आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बमबारीपछि अवरुद्ध बनेका इरानका भूमिगत मिसाइल अड्डाहरू आउन थाले पुनः सञ्चालनमा

आइतबार, १७ जेठ २०८३, १७ : ०८
आइतबार, १७ जेठ २०८३

सारांश

  • अमेरिका र इजरायलको बमबारीपछि अवरुद्ध भएका इरानका भूमिगत मिसाइल अड्डाहरू पुनः सञ्चालनमा आउन थालेका छन् ।
  • उपग्रह तस्बिरहरूले इरानले तीव्र गतिमा सुरुङका प्रवेशद्वारहरू खुलाउँदै लगेको देखाएका छन्, जसले अमेरिकी हवाई आक्रमणको सीमालाई उजागर गरेको छ ।
  • विज्ञहरूका अनुसार इरानसँग अझै पनि ठूलो मात्रामा मिसाइल मौज्दात छ र उसले सामान्य निर्माण उपकरण प्रयोग गरेर आफ्नो मिसाइल क्षमता पुनःस्थापित गरिरहेको छ ।

तेहरान । अमेरिका र इजरायलले व्यापक बमबारी गरेर अवरुद्ध बनाएका इरानका भूमिगत मिसाइल अड्डाहरू पुनः सञ्चालनमा आउन थालेका छन् ।

नयाँ उपग्रह तस्बिरहरूले इरानले ती अड्डाका पुरिएका सुरुङ प्रवेशद्वारहरू तीव्र गतिमा खुलाउँदै लगेको देखाएका छन् । विश्लेषकहरूका अनुसार यसले अमेरिकी हवाई आक्रमण रणनीतिको एउटा महत्त्वपूर्ण सीमालाई उजागर गरेको छ ।

हप्तौँसम्म चलेको अमेरिकी तथा इजरायली आक्रमणले इरानका भूमिगत मिसाइल केन्द्रहरूमा पुग्ने सडकहरू ध्वस्त पार्नुका साथै सुरुङका मुखहरू पुरिदिएको थियो । रानलाई आफ्ना लामो दूरीका मिसाइलहरू प्रयोग गर्नबाट रोक्न यी आक्रमण गरिएको थियो । तर सीएनएनले अध्ययन गरेका उपग्रह तस्बिरहरूमा इरानले बुलडोजर, फ्रन्ट–एन्ड लोडर र डम्प ट्रकजस्ता सामान्य निर्माण उपकरण प्रयोग गरेर ती सुरुङहरू पुनः खुलाइरहेको देखिएको छ । विशेषज्ञहरूका अनुसार यसलेसुरुङका मुखहरू मात्र निशाना बनाएर इरानको मिसाइल क्षमता नष्ट गर्न सकिँदैन भन्ने तथ्य स्पष्ट पारेको छ ।

अमेरिका र इरानबीच हाल स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भए पनि धेरै विषयमा अझै वार्ता जारी छ । यदि भविष्यमा फेरि सैन्य तनाव बढ्यो भने इरानसँग अझै पनि ठुलो मात्रामा मिसाइल प्रहार गर्ने क्षमता रहने विश्लेषकहरूको भनाइ छ । ‘यदि इरानसँग प्रक्षेपण प्रणाली र त्यसलाई सञ्चालन गर्ने जनशक्ति रहिरह्यो भने उत्पादन रोकिए पनि उसले मिसाइल प्रहार जारी राख्न सक्छ । इरानसँग अझै ठुलो संख्यामा मिसाइल मौज्दात छ,’ जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेशन स्टडीजका अनुसन्धान सहयोगी साम लेयर भन्छन् ।

६९ मध्ये ५० सुरुङ पुनः खुला

युद्धका क्रममा सुरुङहरू पुनः खोल्ने प्रयास आफैंमा निकै जोखिमपूर्ण थियो । उत्खननमा प्रयोग भएका उपकरणहरूलाई अमेरिका र इजरायलले पटक–पटक निशाना बनाएका थिए । त्यसका बाबजुद इरानले सीमित दरमा भए पनि मिसाइल प्रहार जारी राखेको थियो । युद्धविराम भएको सात हप्ताभन्दा बढी समयपछि भने पुनःनिर्माणको गति उल्लेखनीय रूपमा बढेको छ ।

सीएनएनको विश्लेषणअनुसार अमेरिका र इजरायलले १८ वटा भूमिगत मिसाइल अड्डामा रहेका ६९ वटा सुरुङ प्रवेशद्वारलाई निशाना बनाएका थिए । तीमध्ये अहिले ५० वटा पुनः सञ्चालनयोग्य बनिसकेका छन् । इरानले केवल सुरुङ त खोलेको छ नै मिसाइल प्रक्षेपकहरूलाई प्रयोग गर्न नदिन बमबारी गरिएका सडकहरू पनि पुनः मर्मत गरेको छ । धेरैजसो खाल्डाखुल्डी पुरिसकिएका छन भने केही स्थानमा सडक पुनः कालोपत्रे समेत गरिएको छ । 

लेयर भन्छन्, ‘अमेरिकी सेना रणनीतिक लक्ष्यमा प्रहार गरेर तत्कालीन सफलता हासिल गर्न निकै सक्षम छ । इरानी मिसाइल बललाई केही समयका लागि दबाबमा राख्नु त्यसको उदाहरण हो । तर यदि त्यसलाई दीर्घकालीन राजनीतिक तथा सैन्य रणनीतिसँग जोडिएन भने, तत्कालको सफलता अन्ततः रणनीतिक असफलतामा परिणत हुन सक्छ ।’ 

iran

इरान युद्धको प्रमुख उद्देश्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल भण्डारलाई युद्धको मुख्य कारणमध्ये एकका रूपमा प्रस्तुत गर्दै आएका छन् । मार्चमा आफ्नो सामाजिक सञ्जाल सन्देशमा ट्रम्पले इरानको मिसाइल क्षमता, प्रक्षेपण प्रणाली र त्यससँग सम्बन्धित सम्पूर्ण संरचनालाई पूर्ण रूपमा कमजोर बनाउने लक्ष्य रहेको बताएका थिए । इरानले दुई दशकभन्दा बढी समयदेखि निर्माण गर्दै आएको भूमिगत मिसाइल अड्डा सञ्जालले उसका मिसाइल र प्रक्षेपण प्रणालीलाई उल्लेखनीय सुरक्षा प्रदान गर्छ । कतिपय अड्डाहरू सयौँ मिटर बाक्लो चट्टानमुनि अवस्थित छन्, जसका कारण तिनीहरूलाई प्रत्यक्ष रूपमा नष्ट गर्नु अत्यन्त कठिन मानिन्छ । 

यसैले युद्धको प्रारम्भिक चरणमा अमेरिका र इजरायलले सुरुङका मुखहरूलाई नै प्राथमिक लक्ष्य बनाएका थिए । त्यसका साथै मिसाइल प्रक्षेपकहरू खोजेर नष्ट गर्ने अभियान पनि सञ्चालन गरिएको थियो । यसको परिणामस्वरूप केही समयका लागि इरानको मिसाइल प्रहार क्षमता उल्लेखनीय रूपमा घटेको थियो । इस्फहान उत्तरी मिसाइल बेसमा भएका आक्रमणले सुरुङका प्रवेशद्वारहरू भग्नावशेषले पुरिएका थिए भने बाहिर रहेका मिसाइल प्रक्षेपकहरू नष्ट भएका थिए ।

अमेरिका र इजरायलले मिसाइल कारखाना, विद्युतीय पुर्जाहरू उत्पादन गर्ने केन्द्र, रकेट इन्धन बनाउने उद्योग तथा मिसाइलको संरचना तयार पार्ने कारखानाहरूमाथि समेत व्यापक आक्रमण गरेका थिए । अप्रिल ८ मा युद्धविराम सहमति भएपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले इरानले आफ्ना बाँकी मिसाइल र प्रक्षेपण प्रणाली भग्नावशेषबाट निकाल्नुपर्ने अवस्था रहेको र नयाँ उत्पादन क्षमता लगभग समाप्त भएको दाबी गरेका थिए ।

तर विज्ञहरूका अनुसार इरानसँग अझै पनि करिब एक हजार वटा मिसाइल भूमिगत भण्डारणमा रहेको अनुमान छ । यी मिसाइलहरू गहिरो भूमिगत संरचनामा राखिएकाले सतहमा गरिएका बमबारीबाट धेरै क्षति पुगेको सम्भावना कम रहेको उनीहरूको भनाइ छ । इरानले यस्तै प्रकारको युद्धको तयारी २० वर्षभन्दा बढी समयदेखि गरिरहेको र उनीहरू अत्यन्त तयार अवस्थामा रहेको ह्याम्बर्ग विश्वविद्यालयको शान्ति अनुसन्धान तथा सुरक्षा नीति संस्थानका वरिष्ठ अनुसन्धान्धाता तैमुर कादिशेभ भन्छन् ।

भूमिगत अड्डाहरू पुनः सञ्चालनमा ल्याउन इरानले मुख्यतः सामान्य निर्माण उपकरणहरू प्रयोग गरेको देखिन्छ । इस्फाहान नजिकैको एउटा अड्डामा युद्धका क्रममा चारवटा सुरुङ प्रवेशद्वार बन्द गर्न अमेरिका र इजरायलले दर्जनौँ बम प्रहार गरेका थिए । केही स्थानमा मात्रै १८ वटा खाल्डा देखिएका थिए, जसले सुरुङ अवरुद्ध गर्न प्रयोग भएको हतियारको मात्रा दर्शाउँछ ।

तर मे महिनाको सुरुतिर खिचिएको उपग्रह तस्बिरमा ती खाल्डाहरू डम्प ट्रकमार्फत पुरिँदै गरेको देखिएको छ । अन्य दुई प्रवेशद्वार त यसअघि नै खुलिसकेका थिए र त्यहाँका सडकहरू पुनः कालोपत्रे गरिएका थिए । त्यस्तै, खोमेननजिकैको एउटा अड्डामा अप्रिलको मध्यतिर खिचिएको तस्बिरमा कम्तीमा १० वटा निर्माण उपकरणले सुरुङ पुनः खोल्ने काम गरिरहेको देखिएको थियो ।

इरानले आफ्ना मिसाइलहरू पुनः व्यवस्थित गर्दै अड्डाहरू सञ्चालनमा ल्याइरहेका बेला विश्लेषकहरू अर्को चिन्तातर्फ पनि ध्यानाकर्षण गरिरहेका छन् । उनीहरूका अनुसार विशेष गरी अमेरिकाको मिसाइल अवरोधक भण्डार घट्दै गएको अवस्थामा इरानको मिसाइल खतरालाई अहिले कम आँकिएको हुन सक्छ । यसबाहेक मिसाइल उत्पादन केन्द्रहरूमा गरिएका आक्रमणले पनि इरानलाई दीर्घकालसम्म उत्पादनविहीन बनाउने निश्चितता छैन ।

गत वर्षको बाह्र दिने युद्धका क्रममा पनि यस्तै केही कारखानामाथि आक्रमण गरिएको थियो । तर पछिल्ला उपग्रह तस्बिरहरूले इरानले तीमध्ये केही केन्द्र पुनः निर्माण गरिसकेको देखाएका छन् । अमेरिकी गुप्तचर निकायहरूको पछिल्लो मूल्याङ्कनअनुसार इरानले ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ भने नयाँ मिसाइल प्रक्षेपक र उत्पादन क्षमता पनि विस्तार गरिरहेको छ ।

‘इरानले आफ्नो सैन्य क्षमता पुनर्स्थापना गर्न लाग्ने समयसम्बन्धी अमेरिकी गुप्तचर समुदायका लगभग सबै अनुमानहरू पार गरिसकेको एक अमेरिकी अधिकारीले सीएनएनलाई भनेका थिए । काडिसेभका अनुसार यही अन्तरले आधुनिक युद्धको एउटा विडम्बना देखाउँछ ।

‘यस्तो क्षति पु‍र्याउन अत्यन्त जटिल र महँगा हतियार चाहिन्छ । तर त्यसको पुनःस्थापना भने निकै सामान्य प्रविधि केवल केही बुलडोजर प्रयोग गरेर हुन्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप