मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुगम सङ्गीतमा निरन्तर उडान भरिरहेकी प्राश्ना पाण्डे

बुधबार, १३ जेठ २०८३, ०८ : ०२
बुधबार, १३ जेठ २०८३

सारांश

  • गायिका प्राश्ना पाण्डेले आफ्नो गायनलाई साधना, अनुशासन र दीर्घकालीन यात्राको रूपमा अंगालेकी छिन्।
  • उनले 'गाजलु आँखा' गीतबाट स्थापित पहिचान बनाउनुका साथै ४० भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्।
  • संगीतबाहेक प्राश्नाले पत्रकारितामा स्नातक, एमबीए अध्ययन, र्याम्प मोडलिङ, व्यवसाय तथा विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छिन्।

काठमाडौँ । नेपाली सुगम सङ्गीतको संसारमा पछिल्लो समय धेरै कलाकारहरू छोटो समयमै चर्चाको केन्द्रमा पुग्ने दौडमा देखिन्छन्। तर यही भीडमा केही यस्ता कलाकार पनि छन्, जसले सङ्गीतलाई केवल लोकप्रियताको माध्यम नभई साधना, अनुशासन र दीर्घकालीन यात्राको रूपमा अंगालेका छन्। 

तीमध्ये एक हुन् गायिका प्राश्ना पाण्डे। शालीन व्यक्तित्व, परिपक्व सोच र सङ्गीतप्रतिको गहिरो समर्पणले उनी आफ्नो छुट्टै पहिचान निर्माण गर्दै अघि बढिरहेकी छन्।

झापा चन्द्रगढीकी प्राश्नाको  बाल्यकाल पारिवारिक रूपमा नै सङ्गीतमय वातावरणमा बित्यो। उनका हजुरबुबा हार्मोनियम बजाउँदै भजन गाउने गर्थे। घरभित्र निरन्तर गुञ्जिरहने त्यही सङ्गीतले सानैदेखि उनको मनमा कला र स्वरप्रतिको आकर्षण जन्मायो।

यद्यपि, मध्यमवर्गीय परिवारका आमाबुबाको चाहना भने छोरीले राम्रो पढाइ गरेर स्थिर पेशामा अघि बढोस् भन्ने थियो। तर प्राश्नाले आफ्नो अध्ययनसँगै सङ्गीतप्रतिको मोहलाई पनि निरन्तर अघि बढाइन्। उच्च शिक्षाको सिलसिलामा काठमाडौं आएकी उनले यही अवसरलाई आफ्नो साङ्गीतिक यात्राको आधार बनाइन्।

सङ्गीतमा गहिरो अध्ययन र प्रशिक्षणका लागि उनले गुरु राम सिटौला र प्रकाश गुरुङसँग शास्त्रीय तथा अर्धशास्त्रीय सङ्गीत सिकिन्। साथै अनुराग म्युजिक स्कुलबाट सेमिक्लासिकल सङ्गीतको चारवर्षे कोर्स पूरा गर्दै आफ्नो साङ्गीतिक आधारलाई अझ मजबुत बनाइन्।

‘गाजलु आँखा’ बाट स्थापित पहिचान

औपचारिक रूपमा सङ्गीत क्षेत्रमा प्रवेश गरेपछि प्रश्नाको स्वरमा सजिएको ‘गाजलु आँखा’ गीतले श्रोतामाझ राम्रो चर्चा पायो। त्यसपछि उनी विभिन्न स्टेज कार्यक्रम तथा सांगीतिक प्रस्तुतिहरूमा सक्रिय बन्दै गइन्।

उनले आफ्नै शब्द तथा सङ्गीतमा तयार भएका ‘तिम्रो हरेक स्पर्शले’ लगायतका गीतहरू सार्वजनिक गरिसकेकी छन्। साथै पूजा मारियाको शब्दमा तयार भएको ‘हृदयको कुनाभित्र’ जस्ता गीतले पनि श्रोतामाझ राम्रो स्थान बनाएका छन्। हालसम्म उनले ४० भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेकी छन्।

उनको निरन्तर मेहनत, समर्पण र कलाप्रतिको इमानदार यात्राकै परिणामस्वरूप उनले ‘स्टार इन्टरनेसनल अवार्ड’, ‘हिमालय इन्टरनेसनल म्युजिक अवार्ड’ तथा ‘राप्ती म्युजिक अवार्ड’ लगायतका सम्मान प्राप्त गरेकी छन्।

कला प्रतिको गम्भीर दृष्टिकोण

प्रश्ना कला केवल मनोरञ्जन वा क्षणिक चर्चाको विषय नभई भावनासँग जोडिएको जिम्मेवार अभिव्यक्ति हो भन्ने मान्यता राख्छिन्। अहिलेको डिजिटल युगमा देखिएको ‘इन्स्ट्यान्ट स्टारडम’ संस्कृतिप्रति उनी सन्तुलित दृष्टिकोण राख्छिन्।

उनका अनुसार कलाकारले आफ्नो सिर्जना र प्रस्तुतिमार्फत समाजमा सकारात्मक प्रभाव छोड्नुपर्छ। कला संवेदनाको भाषा भएकाले यसको मर्यादा जोगिन आवश्यक रहेको उनी बताउँछिन्।

अभिनय, अध्ययन र अन्य रुचिहरू

केही म्युजिक भिडियोमा अभिनय अनुभवसमेत सँगालेकी प्राश्ना अभिनय क्षेत्रलाई चुनौतीपूर्ण विधाका रूपमा हेर्छिन्। उनका अनुसार गायकले आफ्नो मुख्य क्षेत्र अर्थात् गायनमा केन्द्रित हुनुपर्छ र अभिनयलाई अभिनयकर्मीसँग जोडेर सम्मान गर्नुपर्छ।

WhatsApp Image 2026-05-27 at 06.47.07

शैक्षिक रूपमा पनि उनी उत्तिकै सक्रिय छिन्। पत्रकारितामा स्नातक पूरा गरेकी प्रश्ना हाल एमबीए अध्ययनरत छिन्। सामाजिक कार्यमा समेत रुचि राख्ने उनी फुर्सदको समयमा घुमफिर, फोटोग्राफी, नयाँ मानिसहरूसँग भेटघाट तथा पौडी खेल्न मन पराउँछिन्।

सङ्गीतसँगै उनी र्‍याम्प मोडलिङमा पनि सक्रिय छिन्। विशेषगरी मुम्बईमा आयोजना हुने थिमेटिक फेसन शोहरूमा सहभागी हुँदै अन्तर्राष्ट्रिय मोडलहरूसँग काम गरिसकेकी छन्।

कोभिड संक्रमणका कारण उनले दुई पटक लामो समयसम्म भ्वाइस रेस्ट लिनुपरेको थियो। त्यस अवधिमा सांगीतिक गतिविधिमा केही विराम लागे पनि उनले आफूलाई पुनः सशक्त रूपमा फर्काइरहेकी छन्। अबका दिनमा श्रोताको मन छुने स्तरिय गीतहरू लिएर आउने तयारीमा रहेको उनी बताउँछिन्।

सङ्गीतबाहेक उनी ‘बज मी ट्रेडर्स’ मार्फत व्यवसायिक क्षेत्रमा पनि सक्रिय छिन्।

प्रश्नाले अष्ट्रेलिया, जापान, दुबई, कतार, कोरिया, लण्डन लगायत विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसकेकी छन्। हालै सम्पन्न युरोप टुरअन्तर्गत उनले ग्रिस, फ्रान्स, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम तथा लक्जेम्बर्गमा आफ्नो प्रस्तुति दिएकी थिइन्।

निकट भविष्यमा क्यानडा, अमेरिका र अष्ट्रेलियामा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत सहभागी हुने तयारीमा उनी रहेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप