इलेक्ट्रिक हाजिरी
सारांश
- आइतबारको बिदा पनि कर्मचारीका लागि खासै उपयोगी नभएको अनुभव कर्मचारीले गरेका छन् ।
- आइतबारको बिदाले छोराछोरीको किचकिच र घुम्न जाने योजनाले गर्दा घरमा तनाव बढेको छ ।
- इलेक्ट्रिक हाजिरीका लागि ढिलाइ हुने डरले एक महिलाले हतारहतार स्कुटर चलाउँदा ट्राफिक नियम उल्लंघन गरेकी छन् ।
जुनसुकै कुरा नहुन्जेलसम्म भइदिए हुन्थ्यो जस्तो हुन्छ । भइसक्यो भने नभए पनि हुन्थ्यो अथवा नभई नहुने के नै थियो र झैँ लाग्छ । अथवा झन् नभएको भए त कति बेस हुन्थ्यो, यो भएर घाँडो भयो भन्ने समेत हुन सक्छ । यो मान्छेको असन्तुष्ट मनबाट उत्पत्ति हुने अनेक विचारको सँगालो हो ।
त्यस्तै भएको छ, आइतबारको बिदा पनि । नभई नहुने के थियो, खासै चाहिएकै थिएन । 'यो उपयोगमा आएकै छैन' भन्ने भान पर्न गएको छ बिचरा कर्मचारीहरूलाई । पहिला–पहिला जाबो एक दिनको शनिबारको बिदा !
यता गरूँ कि उता गरूँ कि ! धोऊँ कि पखालूँ कि ! सुकाऊँ कि पकाऊँ कि ! बच्चाहरूलाई घुम्न पठाऊँ कि फकाऊँ कि ! यस्तै भन्ने मान्छेहरू दुई दिन लगातार बिदा हुँदा केटाकेटीको किचकिच, 'मीठो–मीठो खाऔँ, घुम्न जाऔँ, अलिक खर्च पाऊँ, रमाइलो मनाऔँ' भन्ने सुन्दा–सुन्दा, ‘हल्ला नगर, मेरो टाउको नखाऊ’ भन्नुपर्ने भइसकेको छ ।
शनिबार यसै कट्यो । आइतबार पनि एवंरीतले धकेलियो । पढ्ने र केही गर्ने जोस–जाँगर भएकालाई त केको आइतबार चाहियो र ? उनीजस्ता गृहिणीका अतिरिक्त जागिर गर्ने महिलाका लागि पढ्नलाई किताब छुनु र हिन्दू धर्ममा जेठाजु छुनु उस्तै भएको छ ।
त्यसैले यो आइतबारको बिदा खासै उपयोगी छैन भन्न भ्याएकी छन् उनले ।
अब सोमबारको कुरो आयो । बिहान नेम भवन पुग्ने छोरो, कक्षा एघारको जाँच दिने छोरी, "उठ न ए... कति सुत्छौ ? जाने तयारी गर, म खाजा बनाउँछु" भनेर सुरु हुने नवबिहानी । चिया, चिउरा, सातु, मकै जे–जे छ जोहो गर्नु छ । साढे सात बजेतिर उठ्ने अर्को जेन अल्फा ।
उनी मौन उत्तर दिन्छिन् । किनकि मौन उत्तर दिनुजतिको आनन्द केही लाग्दैन उनलाई अचेल ।
ऊ झन् कम्ताको छ र ! उठ्नेबित्तिकै "के कति पकाउनुभयो ? मलाई ढिला हुन्छ । टिफिन के छ ? मेरो बोतल रेडी गर्नुभयो कि नाइँ ?" जस्ता प्रश्न गरेर र्याखर्याख पारिछाड्छ । दिउँसो उसको, आफ्नो र उनीहरूको खाने टिफिन रेडी गर्नु छ । उफ... यो टिफिन नचाहिने भए पनि आधा बोझ हट्ने थियो नि !
उनी लामो सुस्केरा मार्छिन् । जसोतसो आठ बजेसम्म खाई, चपाई, निलेर त सकियो । हातमुख धोई, भाँडा पखाली अल्फालाई ड्रेस लगाइदिनु छ उनले अब ।
"तपाईंलाई बेल्ट लाउन पनि आउँदैन, स्कुलको लोगो उल्टो बनाइदिनुहुन्छ," अल्फा खिसिट्युरी गर्दै भन्छ ।
"मैले कहिल्यै बेल्ट लाए पो !"
उनी मौन उत्तर दिन्छिन् । किनकि मौन उत्तर दिनुजतिको आनन्द केही लाग्दैन उनलाई अचेल ।
आफ्नो सेतो सर्ट र नीलो बेली पाइन्ट त लाउँछिन्, तर जुहारीकोट कतै भेटिएन । कता हरायो होला, हत्तेरी ! आज जुहारीकोटले समयसँग जुहारी खेलाइदियो बिचरीलाई ।
कपडा राखेको प्लास्टिकको डोको चार–पाँच पटक उधिन्दा पनि भेटिएन । कतै छोराका ह्याङ्गरमा मिसियो कि हँ ? उता टाङ्नामा पनि छैन । धोएर छतमा सुकाउँदा केटाकेटीले छुटाए कि त ? नभेटिएकोमा दुईवटा चिन्ता थपिन्छन्– के लगाएर जाऊँ ? महँगो गरी सिलाएको लुगाफाटो हराए पनि त तनावै भो । फेरि सुहाउने पनि त्यही थियो क्या ! तर हत्तेगरी खोज्दा पनि भेटिएन ।
त्यसपछि त्यो पातलो ज्याकेटको खोजी भयो । छैन त्यो पनि । अनि के लाएर जाऊँ त ?
ज्याकेट त तीन सयको हो, जुहारी त तीन हजारको हो नि । 'यसै जान्छु भैगो' भनौँ भने पनि अलि छोटा लुगा लाउने बानी छैन उनलाई । बिचरा सर्ट–पाइन्ट त पोहोर साल भ्याली छिरेको ६ महिनापछि लाउन सुरु गरेकी थिइन् । केही सीप नलागेपछि अर्को पुरानो सेतो टिसर्ट लाइन् उनले । भलै, टिसर्ट चाउरिएको भए पनि थोरै लामो त छ ।
अल्फालाई मोजा र जुत्ता त लाइदिइन् । तर आफ्ना दाँत माझ्न बाँकी नै रहेछ । छिः कस्तो हतारो हो ! अफिसमा मुस्कानसहितको सेवा दिन नपरेको भए त दस छाक दाँत नमाझे पनि केही हुने थिएन । त्यही मुस्कानसहितको सेवाबाहेक अन्त उनको मुस्कान विरलै देख्न पाइन्थ्यो । किनकि मुस्कान छाड्नलाई त मन पनि फुरुङ्ग हुनुपर्यो नि ।
"छिटो कुदाउनु, मलाई ढिला हुन्छ" भन्ने अल्फाको आदेश पनि सुन्नु कुनै नौलो थिएन । ओख्खो ! अगाडि त गाडी र मोटरसाइकलको हुल पो छ त ।
जम्मा पैँतीस सेकेन्डजति दाँतमा ब्रस रगडेर उनी कुल्ला गर्दै थिइन् । अल्फाले उनको सातो जाने गरी "तपाईं जहिले ढिला गर्ने मान्छे हो, मेरो स्कुल ढिला जान मिल्दैन, अब के गर्ने ?" भनेर चिच्याइरहेको थियो ।
उनले स्कुटर स्टार्ट गर्दा आठ बजेर एकचालीस मिनेट गएको थियो स्कुटरको घडीमा । हुन त स्कुटरको, हातको र मोबाइल घडीमा समयको एकरूपता थिएन । बाटो सुस्त काट्नु, आउने–जाने मान्छेलाई सहज रूपमा जान दिनु, ठूला गाडीलाई ओभरटेक नगर्नुजस्ता सवारी अनुशासनका कामहरू आज उनीबाट भएनन् ।
"छिटो कुदाउनु, मलाई ढिला हुन्छ" भन्ने अल्फाको आदेश पनि सुन्नु कुनै नौलो थिएन । ओख्खो ! अगाडि त गाडी र मोटरसाइकलको हुल पो छ त । यो हेरौँ भने उनका गाउँमा लाग्ने कोटाथलाको हुल त केही होइन । यत्रो जाम पहिलो पटक नै देखिन् भन्दा पनि हुन्छ । देखिन् के भन्नु भेटिन्, भेटिन् के भन्नु भोगिन् बिचरा !
स्कुटरको घडीमा आठ बजेर एकाउन्न मिनेट देखाउँदा हातको घडीको सुईले पनि भव्य बाटो काटिसकेको थियो ।
सही काम गर्न मौका चाहिँदैन, नियमित आफैँ हुन्छ । गल्ती गर्न मौका चाहिन्छ । यही मौकाको फाइदा उठाएर उनले बाटोमा एक–दुईवटा गल्ती गर्ने अवसर जुटाइन् । चक्कर त चौबाटो आएपछि पो लाग्छ उनलाई । ट्राफिक प्रहरीले रोक्ने लाख कोसिस गर्दा पनि अटसमटस गरेर कोचिएर निसासिँदै गाडीहरू घिसारिन्छन् जब...
तब "सबै गए, म किन रोकिने ?" भन्दै आफ्नो एक्सेलेटर बटारेर अघि बढ्छिन् ।
स्कुटर बल्लतल्ल स्कुलको गेटमा पुग्यो । मोडिनु कम छ र ! एउटा अलि लामो, सेतो प्लेट भएको गाडीको चालक उनलाई हातले रोक्ने चेष्टा गर्दै थियो । परवाह नगरी त्यतिखेर पनि घिसारिन् आफ्नो स्कुटर । किनकि यतिखेर ज्यानको भन्दा बढी परवाह इलेक्ट्रिक हाजिरीको थियो ।
अरूलाई ठग्नुजस्तो सजिलो आफूलाई ठग्नु कहाँ हुन्छ र ? जस्तै हतारो भए पनि बाटो अलि खाली हुन्थ्यो, नौ बजेर पचास मिनेटभन्दा पछाडि कहिल्यै हाजिर गर्नुपरेको थिएन । 'हिजोअस्ति अरू सबै ढिला आउँदा रहेछन्, मै रहेछु छिटो आउने' भन्ने मान्छे आज 'सबै टाइममै पुग्छन्, म किन यसरी ढिला हुनुपरेको होला' भन्न भ्याइसकेकी थिइन् ।
एक जना सरले "किन आत्तिनुहुन्छ म्याडम ?" भनेपछि मात्र 'नमस्कार सर' भन्ने मेसो पाइन् उनले ।
मोडमा पुग्दा एक सय चौबिस सेकेन्डका लागि रातो बत्ती झिम्किँदै थियो । उफ् ! एक सय चौबिस सेकेन्ड भन्नु थोरै हो र उनका लागि ? समयमा सेकेन्डको पनि महत्त्व हुन्छ भन्ने कुरा बल्ल बुझिन् उनले । कारबाही पनि कसको भोग्नु ? सडकमा ट्राफिकको कि अफिसमा छड्केको ?
उनले कारबाहीको लिस्टबिच मनमनै तुलना गरिन् । यतिखेरसम्म त फाँटमा पुगिसकिन्थ्यो हिजोअस्ति । एक मिनेट ढिलो पुगे पनि स्पष्टीकरण सोध्छ रे ! के स्पष्टीकरण दिने होला ? के बहाना बनाउने होला ? 'त्यही थाङ्ने जुहारीकोट भेटिएन' भन्नु त भएन । झुटो बोल्नु पनि के बोल्नु ? 'जाम थियो' भन्नु त बनावटी मात्र हुनेछ ।
स्कुटरको घडी अलि फास्ट छ र ठीक भयो, नत्र नौ बजेर एक मिनेट भइसकेको थियो त्यो घडीमा । बायाँ मोड्नुजस्तो सजिलो छैन दायाँबाट बाटो काट्नु । पारि पुग्नका लागि लाइन बस्नुपर्छ । करिब छयानब्बे सेकेन्डमा रातो बत्तीले झिमझिम पार गरेपछि केही नदेखी, नसुनी हुइँकिइन् उनी एकसुरले ।
अफिसको प्राङ्गणमा रोकी हेलमेटै नखोली भित्र पस्दा इलेक्ट्रिक हाजिरीसँग मुलाकात भो बल्ल– नौ बजेर सत्र सेकेन्डमा । उनले यहाँ पनि दुई जना सरलाई उछिनेर लिगलिगे दौड नै जितिन् ।
एक जना सरले "किन आत्तिनुहुन्छ म्याडम ?" भनेपछि मात्र 'नमस्कार सर' भन्ने मेसो पाइन् उनले । त्यसपछि बिचरीले समयभित्र इलेक्ट्रिक हाजिरी गर्नका लागि गरेका सङ्घर्ष, झमेला, चुनौती र सबै किसिमका व्याकुलताहरू त्यो दिनका लागि समाप्त भए ।
तर पनि 'शुभ दिन' भन्ने कोही भेटिनन् उनले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण