बागमतीको प्रशासनिक संरचना निर्माण: निर्माणस्थलमा रुख छपान सुरु
सारांश
- बागमती प्रदेश सरकारले सात वर्षपछि हेटौँडामा आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि रुख छपान सुरु गरेको छ ।
- हेटौँडा-१६ र १७ को सामुदायिक वन क्षेत्रमा ३१.२ हेक्टर जग्गामा एकीकृत प्रशासनिक संरचना निर्माण गरिनेछ ।
- भवन निर्माणका लागि ५ हजार २२६ रुख कटान गरिनेछ, जसबापत ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गरिएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रालय तथा प्रशासनिक संरचना एकै परिसरमा निर्माण गर्ने तयारीस्वरुप निर्माणस्थलमा धमाधम रुख छपानको काम भइरहेको छ ।
प्रदेश सरकार गठन भएको सात वर्षपछि बल्ल आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि हेटौँडा–१६ र १७ को सामुदायिक वनको जग्गामा भवन बनाउने अनुमति पाएसँगै रुख कटानका लागि छपान कार्य सुरु गरिएको हो ।
प्रदेश सरकारले हेटौँडामा एकीकृत प्रशासनिक संरचना निर्माणको काम अघि बढाएसँगै डिभिजन वन कार्यालय मकवानपुरले उक्त क्षेत्रमा रहेका रुखको छपान कार्य सुरु गरेको हो । प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवाससमेत एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक भवन निर्माणको तयारी गरेको छ ।
प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१.२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि वन क्षेत्र खाली गर्ने प्रक्रिया अघि बढाएको डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार २०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त क्षेत्र प्रदेश सरकारलाई भोगाधिकारस्वरुप उपलब्ध गराइएको थियो । सो क्षेत्रमध्ये २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्रमा पर्छ भने ३.४५ हेक्टर विद्यालय तथा सार्वजनिक जग्गा रहेको उनले बताए ।
चन्द्रवंशीका अनुसार भवन निर्माणका लागि उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख तथा पोल हटाउन वन विभागले अनुमति दिइसकेको छ । ४/५ दिनभित्र छपानको काम सकिएपछि रुख कटानको काम सुरु गर्ने उनले बताए । रुख कटान गरी सम्बन्धित सामुदायिक वन समितिलाई जिम्मा लगाइने उनको भनाइ छ ।
प्रादेशिक संरचना निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार संरचना निर्माणका क्रममा ५ हजार २४४ वटा रुख काटिनेछन्, जसमा सबैभन्दा बढी २ हजार ३७२ सिसौ र १ हजार ९३७ खोटे सल्लाका रुख छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान छ ।
_1pngcuvvQn.jpg)
संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र बागमती प्रदेश सरकारबिच वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता गत वैशाख २८ मा सम्पन्न भइसकेको चन्द्रवंशीले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार विभागसँग औपचारिक सम्झौता गरेको उनको भनाइ छ ।
उक्त सम्झौता यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रमुख इन्जिनियर चन्द्रदेव भट्ट र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका इन्जिनियर राजन गौतमको रोहवरमा भएको थियो ।
प्रदेश सरकारले भू–उपभोग गर्ने क्षेत्रमा रुख कटानबापत नयाँ बिरुवा रोप्न तथा संरक्षण गर्न आवश्यक रकमसमेत वन विकास कोषमा जम्मा गरिसकेको छ । मन्त्रालयका अनुसार ५ हजार २२६ वटा रुख कटानबापत ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुुसार संघीय सरकारसँगको समन्वयको अधिकांश काम सम्पन्न भएको र अब प्रदेश सरकारका निकायले भूमिका पाएसँगै काम छिटो हुने विश्वास छ ।
प्रदेश सरकारको प्रशासनिक भवन बन्ने स्थान हेटौँडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा पर्छ । २०७६ सालदेखि कानुनी प्रक्रियामा अड्किएको उक्त योजना संघीय मन्त्रिपरिषदको निर्णयपछि कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।
सचिव मरहठ्ठाका अनुसार राष्ट्रिय भवन संहितामा भएको परिवर्तन तथा मन्त्रालयको संख्या घटाइएकाले पुरानो डिजाइनमा केही प्राविधिक परिमार्जन समेत गरिएको छ ।
‘वन विभागसँगको सम्झौता र आवश्यक शुल्क जम्मा गर्ने काम पूरा भइसकेको छ,’ उनले भने, ‘प्रक्रियागत कामका कारण केही समय लागेको हो । रुख कटान र जग्गा व्यवस्थापनको कामसँगै संरचना निर्माणको कामले गति लिन्छ ।’
प्रदेश सरकार गठन भएको सात वर्ष बितिसक्दा पनि आफ्नै स्थायी प्रशासनिक भवन नहुँदा अधिकांश मन्त्रालय साँघुरा सरकारी भवन तथा भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । अब निर्माण हुन लागेको एकीकृत प्रशासनिक संरचनामा मन्त्रालय, सेवा केन्द्र र केही सरकारी निवाससमेत राख्ने योजना बनाइएको छ । आवश्यकता अनुसार केही छुट्टै भवन निर्माण गर्ने गरी डिजाइन अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
उक्त स्थानमा प्रदेशको मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवन, सुरक्षा निकायका लागि कार्यालय, लोकसेवा आयोग, नीति तथा योजना आयोग, बैंक, क्याफेटेरिया र शिशु स्याहार केन्द्रसहित २५ वटा आधुनिक संरचना निर्माण गर्नेगरी ईआईए गरिएको छ ।
प्रदेश सरकारको प्रशासनिक भवन बन्ने स्थान हेटौँडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा पर्छ । २०७६ सालदेखि कानुनी प्रक्रियामा अड्किएको उक्त योजना संघीय मन्त्रिपरिषदको निर्णयपछि कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण