आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै

आइतबार, १० साउन २०८३, २१ : ०८
आइतबार, १० साउन २०८३

सारांश

  • वित्तीय शोषणविरुद्ध काठमाडौँमा आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातमा बास नपाएर सडकमै बिचल्लीमा परेका छन् ।
  • प्रहरीले गौशाला धर्मशाला पुर्‍याए पनि त्यहाँ बस्न नपाएपछि पीडितहरू रातभरि माइतीघर मण्डलातर्फ फर्किएका हुन् ।
  • पीडितहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

काठमाडौँ । वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातको समयमा बासस्थान नपाउँदा सडकमै बिचल्लीमा परेका छन् ।

दिनभर काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी गरेका पीडितहरू राति बासको खोजीमा भौँतारिन बाध्य भएका हुन् । 

प्रहरीको समन्वयमा पशुपतिस्थित गौशाला धर्मशाला लगिएका पीडितहरूलाई धर्मशालाले बस्न नदिएपछि अवस्था झनै जटिल बनेको छ । धर्मशालामा सीमित कोठा मात्रै रहेको भन्दै फर्काइएपछि पीडितहरूको बिचल्ली भएको अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् ।

प्रहरीले झुक्याएर गौशाला पुर्‍याएको भन्दै आन्दोलनकारीहरूले प्रहरी प्रशासनको भर्त्सना गरेका छन् । 

गौशालाबाट फर्केका पीडितहरू राति नै नारा जुलुससहित सेतोपुल र अनामनगर हुँदै पुनः माइतीघर मण्डलतातर्फ अघि बढेका छन् । सेतोपुलमा बाक्लो संख्यामा खटिएका नेपाल प्रहरीले केहीबेर घेराबन्दी गरी रोक्ने प्रयास गरे पनि जुलुस अगाडि बढेको अभियन्ता घिमिरेले बताइन् । 

आन्दोलनकारीहरूले गृह प्रशासनको कार्यशैलीप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । समस्या समाधानका लागि पहल गर्नुको साटो गृह सचिवले 'जे गर्नुहुन्छ गर्नुस्' भन्दै पन्छाउने र काठमाडौँका सीडीओलाई जिम्मेवारी थमाउने गरेको उनीहरूको आरोप छ । सीडीओले पनि निर्जीव मूर्तिझैँ बनेर कुनै प्रतिक्रिया नदिएको पीडितहरूले गुनासो गरेका छन् । 

माग पूरा नभएसम्म आन्दोलन जारी रहने

देशका विभिन्न भागबाट काठमाडौँ आएका पीडितहरूले ‘किसान मजदुर आन्दोलन नेपाल’को आयोजनामा आइतबार बल्खुबाट र्‍याली निकालेका थिए । बल्खुबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिका हुँदै माइतीघर मण्डला पुगेर प्रदर्शनमा परिणत भएको थियो । 

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेको उनीहरूले बताएका छन् । 

पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौँमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पार्दै नेपाल प्रहरी परिचालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप