'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक कमजोरीका कारण वर्तमान अवस्था आएको स्वीकार गर्दै वैचारिक पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् ।
- पोखरेलले वर्ग लक्षित राजनीतिमा समस्या आएको, भूमिहीन, श्रमजीवी वर्ग, विद्यार्थी र किसानले पार्टीलाई विश्वास नगरेको तथा उत्पीडित वर्गको नेतृत्व युट्युबरले गरेको विश्लेषण गरेका छन् ।
- उनले पार्टीमा कमिटी प्रणाली भत्किएको, सत्तामुखी कार्यशैली हाबी भएको र युवा पुस्ता पार्टीबाट टाढिएको स्वीकार गर्दै सूचना प्रविधिको प्रयोग र युवा सहभागिता बढाउनुपर्ने सुझाव दिएका छन् ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।
धेरै कार्यक्रममा नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेलले आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेता कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने, त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठन आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिच्किचाउनुपर्दैन,’ उनले भने, ‘काम नगरेर पार्टीलाई सुधार गर्न सकिन्न । पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा पनि छ ।’
उनले पार्टी शुद्धीकरणसहितको रूपान्तरणका लागि तयार रहेको बताए । ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ, उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युबरले गरे,’ उनले भने, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँ गाउँमा सङ्गठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैँले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए । उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मक रूपमा मात्रै अघि बढाइएको बताए ।
‘एउटा समय आयो कि हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुम्बासीहरू हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिसन ग्रासरुट चलायौँ र सफल भयो । तर युवालाई जे गर्ने भनेका थियौँ, त्यो भएन । हामी असफल भयौँ,’ उनले भने, ‘अरू पनि युवाकेन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएनन् । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो ।’
उनले समस्या के हो, जनताको मनोभावना किन बुझिएन र प्रतिस्पर्धा कोसँग कसरी गर्ने भन्ने विषयमा कमजोरी भएको बताए ।
‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौँ तर वर्ग सङ्घर्षलाई हामीले बुझ्न सकेनौँ, सिडिओ र राम्रो हाकिम खोज्दै हिँड्यौँ । यसरी हामी जनताबीच जाने होइन, जनता हामीकहाँ आउने बनायौँ । यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौँ, जनतामुखी भएनौँ ।’ उनले भने ।
प्रदेश सरकारमा नयाँ गठबन्धनबारे काङ्ग्रेस नै नचाहेर भएको बताए । ‘हामी काङ्ग्रेससँग मिल्ने पक्षमा नै थियौँ, उनीहरूबीच सहमति हुन सकेन । नेतृत्व हेरफेर नगर्ने भनेको उनैले हो । तथापि बजेटपूर्व हेरफेर गर्न तयार भएनन् ।’ उनले भने– ‘हाम्रै प्रदेश नेतृत्वमा पनि समस्या आयो । यसो भएपछि सबै मिलौँ भनियो तर काङ्ग्रेस तयार भएन । यस अर्थमा यो बाध्यताको परिणाम हो ।’
महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद र अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्याउनुपर्ने बताए ।
पार्टी सुधार्न महासचिव पोखरेलका यस्ता छन् टिप्सहरूः
– नेकपाकालदेखि कमिटी प्रणाली भत्क्यो । दुई अध्यक्षले हस्ताक्षर गरेपछि निर्णय कार्यान्वयन हुने भयो र यो तलैसम्म आयो । कार्यकर्ताको कुरै नसुनिने भयो ।
– अब हरेक कमिटीले आफैँ निर्णय गर्नुपर्छ । माथिबाट लाद्ने कुरा हुँदैन । स्थानीय चुनावमा उम्मेदवार आफैँ छनोट गर्नुस् ।
– अब तपाईंहरूले माथि ताक्ने होइन, आफैँ सिर्जनात्मक भएर काम गर्नुस् । जनताको मन र विश्वास जितेरै काम गर्ने हो, अरू विकल्प छैन ।
– विभिन्न सामाजिक सुरक्षा भत्ता, विकास आदिले जनता हामीसँगै छन् भन्ने सोच्यौँ, तर असन्तुष्टि पत्ता लगाउन सकिएन ।
– शिक्षा, स्वास्थ्य र रोजगारको कुरा गर्दै आयौँ तर सुलभ र सस्तो सेवा दिन सकेनौँ ।
– सुशासन कायम भएन । अपराधीकरण बढ्यो, कालोबजारी र तस्करी रोक्न सकेनौँ । युवा पलायन बढ्यो ।
– सूचना प्रविधि अबको राजनीतिको मुख्य आधार हो । यसको प्रभावकारी उपयोग पनि वर्गसङ्घर्षको आधार भयो । यो सामर्थ्य युवासँग छ ।
– सामाजिक सञ्जालमा ४० वर्षभन्दा कमका ७० प्रतिशत छन् तर पार्टीमा ७० प्रतिशत ४० वर्षमाथिका छन् ।
यी हुन् २१ जना मनोनीतहरूः
बैठकले प्रदेश कमिटीमा २१ जना मनोनयन गरेको छ । मनोनीत हुनेहरूमा रूपन्देहीबाट पम्फावती खनाल, चिनबहादुर गुरुङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हीरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहनबहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हीरा एसी र श्रीकृष्ण भुसाल, अर्घाखाँचीबाट जीवनारायण कोइराला, बाँकेबाट दीपक निरौला, प्युठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने परेका हुन् ।
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गरेका थिए । बैठकमा प्रस्तावका रूपमा आएका अन्तरपार्टी निर्देशन, जिल्लाको रिपोर्टिङ, मिसन पार्टी जागरण अभियानको शुभारम्भ, सदस्यता नवीकरण, सदस्य मनोनयन र सचिवालय विस्तार, जिम्मेवारी विभाजन, मातहत कमिटीको बैठकलगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
-
डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
-
प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
-
भलिबल लिगमा अक्सनबाट छानिए यी खेलाडी, को कतिमा बिके ?
-
१० बजे १० समाचार : ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण