पर्यटन मन्त्रालयको बजेट प्रस्ताव : देवभूमि नेपालदेखि वेडिङ सिटीसम्मका योजना
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट अभावका बीच देवभूमि नेपाल, योग/आयुर्वेद पर्यटन, हिल स्टेसन र वेडिङ सिटी जस्ता महत्वाकांक्षी योजना अगाडि सारेको छ ।
- मन्त्रालयलाई प्राप्त १ अर्ब २७ करोड बजेटले चालु आर्थिक वर्षको १ अर्ब ८९ करोडको पुरानो दायित्व भुक्तानी गर्नसमेत अपुग हुने अवस्था छ ।
- नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना, युरोपमा सिधा हवाई उडान, भैरहवा विमानस्थल सञ्चालन, जनकपुरलाई वेडिङ सिटीका रूपमा विकास गर्ने जस्ता योजना पनि प्रस्तुत गरिएका छन् ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट अभावकाबिच विभिन्न महत्त्वाकाङ्क्षी योजनाहरू अगाडि सारेको छ ।
मन्त्रालयलाई प्राप्त बजेट प्रस्ताव अत्यन्तै न्यून भएकाले चालु आर्थिक वर्षकै दायित्व भुक्तानी गर्न धौ–धौ पर्ने अवस्था रहे पनि मन्त्रालयले पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन सुधारका लागि नयाँ कार्यक्रमहरू प्रस्ताव गरेको हो।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र सहसचिवले बजेट तर्जुमा सम्बन्धमा जानकारी गराउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान) को पुनर्संरचनादेखि पर्यटनलाई जीवित सङ्ग्रहालय र वेडिङ सिटीको रूपमा विकास गर्नेसम्मका योजना प्रस्तुत गरेका छन्।
१ अर्ब ८९ करोडको पुरानो दायित्व, नयाँ बजेट १ अर्ब २७ करोड मात्रै
मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि मन्त्रालयले जम्मा १ अर्ब २७ करोड रुपैयाँ मात्रै बजेट प्राप्त गरेको छ।
यो बजेटले चालु आर्थिक वर्षमा सिर्जना भइसकेका आयोजनाको भुक्तानी गर्नसमेत अपुग हुने मन्त्रालयले जनाएको छ । पर्यटन र पुरातत्त्व विभागका लागि मात्र करिब ९० करोड रुपैयाँ चालु दायित्व भुक्तानी गर्नुपर्ने अवस्था छ ।
यसका अतिरिक्त मन्त्रालयमा विगतको ठुलो दायित्व टाउको दुखाइको विषय बनेको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म सङ्घ र स्थानीय तहको साझेदारीमा सञ्चालित तर सम्पन्न हुन नसकेका आयोजनाहरूको करिब १ अर्ब ८९ करोड रुपैयाँ दायित्व सिर्जना भएको छ । स्थानीय तहले काम सम्पन्न गरेर भुक्तानी मागे पनि सङ्घीय सरकारसँग यसको बजेट शीर्षक र विनियोजन नै नभएकाले समस्या उत्पन्न भएको मन्त्रालयले संसदीय समितिलाई जानकारी गराएको छ।
पर्यटन बढाउन नागरिक उड्डयन क्षेत्रमा संरचनागत सुधारलाई पहिलो सर्त बनाइएको छ । यसअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रूपमा अलग–अलग बनाउने (टुक्र्याउने) मस्यौदा तयार गरी कानुन मन्त्रालयमा पठाइएको सचिव निरौलाले जानकारी दिए।
साथै, युरोपमा सिधा हवाई उडान (एयर कनेक्टिभिटी) जोड्ने र भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न आकर्षक सहुलियतसहितका नीति अवलम्बन गरिने मन्त्रालयको योजना छ ।
देवभूमि नेपाल अभियान र योग/आयुर्वेद पर्यटन
मन्त्रालयले नेपालको सांस्कृतिक पक्षलाई उजागर गर्न देवभूमि नेपाल नामक राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्ताव स्वीकार गर्दै अप्रिल १५ लाई अन्तर्राष्ट्रिय योग/ध्यान दिवसको रूपमा मनाउन स्वीकृति दिएको र नेपाललाई योग, ध्यान र प्राणायामको उद्गम स्थलका रूपमा विश्वभर चिनाउने मन्त्रालयको योजना छ ।
यसैगरी, सन् २०२७ लाई आयुर्वेद पर्यटन वर्षका रूपमा मनाउन नेपाल सरकारले आरोग्य पर्यटन रणनीति स्वीकृत गरिसकेको छ । पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई जीवित सङ्ग्रहालयको अवधारणामा अगाडि बढाउँदै दलित होमस्टेको अवधारणासमेत ल्याइएको छ ।
सात प्रदेशमा हिल स्टेसनदेखि जनकपुर वेडिङ सिटीसम्म
पर्यटकको बसाइँ लम्ब्याउन र खर्च बढाउन मन्त्रालयले ग्रेट हिमालयन ट्रेललाई फ्ल्यागसिप प्रोग्रामका रूपमा निरन्तरता दिने भएको छ।
१. ७ प्रदेश, ७ गन्तव्य: सातै प्रदेशका उपयुक्त स्थानमा भारतीय पर्यटक लक्षित हिल स्टेसन र नयाँ गन्तव्य विकास गर्ने ।
२. वेडिङ सिटीः जनकपुरधामलाई विवाह गन्तव्य (वेडिङ सिटी) का रूपमा विकास गर्ने र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने ।
३. नयाँ ट्रेल र गन्तव्य: बागमती र गण्डकीमा पर्यटकको चाप बढी भएकाले कोसी, मधेस, कर्णाली र सुदूरपश्चिममा नयाँ गन्तव्य खोज्ने । कर्णालीमा मुगु–रारा–खप्तड सर्किट, चितवनमा बटरफ्लाइ पुतली बगैँचा, पञ्चासेमा अर्किड ट्रेक, महाभारत कल्चरल ट्रेल, कान्तिपुर ट्रेल र चेपाङ ट्रेल निर्माण गर्ने ।
४. धार्मिक सर्किटः बुद्ध र हिन्दु धर्मावलम्बीका मुख्य स्थलहरू जोड्ने गरी अलग–अलग र मिश्रित रिलिजियस सर्किट निर्माण गर्ने । पशुपतिनाथ, लुम्बिनी र जनकपुरधामको प्रवर्द्धनलाई तीव्रता दिने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण