सानेपा बाहिरबाटै चल्न थाल्यो कांग्रेस
सारांश
- कांग्रेसमा विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै विवाद निरुपणका लागि पार्टी कार्यालयमा छलफल हुनुपर्नेमा नेताहरूले छुट्टाछुट्टै सम्पर्क कार्यालय खोलेर गतिविधि बढाएका छन् ।
- वरिष्ठ नेताहरूले विशालनगर, अनामनगर, नक्सालको होटल अरण्य, धोवीघाट र महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका छन् भने केही नेताले आफ्नै निवासमा भेटघाट गरिरहेका छन् ।
- शेरबहादुर देउवा समूहका युवा नेताहरूले पनि अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन् भने डा. प्रकाशशरण महतले भेटघाट र कुराकानीका लागि सम्पर्क कार्यालय खोल्ने तयारी गरिरहेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसमा गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समिति र सभापतिको असहमतिबिच भएको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेपछि सुरु भएको विवाद सुल्झिन सकेको छैन । त्यो विवाद निरुपणका लागि पार्टी कार्यालयमा नेताहरूबिच छलफल चलाउनु पर्नेमा शीर्ष नेतापिच्छे सम्पर्क कार्यालय बनाएर छुट्टाछुट्टै गतिविधि अघि बढाउन थालिएको छ ।
सिनियर नेताहरूले सम्पर्क कार्यालय बनाएपछि पार्टी कार्यालयमा भन्दा सम्पर्क कार्यालयहरूमा नेता–कार्यकर्ताको भिड बढ्न थालेको छ ।
डा. शेखर कोइरालाले लामो समयदेखि विशालनगरमा सम्पर्क कार्यालय बनाएका छन् । त्यहाँ उनले आफ्नो समूहका नेता–कार्याकर्तासहित सभापति गगन थापा, पार्टीका पदाधिकारी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतलाई आवश्यकता अनुसार भेट्ने गर्दै आएका छन् । डा. कोइरालालाई भेट्न सभापति गगन थापा वैशाख २२ गते त्यही सम्पर्क कार्यालयमा पुगेका थिए ।
_RswzT9pdSp.jpg)
सभापति थापाले भेटेकै दिन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि डा. कोइरालालाई भेट्न उनको सम्पर्क कार्यालयमा पुगेका थिए । कोइरालाले आफ्नो समूहको बैठक पनि त्यही कार्यालयमा राख्ने गरेका छन् ।
कांग्रेसमा विशेष महाधिवेशनपछि ३ गुट छन्– एउटा निवर्तमान सभापति शेरबहादुर देउवा गुट, अर्को डा. कोइरालाको गुट र संस्थापन पक्ष ।
संस्थापन पक्षका गतिविधि पार्टी केन्द्रीय कार्यालयमा हुनुपर्ने हो तर केही पदाधिकारीले केन्द्रीय कार्यालयको अलावा आफ्ना सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई भेट्ने गरेका छन् ।
कांग्रेस सभापति थापाले विशेष महाधिवेशन ताका अनामनगरमा सम्पर्क कार्यालय बनाएका थिए । त्यो कार्यालय अहिलेसम्म पनि सञ्चालनमा छ । नेता मनोजमणि आचार्यले त्यो कार्यालयको नेतृत्व गरिरहेका छन् । सभापति थापा कहिलेकाहीँ त्यहाँ पुग्छन् भने केन्द्रीय सदस्य प्रतिमा गौतम, सीता मिजार, लेखनाथ पोखरेललगायतले सोही कार्यालयमा भेटघाट तथा छलफल गरिरहन्छन् ।

केन्द्रीय सदस्य मिजारले अनामनगरमा सम्पर्क कार्यालय रहेको जानकारी दिइन् । सभापति थापाले बन्द गर्न निर्देशन दिए पनि अहिलेसम्म बन्द भने भइनसकेको उनको भनाइ छ । ‘विशेष महाधिवशेनका वेलामा बनाइएको सम्पर्क कार्यालय हो । सभापतिज्यूले बन्द गर्न निर्देशन दिनुभएको थियो । अझै बन्द भइसकेको छैन,’ उनले भनिन् ।
सभापति थापाले नक्सालस्थित अरण्य होटलमा पनि नेता–कार्यकर्तासँग भेटघाट तथा गोप्य छलफल गर्ने गरेका छन् । धेरै कार्यक्रम र भेटघाट पार्टी केन्द्रीय कार्यालय सानेपामा गरे पनि साँझ–बिहान र विशेष भेटघाट भने होटल अरण्यमा गर्ने गरेको थापा निकट स्रोतले जानकारी दियो । त्यो बाहेक थापाले यसअघि काठमाडौँ–४ बाट प्रतिनिधि सभा सदस्य हुँदा विभिन्न स्थानमा खोलेका सम्पर्क कार्यालयसमेत अझै सञ्चालनमा छन् । ती कार्यालय आवश्यकताका आधारमा बन्द गर्ने कि राख्ने भन्नेबारे कुराकानी भइरहेको स्रोतले जानकारी दियो ।
उपसभापति विश्वप्रकाश शर्माले ललितपुरको धोवीघाटमा सम्पर्क कार्यालय राखेका छन् । शर्माका स्वकीय सचिव दिनेश थापा मगरले धोवीघाटमा सम्पर्क कार्यालय रहेको र कहिलेकाहीँ त्यहाँ नेता–कार्यकर्तासँग उपसभापति शर्माले भेटघाट गर्ने गरेको जानकारी दिए ।

महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशन अघिसम्म अनामनगरमा सम्पर्क कार्यालय खोलेर भेटघाट गर्ने गरेका थिए । अहिले भने त्यो कार्यालयमा नगएर पार्टी कार्यालयमै उनले नेता–कार्यकर्तासँग भेटघाट गर्ने गरेका छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता–कार्यकर्तालाई आफ्नै गोल्फुटारस्थित निवासमा भेट्ने र शीर्ष नेताहरूको बैठक राख्ने गरेका छन् । सभापति गगन थापा पनि नेता खड्कालाई भेट्न वैशाख ५ गते र २३ गते खड्काको गोल्फुटारस्थित निवासमै पुगेका थिए ।
_UELrY3TKqg.jpg)
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको समितिलाई आधिकारिकता दिएपछि १४औँ महाधिवेशनबाट आएको र विशेष महाधिवेशनपछि निवर्तमान बनेको केन्द्रीय समितिको बैठक निवर्तमान कार्यवाहक सभापति खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा राखेका थिए ।
विशेष महाधिवेशनपछि पार्टी संस्थापनबाट बाहिरिएका शेरबहादुर देउवा समूहका युवा नेताहरूले मंगलबारबाट मात्रै अनामगरमा सम्पर्क कार्यालय खोलेका छन् । युवा नेताहरूले नेता–कार्यकर्ता भेट्नका लागि अनामनगरमा सम्पर्क कार्यालय बनाएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘अनामनगरमा ३÷४ दिन अगाडि सम्पर्क कार्यालय खोलेका छौँ । त्यहाँ शीर्ष नेताहरू आउनुहुन्न । हामी साथीभाइबिच भेटघाट गर्छौं,’ खतिवडाले रातोपाटीसँग भनिन् ।

निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले साथीभाइबिच भेटघाट र कुराकानी गर्ने स्थान नभएपछि एउटा सम्पर्क कार्यालय बनाउन घर खोजी गरिरहेको जानकारी दिए । ‘अरु कुनै उद्देश्य होइन । भेटघाट तथा कुराकानी गर्ने स्थान भएन । नेताहरूका घरमै कति बस्ने र भेटघाट गर्ने,’ डा. महतले रातोपाटीसँग भने, ‘त्यसका लागि एउटा भवन खोजिरहेका छौँ । अन्य कुनै कारणले होइन ।’
नयाँ पार्टी निर्माण गर्ने कसरतका लागि कार्यालय बनाउन भवन खोजी भइरहेको कुरा आइरहेको छ नि भन्ने प्रश्नमा डा. महतले भने, ‘त्यो हल्लामात्र हो । हामी विशेष महाधिवेशनमा बाहिर रहेका साथीहरूले पनि १५औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन्छ भन्ने अनुभूति गराउने संयन्त्र निर्माण गरेर महाधिवेशन गरौँ भनिरहेका छौँ ।’
त्यो बाहेक पूर्वमहामन्त्री प्रकाशमान सिंहले चाक्सीबारीस्थित निवासमा, पूर्वउपसभापति विमलेन्द्र निधिले मध्यबानेश्वरस्थित निवासमा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विशालनगरस्थित आफ्नै निवासमा भेटघाट गर्ने गरेका छन् ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाराजगञ्जमा सम्पर्क कार्यालय राखेका छन् । कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकै पालादेखिको सम्पर्क कार्यालय अहिले पनि सञ्चालनमा छ । त्यहाँ डा. शशांक कोइरालाले नेता–कार्यकर्तासँग भेटघाट गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण