शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बजेटको तयारी

बजेटको बारेमा पूर्वअर्थमन्त्रीहरूले के–के दिए सुझाव ?

बिहीबार, ०७ जेठ २०८३, १८ : १६
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।
  • पूर्व अर्थमन्त्रीहरूले बजेटको आकार, राजश्वको लक्ष्य, अनावश्यक खर्च कटौती, पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल बढाउने विषयमा महत्त्वपूर्ण सुझावहरू दिएका छन् ।
  • कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले वर्तमान अर्थमन्त्री डा. वाग्ले अर्थतन्त्र बुझेको व्यक्ति भएको र अनुकूल राजनीतिक वातावरणसमेत रहेकाले यो बजेटमार्फत अर्थतन्त्रमा देखिएको शिथिलता चिर्दै संरचनात्मक सुधारमा जानुपर्नेमा जोड दिएका थिए ।

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटका लागि पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।

बिहीबार एक विशेष कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूलाई एकै ठाउँमा राखेर उनीहरूको अनुभव र नयाँ बजेटका प्राथमिकताहरूका विषयमा छलफल गरेका हुन् ।

सुझाव सङ्कलन कार्यक्रमको सुरुवात गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्व मन्त्रीहरूका राम्रा अनुभव र कार्यक्रमलाई नयाँ बजेटमा अनुशरण गर्ने प्रतिबद्धता जनाए।

‘हामी सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउने तयारीमा छौँ,’ डा. वाग्लेले भने, ‘राजनीतिक परिस्थिति जस्तो भए पनि विगतमा यहाँहरू सबैको उद्देश्य देश र जनताका लागि राम्रो गर्ने नै थियो । हाम्रा अग्रजले देखाएको बाटो र राम्रा कामको अनुशरण गर्दै यही व्यवस्थाबाट समृद्धि हासिल गर्ने दिशामा हामी अघि बढ्नेछौँ ।’

छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटको आकार, राजश्वको लक्ष्य, अनावश्यक खर्च कटौती, पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल बढाउने विषयमा महत्त्वपूर्ण सुझावहरू दिएका छन् ।

कुन पूर्व अर्थमन्त्रीले के दिए सुझाव ?

छक्का हान्नतिर नलागोस्– डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणमा राजनीतिले ‘छक्का हान्न खोज्ने’ भन्दै अर्थमन्त्रीलाई बजेटको सीमा भित्रै बस्न सुझाव दिए । उनले राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्र राख्न र साढे २० खर्बको बजेट बनाएर १६/१७ खर्ब मात्र खर्च गर्ने यथार्थपरक लक्ष्य लिन आग्रह गरे । 

आयकरको तल्लो स्ल्याब नचलाउन, मूल्य अभिवृद्धि कर (भ्याट) को दुई दरमा नजान र मुलुकलाई ’ग्रे लिस्ट’बाट निकाल्न कूटनीतिक पहल गर्न उनले सल्लाह दिए ।

हुनेखाने वर्गको वृद्धभत्ता काटौँ– डा. महत

त्यस्तै, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत महतले अर्थमन्त्रीलाई आँटिलो निर्णय गर्न सुझाव दिँदै हुनेखाने वर्गलाई सामाजिक सुरक्षा भत्ता नदिन र नचाहिने संरचना हटाउन आग्रह गरे । आफूले सक्न नसकेको भन्दै उनले नेपाल एयरलाइन्सलाई निजीकरणको मोडलमा लैजान वाग्लेलाई सुझाए । 

त्यस्तै, ५ अर्बभन्दा माथिका ठुला ठेक्कामा सीमित व्यक्तिको मिलेमतो हुने भन्दै त्यस्ता ठेक्का टुक्र्याएर दिन र अति आवश्यक बाहेकका वैदेशिक ऋण घटाउन उनको सुझाव थियो ।

ढुंगागिटी बेच्ने आँट गर्नुपर्छ– पौडेल

अर्का पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल वर्तमान सरकारसँग बलियो जनमत रहेकाले वाचा पत्र पूर्ण रूपमा परिपालन हुने गरी बजेट ल्याउन पौडेलले सुझाव दिए । उनले स्रोतको भन्दा खर्चको अनुमान गरेर बजेट बनाउने उल्टो परम्परा सच्याउन आग्रह गरे । 

विगतमा खानी र ढुङ्गागिट्टी बेच्ने कुरा गर्दा आफूले चुटाइ खानुपरेको स्मरण गर्दै उनले खानी विभागले पहिचान गरेका खानी उत्खनन गरी बेच्ने आँट गर्न र बुढीगण्डकी जस्ता गेम चेन्जर आयोजनाको काम तत्काल थाल्न सुझाए ।

सरकारी खर्चमा निर्मम कटौती गरोस्– शर्मा

पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीतिक सङ्कल्प पूरा गर्ने दस्ताबेजको रूपमा अर्थ्याउँदै शर्माले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिए । हाइ अल्टिच्युड खेल पूर्वाधार र खानी उत्खननमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । 

स्वदेशी कच्चा पदार्थबाटै रासायनिक मल कारखाना खोल्न सकिने भन्दै उनले तरकारीमा आत्मनिर्भर बन्ने नीति र ‘पढ्दै कमाउँदै’ वा १२ कक्षा पास गर्दा सीपसहितको जनशक्ति निस्कने कार्यक्रम ल्याउन आग्रह गरे । यद्यपि, औषधि उद्योग भने सरकारले नै चलाउनुपर्ने उनको तर्क थियो।

राष्ट्रिय गौरव  आयोजनाको सङ्ख्या घटाऔँ– पाण्डे

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरवका आयोजना ४/५ वटा मात्रै बनाउन र अनावश्यक ठुला आयोजना घटाउन सुझाव दिए । मध्यपहाडी लोकमार्ग लगायतका सडकमा भन्दा अब पहाड छेडेर सुरुङ मार्ग बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो। 

उनले जग्गालाई कृषि, उद्योग, आवास र व्यवसाय गरी वर्गीकरण गर्न, जीर्ण सरकारी उद्योग नचलाउन र कर्मचारीको सङ्ख्या २० प्रतिशतले कटौती गर्ने विषयमा सोच्न सुझाव दिए ।

नेपाललाई वेडिङ डेस्टिनेसन बनाऔँ– पुन

त्यस्तै, अर्का पूर्व अर्थमन्त्री पुनले पूर्वाधारमा लगानी भए पनि प्रतिफल कमजोर देखिएको भन्दै पर्यटन पूर्वाधारमा जोड दिए । भारतको बढ्दो मध्यमवर्गलाई लक्षित गरी ५०/६० वटा हिलस्टेसन बनाउन र नेपाललाई विवाह (वेडिङ डेस्टिनेसन) गन्तव्यको रूपमा विकास गर्न उनले सुझाए। 

पालिका केन्द्रसम्म बाह्रै महिना चल्ने सडक र ग्रामीण कृषि उपजलाई बजारसम्म ल्याउने वातावरण बनाउनुपर्ने उनको जोड थियो ।

विद्युतमा भ्याट नलगाऔँ– खनाल

पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न, टुक्रे आयोजनामा बजेट नछर्न र विद्युत्मा भ्याट नलगाउन सुझाव दिए ।

वनको झन्झट तत्काल फुकाऔँ– कोइराला

त्यसैगरी, शंकर कोइरालाले विद्युत् व्यापार निजी क्षेत्रका लागि खुला गर्न, आयोजना निर्माणमा देखिएका वनका झन्झट फुकाउन र हेजिङ नीतिलाई अगाडि बढाउन आग्रह गरे । उनले पुराना कपडा उद्योग सरकारले चलाउने कुरा अव्यवहारिक हुन सक्ने तर्फ ध्यानाकर्षण गराए।

डा. प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्र मिलेर जाने वातावरण बनाउन, काम गर्नेलाई प्रोत्साहन र दण्डको नीति लागू गर्न तथा कृषि उपजका लागि भारतीय बजार खोज्दै आर्थिक संवाद अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा पूर्व अर्थमन्त्रीहरूले वर्तमान अर्थमन्त्री डा. वाग्ले अर्थतन्त्र बुझेको व्यक्ति भएको र अनुकूल राजनीतिक वातावरणसमेत रहेकाले यो बजेटमार्फत अर्थतन्त्रमा देखिएको शिथिलता चिर्दै संरचनात्मक सुधारमा जानुपर्नेमा जोड दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप