विजय मल्लको राजकीय प्रज्ञाप्रतिष्ठानमा संलग्नता
सारांश
- विजय मल्लले ०१२ सालदेखि साहित्यिक सङ्गठनमा सक्रिय भई विभिन्न पदमा रहेर काम गरेका थिए ।
- उनलाई ०२६ सालमा श्री ५ महेन्द्रबाट नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सह–सदस्यमा मनोनीत गरिएको थियो ।
- बहुदलीय व्यवस्था आएपछि राजनीतिक कारणले प्राज्ञहरू मनोनीत हुन थालेको र संस्थाको अवस्था खस्केको सन्दर्भमा विजय मल्लले त्यसको प्रत्यक्ष अनुभव गर्न परेन ।
विजय मल्ल साहित्य, राजनीति र सङ्गठनमा बराबरीजसो भिजेका थिए । साहित्यिक सङ्गठनको सिलसिलामा उनी ०१२ सालदेखि आबद्ध थिए । त्यतिबेला उनी नेपाली लेखक सङ्घको सेक्रेटरीमा चुनिएका थिए । ०१३ सालमा स्थापित काव्य प्रतिष्ठानको उनी सचिव भए । अनि ०२२ सालमा उनी नेपाली साहित्य संस्थानको उपाध्यक्षमा चयन भएका थिए । सोही साल देशव्यापी नेपाली साहित्य सेमिनार गरिएको थियो । त्यस सेमिनारमा उनले सचिवको कार्यभार सम्हालेका थिए ।
श्री ५ महेन्द्रबाट विजय मल्ल ०२६ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सह–सदस्यमा मनोनीत भएका थिए । महेन्द्रकालीन युगमा सुयोग्य प्रतिभालाई पनि जरैदेखि थप दक्ष बनाउने व्यावहारिक तरिका अपनाइएको हुन्थ्यो । योग्यता पुगेकाहरूलाई पनि सुरुमा सानै पदमा राखेर सिकाइन्थ्यो । अनि सिक्नेहरू माथि–माथि नै जान्थे र उनीहरू आफ्ना काममा सफलै पनि हुन्थे ।
प्राज्ञिक जगत् मात्र होइन त्यतिखेर राजनीतिमा पनि त्यस्तै कसरत गरिएको हुन्थ्यो । उदाहरणका लागि भन्ने हो भने प्रायः राजनीतिज्ञहरू सहायक मन्त्री नभई राज्यमन्त्री र मन्त्री बन्दैन थिए । अनि मन्त्री बनिसकेकाहरू नै प्रधानमन्त्रीका लागि योग्य हुन सक्ने सामान्य किसिमको मापदण्ड रहेको थियो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहप्राज्ञमा मनोनीत हुँदा मल्लले पैँतालिस वर्ष टेकेका थिए । त्यो पदमा राजाको सिन्दूर पाएर उनले हर्षबढाइँ गरेका थिए । त्यस ठाउँको सदस्य या फूल प्राज्ञ हुन धेरै ठूलो तपस्या चाहिन्छ भन्ने कुरा उनले बुझेकै थिए । पञ्चायती व्यवस्थामा त्यस्तै मान्यताको विकास भएको पनि थियो । राजकीय प्रज्ञाप्रतिष्ठानको गठनको कुरा गर्ने हो भने राजा नैै कुलपति हुन्थे ।
अनि उपकुलपति पनि ख्यातिप्राप्त साहित्यकारमध्येबाटै मनोनीत हुन्थे । खास गरेर ०४६ सालअघिसम्म पनि प्राज्ञहरू उमेर खाएका विशिष्ट स्रष्टाहरूबाटै खोजिन्थ्यो । त्यति बेला दलका खुर, दास र झोलेहरू प्राज्ञमा पुग्दैन थिए । तर राजाबाट काङ्ग्रेस र कम्युनिस्टहरू पनि प्राज्ञमा मनोनीत हुन्थे । अनि त्यहाँभित्र कुनै पनि प्रकारको राजनीतिक कसिङ्गर छिर्न दिइँदैन थियो ।
त्रिभुवन विश्वविद्यालय पनि त्यस्तै प्रकारको पवित्र रूपले परिचालित थियो । जानिफकारहरू भन्थे– ‘त्यति बेला नेपालको शिक्षा प्रणालीलाई विदेशीले पनि प्रशंसा गरेका हुन्थे ।’
नेपाली साहित्यका महारथी विजय मल्लले नेपाली र नेवारी साहित्यको श्रविृद्धिका लागि आफ्नो जीवन नै अर्पण गरेका थिए । उनको त्याग, तपस्या र योगदानका कारण उनी ०२६ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्रवेश भएका थिए । सहप्राज्ञमा रहेर पाँच वर्ष काम गरेपछि मात्र उनले कुशलता हाँसिल गरेको ठहर भएको थियो । त्यसपछि उनी ०३१ सालमा राजा वीरेन्द्रबाट सदस्यमा मनोनीत भएका थिए ।
उनका सहकर्मी अर्थात् उनीसितै ०२६ सालमा सहप्राज्ञ भएका श्यामदास वैष्णवका अनुसार ‘विजय मल्लजस्ता प्रतिभा फूल प्राज्ञ हुनु हाम्रो भाषासाहित्यकै इज्जत हो ।’ हो, त्यति बेला उनको मनोनयनको सर्वत्र जय मनाइएको थियो ।
विजय मल्लको कामप्रतिको समर्पण, साहित्यप्रतिको निष्ठा र स्तरीय लेखनका कारण ०३६ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य सचिवमा मनोनीत भएका थिए । साथै ०४१ सालमा पनि राजाबाटै उनले सोही पदमा निरन्तरता पाएका थिए । उनको कुशलताकै कारण श्री ५ बाट उनी ०४६ सालको आरम्भमै उपकुलपतिको गौरवमय पदमा मनोनीत भएका थिए । तर सोही सालमा बहुदलीयता आएकाले उनी त्यो पदमा एक वर्षजति मात्र बस्न पाए ।
त्यति बेला राजाका मनोनीत प्राज्ञलाई बेइज्जत गर्ने, कालोमोसो दल्ने र घेराउ गरेर नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट नै निमोठेर फाल्ने एउटा सशक्त साहित्यिक जमातको स्थापना नै गरिएको थियो । त्यसैले प्रज्ञाप्रतिष्ठानमा मौजुदा प्राज्ञहरूको पनि घोरै अपमान गरिएको थियो । नेपाली साहित्यका विभूतितुल्य अर्थात् कुलपति माधवप्रसाद घिमिरे, उपकुलपति विजय मल्ल र नयराज पन्तदेखि चूडामणि बन्धुजस्ता सदस्यलाई पनि बहुदलीय जुलुसले घेरेर राजीनामा दिन बाध्य पारेको थियो ।
०४६ सालमा बहुदलीय प्रणाली भित्रिएपछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा दलबलबाटै प्राज्ञहरू मनोनीत हुन थाले । उपकुलपति ईश्वर बराललगायत ईश्वरवल्लभ, वैरागी काइँलाजस्ता केही सदस्य झुक्किएरै भएपनि, नातापाताका कारणले भएपनि र राजनीतिकै रङले रङ्गिएका भएपनि उनीहरू होनहार, स्तरीय र अब्बल दर्जाका स्रष्टाका रूपमा पुजिन्थे । तर त्यसपछिको गठनमा क्रमशः त्यस संस्थाका पदाधिकारी र प्राज्ञमा गन्धेझारहरूको उपस्थिति हुन थालेको थियो ।
गणतन्त्र आएपछि भने नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको नाउँ नै मेटेर त्यसलाई नेपाल प्रज्ञाप्रतिष्ठान बनाइएको थियो । अनि त्यो गैरराजनीतिक संस्थाको गठन पनि दलबलबाटै हुन थालेको थियो । भनौँ प्रज्ञालाई दलका कार्यकर्ताको भर्तीकेन्द्रमा रूपान्तर गरिएको थियो । त्यसैले वाङ्मयीसेवीहरूले भन्न थालेका थिए– ‘वाङ्मयको आस्थावान् त्यसै मन्दिरलाई घिनलाग्दो, गह्नाउने र सिनो बनाउन थालियो ।’ वास्तवमा दलीय भागबण्डाका कारण त्यो ठाउँ जुठेल्नाको तुलसीमा रूपान्तर हुन पुग्यो । यति हो त्यो विरूप अवस्था विजय मल्लले चाहिँ देख्नु परेन ।
विजय मल्लले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा रहेर धेरै काम गरे । उनले त्यहाँको रङ्गमञ्चमा नाटकको विकास गर्न अविरल परिश्रम गरेका थिए । शताब्दी पुरुष सत्यमोहन जोशीको साथ पाएर उनी सफल पनि भएका थिए । उनी त्यहीँ बसेर देशदेशान्तरको अवस्थालाई समेत समेटेर नेपाली भाषाको उत्थानमा लागिरहे । खास गरेर कविता, कथा, उपन्यास, नाटक आदि विधालाई उचाइ दिन उनले खुबै पहल गरे । त्यति मात्र होइन, नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि पनि उनले एकोहोरो काम गरिरहे ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा मल्लको कामबाट सबै जना खुसी थिए । उनकी चेली शकुन्तला शर्माका अनुसार मल्ल सबै जनासित सम व्यवहार गर्थे । कर्मचारी, पदाधिकारी र कलाकार उनको व्यक्तिगत व्यवहारमा बराबरी हुन्थे । अनि नारायणदेवी प्रधानले पनि मल्ललाई कर्मचारीका लागि बुबासरह भएको बताउन छाडिनन् । उनले लेखेकी पनि छिन्, ‘उहाँ हाम्रो प्रमुख हाकिम भए पनि हामीलाई समान एवं मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । उहाँबाट कुनै हस्तक्षेप हुन्नथ्यो । उहाँ सदस्यसचिव वा उपकुलपति जे भए पनि हामीले उहाँबाट छोराछोरीको झँै स्नेह पाउँथ्यौँ ।’
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मल्लको कामको शैलीबारे कुलपति लैनसिंह बाङ्देलले नै भनेका थिए, ‘विजय मल्लले तर्क मात्र गर्दैन थिए । गरे भने हत्तपत्त चुप लाग्दैनथे । अरूलाई चित्त बुझाएर तार्किक र बौद्धिक स्तरीयता कायम गरेर मात्र अरूलाई जित्ने उनको स्वभाव थियो । उनी आफ्नो अडानमा बस्थे । कहिलेकाहीँ उनको भुल्ने बानी थियो । सबैसित मिल्ने र कुनै पनि समस्या सहज रूपले समाधान गर्ने उनीमा खुबी थियो । यो उनको विशेषता नै थियो र त्यस्तो गुण हामीहरूमा थिएन । प्रज्ञा प्रतिष्ठानसम्बन्धी अन्य बाहिरी कामहरू परेमा उनी सजिलैसँग पूरा गरेरै आउँथे । सैद्धान्तिक विचार र कार्यशैलीमा मसँग मिल्ने भएर हो कि मैले उनीबाट ठूलो सहयोग पाएको थिएँ, जुन कुरा म कहिल्यै बिर्सन सक्तिनँ ।’
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा रहेर विजय मल्लले आफ्नो बुताअनुसारका भव्य–भव्य कार्यसम्पादन गरेका थिए । पदीय जिम्मेवारी बहनमा उनले गरेका कामबारे अर्का अमर प्राज्ञ प्रा.डा.चूडामणि बन्धुले भने, ‘विजय दाइले विद्वान्हरूको कदर गर्न जान्नु भएको थियो । प्रज्ञाभित्र मात्र नभएर बाहिरका स्रष्टासित पनि उहाँले आत्मीयता गाँस्नु हुन्थ्यो । त्यसैले त्यहाँ असजिला कामहरू पनि सहज रूपमा सम्पादन हुन्थे ।’
सूर्यविक्रम ज्ञवालीदेखि लैनसिंह बाङ्देलसम्मले विजय मल्लको लेखन र कामको चर्चा गरिरहन्थे । मल्लको अहोरात्र चिन्तन नै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको संस्था बनाउने थियो । त्यस संस्थाप्रति उनको मन, वचन र कर्म रोपिएको थियो । त्यसैले त्यो ठाउँ छोडेर घर फर्केका दिन उनले साह्रै नमज्जा मानेका थिए ।
मेरो प्रश्नमा उनले भनेका थिए, ‘मेरो जीवनको चिरस्मरणीय दुःखद घटनामध्ये मलाई अनाहक प्रज्ञाबाट जबरजस्ती निकालिएको दिन नै हो ।’ त्यस बेलाको घटनालाई उनले कहिले बिर्सन सकेनन् । अनि उनी भनिरहन्थे, ‘त्यस्तो पनि प्रजातन्त्र हुन्छ र !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण