बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गण्डकी र मधेसमा कांग्रेसको सदस्यता अद्यावधिक अन्तरक्रिया कार्यक्रम हुँदै

सोमबार, ०४ जेठ २०८३, २० : ५२
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले गण्डकी र मधेस प्रदेशमा सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
  • यसअघि कर्णाली, लुम्बिनी, कोशी र बागमती प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् ।
  • गण्डकी प्रदेशको कार्यक्रम जेठ ८ गते पोखरा र मधेस प्रदेशको कार्यक्रम जेठ ९ गते जनकपुरमा आयोजना गरिनेछ ।

काठमाडौँ। नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित गण्डकी र मधेस प्रदेशमा सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको विशेष उपस्थिति रहने जनाइएको छ ।

यसअघि कर्णाली, लुम्बिनी, कोशी र बागमती प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् भने अब गण्डकी प्रदेशको कार्यक्रम जेठ ८ गते पोखरा (कास्की) मा र मधेस प्रदेशको कार्यक्रम जेठ ९ गते जनकपुर (धनुषा) मा आयोजना गरिनेछ ।

कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जरा अभियानका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति तथा प्रविधि विज्ञहरूको सहभागिता रहने बताइएको छ । साथै कार्यक्रम आयोजना हुने जिल्लाका पालिका सभापतिहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।

नेपाली कांग्रेसले सदस्यता प्रणालीलाई समयानुकूल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित देशव्यापी रूपमा सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रमको मिति र स्थान भने पछि सार्वजनिक गरिने जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप