मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाली पत्रकारलाई घुस दिन खोजेको भन्ने हल्ला निराधार: चिनियाँ दूतावास

आइतबार, १० जेठ २०८३, २३ : ०१
आइतबार, १० जेठ २०८३

सारांश

  • नेपालस्थित चिनियाँ दूतावासले केही चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेख्न पत्रकारहरूलाई घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्लाको खण्डन गरेको छ ।
  • दूतावासले चीनलाई नियोजित रूपमा बदनाम गर्न खोजिएका यस्ता कार्यको घोर भर्त्सना गर्दै नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त पालना गरेको जनाएको छ ।
  • चीनले यस्ता भ्रामक कार्यमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुन बमोजिम कारबाही गर्न र दुई देशको साझा हितको रक्षाका लागि सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग सुदृढ गर्न तयार रहेको स्पष्ट पारेको छ ।

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले केही चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार लेख्न पत्रकारहरूलाई घुस दिन खोजेको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लाको खण्डन गरेको छ ।

दूतावासका प्रवक्ताले एक प्रश्नको उत्तर दिँदै उक्त हल्लाबाट चीन स्तब्ध भएको र यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताएका छन् । चीनलाई नियोजित रूपमा बदनाम गर्न खोजिएका यस्ता कार्यको दूतावासले घोर भर्त्सना गरेको छ ।

‘चीनले सधैँ अर्को देशको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त पालना गर्दै आएको छ,’ प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका साथै राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविकाको सुधारमा निरन्तर र दृढ समर्थन गर्दै आएका छौँ ।’ 

दूतावासले उक्त हल्लाको बारेमा गम्भीर, गहिरो र विस्तृत अनुसन्धान गर्न नेपालका सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। साथै, यस्ता भ्रामक कार्यमा संलग्न व्यक्तिहरू र त्यसका पछाडि रहेका तत्त्वहरूलाई नेपाली कानुन बमोजिम कडा कारबाही गर्न समेत माग गरिएको छ ।

चीनले दुई देशको साझा हितको रक्षाका लागि नेपालसँग सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग सुदृढ गर्न तयार रहेको समेत स्पष्ट पारेको छ ।

‘तर्क र विवेकले भ्रमको अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ प्रवक्ताले भनेका छन्, ‘हामीलाई विश्वास छ कि सबै नेपाली साथीहरूले सत्य र असत्य छुटाउनुहुनेछ र नेपाल–चीनबिचको परम्परागत मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न हामीसँगै मिलेर काम गर्नुहुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप