मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
स्टार एन्ड स्टोरिज

‘कलाकार संघभित्र अब दलगत राजनीति चल्न दिन्नँ’

फर्जी सदस्यतालाई छानबिन गरी व्यवस्थित गर्ने प्रक्रियालाई अघि बढाउनेछौँ : उत्तम केसी, अध्यक्ष, चलचित्र कलाकार संघ
शुक्रबार, १५ जेठ २०८३, ११ : २२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नेपाल चलचित्र कलाकार संघको नव निर्वाचित अध्यक्ष उत्तम केसीले अबको तीन वर्षे कार्यकालमा कलाकारलाई एकताबद्ध बनाई हकहित र पेसागत सुरक्षाको पक्षमा काम गर्ने बताएका छन् ।
  • केसीले कलाकार संघमा दलगत राजनीतिलाई प्रश्रय नदिने र सबै पुस्ताका कलाकारहरूको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • उनले संघको प्रशासनिक प्रणालीलाई डिजिटल बनाउने, कलाकारहरूको स्वास्थ्य बिमा र सामाजिक सुरक्षा सुनिश्चित गर्ने, न्यूनतम पारिश्रमिक तोक्ने तथा करारनामालाई अनिवार्य गर्ने जस्ता योजना अघि सारेका छन् ।

 काठमाडौं । लामो समयदेखि कलाकारितामा सक्रिय उत्तम केसी हालै भएको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । अबको तीन वर्षे कार्यकालमा उनले कलाकारलाई एकताबद्ध बनाएर हकहित, पेसागत सुरक्षा, न्यूनतम पारिश्रमिकको प्रत्याभूतिको पक्षमा काम गर्नुपर्नेछ ।

२०३८ सालमा राष्ट्रिय नाचघरको हास्य नाटक ‘जोइटिङ्ग्रे’बाट अभिनयमा होमिएका केसीले दुई दर्जन बढी नाटक, २०० बढी फिल्म तथा एक सय हाराहारीको टेलिफिल्म अभिनय गरेका छन् । हास्य कलाकारको रुपमा चर्चित उनले बोलेको थेगो ‘चुईचुई पारेर’ जनजिब्रोमा झुन्डिन सफल छ ।

चलचित्र कलाकार संघको कार्यसमिति सदस्य, सहकोषाध्यक्ष, सचिव हुँदै अध्यक्ष बन्न सफल केसी चलचित्र विकास बोर्डका पूर्व बोर्ड सदस्य पनि हुन् । रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा केसीसँग गरिएको अन्तर्वार्ताको सम्पादिन अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

uttam kc (4)

  • कलाकार संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ, यो जितलाई कसरी लिनुभएको छ ?

यो जितलाई मैले मेरो व्यक्तिगत जितभन्दा पनि समग्र नेपाली चलचित्र कलाकारहरूको जितका रूपमा लिएको छु । म र मेरो कार्यसमिति कलाकारहरूलाई एकताबद्ध बनाएर उहाँहरूको हकहितमा काम गर्ने अठोटका साथ आएका हौँ । कलाकार साथीहरूले मेरो विगतको लामो अनुभव र संस्थाप्रतिको समर्पणलाई विश्वास गरेर मलाई यो संघको जिम्मेवारी सुम्पिनुभएको छ । म यो विश्वासलाई उच्च सम्मान गर्दै आगामी दिनमा कलाकारहरूको हितमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्छु ।

  •  संघको अध्यक्षका लागि निकै संघर्ष गर्नुपर्‍यो होइन ?

 वास्तवमा कलाकार संघको महाधिवेशन चैतभित्रै भइसक्नुपर्ने थियो । विभिन्न प्राविधिक, व्यावहारिक र आन्तरिक कारणहरूले गर्दा सरेर जेठमा आयो । त्यसले गर्दा धेरै समय एक्सरसाइज गरेको देखिएको हो । यसलाई मैले एउटा लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएको छु । विधानसम्मत रूपमा अघि बढ्दा केही समय लाग्नु स्वाभाविकै हो । यो समयले हामीलाई कलाकारहरूसँग अझ नजिर रहेर छलफल गर्ने, भिज्ने र उनीहरुको गुनासा र माग सुन्ने मौका दियो ।

  • संघको नेतृत्वका लागि सधैँ हानथाप हुने गर्छ । किन यस्तो आकर्षक भएको ?

 नेपाल चलचित्र कलाकार संघ कलाकारहरुका लागि काम गर्ने सेवामूलक र गैरनाफामूलक सामाजिक संस्था हो । यहाँ नेतृत्वमा बस्ने कसैले पनि पारिश्रमिक वा कुनै विशेष आर्थिक सुविधा पाउँदैनन् । कतिपय अवस्थामा त साथीहरूलाई दुःख पर्दा कार्यसमितिका सदस्यहरू आफैँले व्यक्तिगत रूपमा योगदान गर्नुपर्ने हुन्छ । त्यसैले यहाँ कुनै आर्थिक आकर्षण छैन ।

तर आफ्नो पेसागत संस्थाको नेतृत्व गरेर कलाकारहरूको सेवा गर्ने, उनीहरूको हकहितका लागि आवाज उठाउने र एउटा सामाजिक पहिचान बनाउने हुटहुटीका कारण चुनावमा प्रतिस्पर्धा राम्रो हुन्छ ।

uttam kc (5)

  • तपाईंलाई किन अध्यक्ष बन्न मन लाग्यो ?

२०३८ सालदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छु । २०४५ सालदेखि नै कलाकार संघको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । मैले सह-कोषाध्यक्ष र सचिवका रूपमा काम गर्दा संस्थाको प्रशासनिक र नीतिगत पाटोलाई नजिरबाट बुझ्ने अवसर पाएँ । जीवनको यो चरणमा पुगेपछि एक पटक संस्थाको सर्वोच्च नेतृत्व सम्हालेर समग्र कलाकारहरूको वृत्तिविकास र हकहितका लागि ठोस काम गरौँ भन्ने लागेर नै मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । अध्यक्षमा उठ्नुको व्यक्तिगत स्वार्थ केही छैन ।

  • चुनावी घोषणापत्रमा १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो । तिनको कार्यान्वयनको योजना के छ ?

मेरो मुख्य प्राथमिकताहरूमा संघको प्रशासनिक प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने रहेको छ । यसबाट सदस्यहरूको व्यक्तिगत विवरण, सदस्यताको अवस्था सहजै ट्र्याक गर्न सकिन्छ । दोस्रो, कलाकारहरूको स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने । तेस्रो, कलाकारहरूको न्यूनतम पारिश्रमिक तोक्ने र पारिश्रमिक शोषण रोक्न अनिवार्य रूपमा ‘करारनामा’ (सम्झौता पत्र) गरेर मात्र काम गर्ने परिपाटी बसाल्ने । चौथो, नवप्रवेशी कलाकारहरूको क्षमता विकासका लागि विभिन्न कार्यशाला तथा तालिमहरू सञ्चालन गर्ने ।

  • संघ आफ्नो भवनको उपयोग नगरेर भाडामा बसेको छ नि ?

संघको भवन कलंकी टाढा भएकाले यसअघिका कार्यसमितिहरूले भाडाको कार्यालयबाट कार्य सञ्चालन गरिरहेका थिए । मेरो अठोट आफ्नै सम्पत्तिको अधिकतम सदुपयोग गर्ने थियो । त्यसैले निर्वाचित भएलगत्तै पहिलो बैठक हामीले आफ्नै नयाँ भवनमा राखेर कार्यप्रारम्भ गर्‍यौँ । भौगोलिक रूपमा केही टाढा भएपनि यो हाम्रो सम्पत्ति हो । यसलाई मुख्य कार्यालय बनाएर काठमाडौँको ज्ञानेश्वरमा रहेको कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा सञ्चालन गर्नेछौँ ।

uttam kc (6)

  • हरेक महाधिवेशनमा कलाकार संघको सदस्यता वितरण र मापदण्डलाई लिएर विवाद हुने गर्छ । के अब यो व्यवस्थित होला त ?

विगतमा मतदाता संख्या बढाएर चुनाव जित्ने उद्देश्यले मापदण्डविपरीत सदस्यता वितरण गरिएका गुनासा आएका थिए । कलाकार संघको सदस्यका लागि हाम्रो विधानले कम्तीमा पाँचवटा ठुलो पर्दाको चलचित्रमा मुख्य वा संवादसहितको भूमिका निर्वाह गरेको हुनुपर्ने व्यवस्था गरेको छ । अब हामी विधानलाई कडाइका साथ पालना गर्नेछौँ । चलचित्र नखेलेका तर एग्रिमेन्ट गरिसकेकाहरूलाई सुरूमा सह–सदस्यता दिने र पाँचवटा चलचित्र पुगेपछि मात्र साधारण सदस्यता दिने व्यवस्थालाई व्यवस्थित बनाइनेछ । फर्जी सदस्यतालाई छानबिन गरी व्यवस्थित गर्ने प्रक्रियालाई हामी अघि बढाउनेछौँ ।

  •  संघलाई बेरोजगार र बूढापाकाहरूको थलो भन्ने आरोप लाग्दै आएको छ नि ?

यो नितान्त गलत र पूर्वाग्रही आरोप हो । कला क्षेत्रमा उमेर पाको हुनु भनेको अनुभव र परिपक्वताको प्रतीक हो । हाम्रो नयाँ कार्यसमितिमा युवा र सक्रिय कलाकारहरूको बाहुल्यता छ । जो–जो कार्यसमितिमा हुनुहुन्छ, उहाँहरू सबै आ–आफ्नो विधामा व्यस्त हुनुहुन्छ । जहाँसम्म चल्तीका वा युवा स्टारहरूको कुरा छ, उहाँहरू निर्वाचनमा उत्साहपूर्वक सहभागी हुनुभयो । उहाँहरूलाई संघमा समेट्न र नवप्रवेशीहरूलाई आकर्षित गर्न हामीले थप गृहकार्य गरिरहेका छौँ । संघ सबै पुस्ताको साझा चौतारी हो ।

uttam kc (7)

  • कलाकारहरूले पारिश्रमिक नपाएको वा ठगिएको विषयमा संघले कसरी सम्बोधन गर्छ ?

यसको एउटै र अचुक उपाय भनेको करार सम्झौता हो । कलाकारहरूले कुनै पनि प्रोजेटमा काम गर्दा लिखित सम्झौता गर्नुपर्छ । सम्झौता पत्रमा पारिश्रमिक, कार्यविधि र सुविधाहरू स्पष्ट खुलाउनुपर्छ । यदि करारनामा हुँदाहुँदै पनि कसैले पारिश्रमिक दिँदैन भने संघले कानुनी रूपमा लडेर न्याय दिलाउन सहयोग गर्न सक्छ । तर मौखिक सहमतिका आधारमा काम गर्दा प्रमाणको अभावमा कानुनी उपचार खोज्न गाह्रो हुन्छ । त्यसैले हामी कलाकारलाई सचेत गराउँदै करार प्रथालाई अनिवार्य बनाउन जोड दिनेछौँ ।

  • कलाकारलाई हुने दुर्व्यवहार (ह्यारेसमेन्ट)का कुराहरू पनि बेलाबेलामा उठ्छन्, यसका लागि कसरी काम गर्नुहुन्छ ?

कार्यस्थलमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार अक्षम्य हुन्छ । चाहे त्यो महिला कलाकारमाथि होस् वा पुरुष कलाकारमाथि, कुनै पनि खालको शोषण र दुर्व्यवहारलाई संघले प्रश्रय दिँदैन । यस्ता घटना भएमा पीडितले विना संकोच संघमा उजुरी गर्नुपर्छ । हामी कानुनी निकायहरूसँग समन्वय गरेर पीडकलाई कारबाही गराउन र पीडितलाई सुरक्षित वातावरण सुनिश्चित गर्न प्रतिबद्ध छौँ ।

uttam kc (3)

  • कलाकारहरूले राज्यलाई कर तिर्दैनन् भन्ने सुनिन्छ, के कलाकारले कर तिर्दैनन् ?

राज्यप्रति उत्तरदायी हुनु हरेक नागरिकको कर्तव्य हो । कलाकारहरूले पनि आफ्नो आम्दानीको कर इमानदारीपूर्वक तिर्नुपर्छ । अचेल धेरैजसो निर्माण पक्षले सुरुमै कर कट्टी गरेर मात्र पारिश्रमिक भुक्तानी गर्ने परिपाटी सुरु गरेका छन्, जुन सकारात्मक छ । हामीले राज्यबाट अधिकार खोज्दा आफ्नो कर्तव्य पनि बिर्सनु हुँदैन । कर तिर्ने सवालमा कलाकारहरू सचेत र जिम्मेवार हुनुपर्छ ।

  •  कला क्षेत्रका व्यक्तिहरू सक्रिय राजनीतिमा छन् । यसलाई कसरी लिनुहुन्छ ?

नागरिकका रूपमा प्रत्येक कलाकारलाई आफ्नो राजनीतिक विचार राख्ने र कुनै दलमा आबद्ध हुने पूर्ण स्वतन्त्रता छ । राज्यको नीति निर्माण तहमा कलाकार पुग्नु समग्र कला क्षेत्रका लागि राम्रो कुरा हो । तर मेरो स्पष्ट मान्यता के छ भने कलाकार संघभित्र वा कला क्षेत्रको पेसागत मर्यादाभित्र दलगत राजनीति गरिनु हुँदैन । कला र कलाकारिता सबैको साझा विधा हो । यहाँ राजनीति हाबी भयो भने पेसागत मर्म कमजोर हुन्छ । त्यसैले दलगत राजनीतिभन्दा माथि उठेर कलाको प्रवर्द्धनमा लाग्नुपर्छ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप