सरकारले हातमा स्वर्गको ठेगाना बोकेको छ, तर पाइला नर्कको बाटोतर्फ चालेको छ : सांसद पोर्तेल
सारांश
- नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन् ।
- उनले उद्योगधन्दामा आगो लगाएर र व्यवसायीलाई त्रसित बनाएर लगानीमैत्री वातावरण बन्न नसक्ने स्पष्ट पारेका हुन् ।
- सांसद पोर्तेलले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्वर्गको ठेगाना उल्लेख गरिएको भए पनि त्यहाँसम्म पुग्ने बाटो कतै नदेखाइएको रोचक टिप्पणी गरे ।
काठमाडौँ । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले वर्तमान सरकारले देशमा कुनै पनि हालतमा लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा भाग लिँदै उनले उद्योगधन्दामा आगो लगाएर र व्यवसायीलाई त्रसित बनाएर लगानीमैत्री वातावरण बन्न नसक्ने स्पष्ट पारेका हुन् ।
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्ने ठुला दाबी गरे पनि व्यवहारमा उद्योगी व्यवसायीलाई सनकको भरमा समातेर थुन्ने काम गरिएकाले निजी क्षेत्रको आत्मविश्वास झन् खस्किएको उनले बताए । छलफलका क्रममा उनले खरानी बनाइएका उद्योगधन्दा र नागरिकको निजी सम्पत्तिको क्षतिपूर्ति सरकारले गर्नुपर्छ कि पर्दैन भन्दै गम्भीर प्रश्न समेत उठाएका छन् ।
सरकारको आर्थिक नीति र वित्तीय सङ्घीयताका बारेमा बजेटको प्राथमिकतामा कुनै स्पष्टता नरहेको उनको भनाइ थियो । सरकारले अर्थतन्त्रको पुनःसंरचना गर्ने दाबी गरे पनि त्यसको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै उनले आलोचना गरे । प्रदेश र स्थानीय तहलाई स्रोत वितरण गर्ने मापदण्ड स्पष्ट नआएको उल्लेख गर्दै स्थानीय तहको राजस्व क्षमता अभिवृद्धि गर्ने विषय सरकारको प्राथमिकतामै नपरेको उनले बताए ।
सरकारको विरोधाभासपूर्ण नीतिमाथि टिप्पणी गर्दै सांसद पोर्तेलले भने, ‘सरकारले अर्थतन्त्रको पुर्नसंरचनाको गर्ने भनेको छ । सरकारको वित्तिय संघियताको मार्गचित्र के हो ? प्रदेश र स्थानीय तहलाई स्रोत वितरणको मापदण्ड के हो ? प्रदेश र स्थानिय तहको राजस्वको क्षमता विकास गर्ने यो सरकारको कार्ययोजनाको प्राथमिकताभित्र पर्छ कि पर्दैन ? सरकारलाई सोध्न चाहन्छु । सरकारले लगानीमैत्री आर्थिक वातावरण तयार गर्ने, निजी क्षेत्रको आत्मविश्वास पुर्नस्थापित गर्ने कुरा गरेको छ । मान्छेहरुले भन्ने गर्छन, खराने ग्याङका सदस्य नै अहिल सत्तामा छन्, ती मान्छेहरुले भनेको कुरा सत्य हो की होईन, मलाई थाहा छैन । नागरिकले प्रश्न गरेपछि प्रश्ट पार्ने जिम्मा सरकारको हो, म त्यतातिर जान चाहन्न । तर यति मात्रै भन्न चाहन्छु, उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैन । उद्योगी व्यवसायीलाई सनकको भरमा समाउँदै थुन्दै गरेर निजि क्षेत्रको आत्मविश्वास पुर्नस्थापित हुँदैन । सरकारलाई सोध्न चाहन्छु खरानी बनाईएका उद्योगधन्दा र नागरिकको निजी सम्पतीको क्षतिपूर्ति गर्ने जिम्मेवारी सरकारको हो की होईन ?’
सांसद पोर्तेलले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा स्वर्गको ठेगाना उल्लेख गरिएको भए पनि त्यहाँसम्म पुग्ने बाटो कतै नदेखाइएको रोचक टिप्पणी गरे । हातमा स्वर्गको ठेगाना बोकेर नर्कको बाटोतर्फ पाइला चाल्ने सरकारको कार्यशैलीले लक्षित ठाउँमा पुग्न नसकिने भन्दै उनले सरकारलाई हावा गफ छाडेर यथार्थपरक नीति ल्याउन आग्रह गरे ।
उनले यो विनियोजन विधेयक संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र, समावेशी विकास, आर्थिक समानता र सामाजिक न्यायका मूल सिद्धान्तहरूसँग कतै पनि मेल नखाने दाबी गरे । साथै, सुशासनका नाममा सरकारले विवेकसम्मत शासनको नयाँ र गलत अभ्यास गरिरहेको टिप्पणी गर्दै गरिब नागरिकको छाप्रोमाथि डोजर चलाएर सरकारले आफ्नो कस्तो खालको विवेकसम्मत शासन प्रस्तुत गर्न खोजेको हो भन्दै संसद्मा आक्रोश व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण