बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदालतमा प्रतिकूल बकपत्र गरेपछि सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मङ्गलबार, १२ जेठ २०८३, १५ : ०५
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका तीन जना विरुद्ध आज आरोपपत्र दायर गरेको छ।
  • विशेष अदालतमा उपस्थित भई बयान फेरेको पुष्टि भएपछि आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो।
  • अनुसन्धानका क्रममा भुक्तानी प्रक्रियामा सहजीकरणका लागि प्रतिवादी विप्लव पोख्रेलले आर.एस.वि. मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ गरी जम्मा ५६ हजार ३५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको पुष्टि भएको थियो।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका तीन जना विरुद्ध आज आरोपपत्र दायर गरेको छ। 

अदालतमा उपस्थित भई बयान फेरेको पुष्टि भएपछि आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो। आरोपपत्र दायर गरिएकाहरूमा विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठ रहेका छन्।

विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२-CR-०१२० मा वादी नेपाल सरकार र प्रतिवादी ढुण्डिराज दाहाल भएको घुस/रिसवत मुद्दामा उनीहरू सरकारी साक्षीका रूपमा रहेका थिए। अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई उनीहरूलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो। तर, उनीहरूले विशेष अदालत, काठमाडौँमा उपस्थित भई गत २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेका थिए।

अनुसन्धानका क्रममा भुक्तानी प्रक्रियामा सहजीकरणका लागि प्रतिवादी विप्लव पोख्रेलले आर.एस.वि. मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ गरी जम्मा ५६ हजार ३५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको पुष्टि भएको थियो। त्यसैगरी, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज समेतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ र राजेश श्रेष्ठले विप्लव पोखरेलमार्फत २७ हजार ३५० रुपैयाँ गरी कुल ९३ हजार ८५० रुपैयाँ दाहाललाई घुस दिएको कार्य कसुर पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

अदालतमा बयान फेरे पनि उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले सजायको मागदाबी सहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।

Press-Release-२०८३-०२-१२-बिप्लब-पोख्रेलसमेत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप