषधि र आवश्यक सरसामान किन्न बाहेक बाहिर निस्किन पाइँदैन । ज्याला मजदुरी गरेर गुजारा चलाइरहेकाहरू काममा फर्किन नपाउँदा छटपटीमा छन् । स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरु पढाइ छुटेकोमा सबैभन्दा बढी चिन्तामा छन् । 

बनेपा पुग्दा नौ दिनकी सुत्केरी चाँदनी महतो छटपटीमा थिइन् । न पोषणयुक्त खानेकुरा छ, न साथमा न्यानो लुगा । त्यसमाथि बस्ने बासको स्थायी टुंगो नलाग्दा उनलाई अर्को चिन्ता थपिएको छ । सिनामंगलको सुकुमबासी बस्तीमा डोजर चलेपछि केही दिन गोंगबुको होटलमा उनको बास भयो । अस्थायी बसोबासका लागि बनेपा पुर्‍याउँदा उनलाई झन् धपेडी भएको छ । ‘हामीलाई मानवीय हिसाबले हेर्नुपर्छ,’ महतोले भनिन् । 
 
थापाथलीको सुकुमबासी बस्तीमा डोजर चलेपछि उठिबास लागेकी अनिता लामालाई सेल्टरको अनिश्चित बसाइले दिक्क बनाइसक्यो ।

उनी थापाथलीको भीएस निकेतनमा पढ्थिन् । स्कुल भर्ना हुन नपाउँदा कक्षा-७ की विद्यार्थी लामालाई तनाव थपिएको छ । दिनभरि मोबाइल चलाएर, टोलाएर बस्नु उनको दैनिकी बनेको छ । 

सीमित बेड, क्षमता भन्दा बढी सुकुमबासी

बनेपाको रेडक्रस तालिम केन्द्रमा जम्मा ६६ बेड उपलब्ध छन् । ११० जनाको व्यवस्थापनमा अत्यन्त कठिनाइ भइरहेको छ । खानपिन, बसाइ, सरसफाइ लगायत सम्पूर्ण कुराको भार बोकिरहेका छन, रेडक्रसका चौकीदार विष्णुप्रसाद आचार्यले । ‘हामीलाई सोचे भन्दा बढी भार छ,’ आचार्य भन्छन् । यस्तै खानेपानी, फोहोरमैला व्यवस्थापनमा कठिनाइ भइरहेको बताउँछन् रेडक्रसका कपिल कार्की ।

Banepa Sukumbasi3

स्थानीय प्रशासनको समन्वयमा काम त भइरहेको छ, तर अस्थायी आवासमा सबै कुरा पूरा गर्न सम्भव नभएको उनी बताउँछन् । बालबालिकाहरूलाई पढ्ने अधिकारबाट वञ्चित गराउन नमिल्ने उनको तर्क छ । ‘स्थायी व्यवस्थापन गर्नुपर्छ,’ उनी भन्छन्, ‘दीर्घ रोगी भएका मानिसहरू छन्, भोलि जे पनि घटना घट्न सक्छ ।’ एकै ठाउँमा बालबालिका, सुत्केरी, बिरामीहरू र वृद्धवृद्धा भएर व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको देखिन्छ ।

रोजीरोटी गुमाउँदा थपिँदैछ तनाव

थापाथलीको सुकुमबासी बस्तीमा बस्दै आएका ५५ वर्षीय रामनाथ महतोले ज्यामी र ढलानको काम गर्थे । मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने महतोले नौ जनाको परिवार पाल्दै आएका थिए । चारवटा छोरी र एउटा छोरालाई स्कुल पढाउँथे । टहरामा डोजर चलेपछि उनको रोजगारी गुम्यो । बनेपाको सेल्टरमा बसिरहेका उनी भविष्यको चिन्ताले पिरोलिएका छन् । ‘न घर छ, न खेत छ, बस्ने ठाउँ त दिनुपर्‍यो, केही त गर्नुपर्‍यो नि सरकार ।’ मधेसी लवजमा महतो भन्छन्, ‘बाल बच्चा छ, कहाँ जाने ? कहाँ जानु ? केही व्यवस्था मिलाइदिनुपर्‍यो ।’

Banepa Sukumbasi7

मनोहरामा बस्दै आएकी डल्ली विकले अरूकहाँ काम गरेर छोरालाई पढाइरहेकी थिइन् । अरूको घरमा भाँडा माझेर उनले ५ हजार रुपैयाँ कमाउँथिन् । त्यो पनि गुमेपछि उनी आफ्नो भन्दा बढी छोराको चिन्तामा देखिन्थिन् ।

भन्छिन्, ‘अब स्कुल छुटिहाल्यो, हामी कहाँ बस्ने ? पहिले कोठा भाडा पनि पाएनौँ ।’ डल्ली र रामनाथ जस्तै रोजगारी गुमाएका कैयौं यस्ता पात्र छन्, जसले मजदुरी गरेर परिवारको जीविका चलाउँथे । तर अहिले छैन रोजगारी । 

भिडियो/फोटो : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप