मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उपाधि जितेपछि कोहलीको प्रतिक्रिया, ‘यस पटक गत वर्षजस्तो दबाब महसुस भएन’

सोमबार, १८ जेठ २०८३, ०६ : ४०
सोमबार, १८ जेठ २०८३

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै आईपीएल २०२६ को उपाधि जितेको छ ।
  • विराट कोहलीले यस पटक गत वर्षजस्तो दबाब महसुस नभएको र टोलीको क्षमतामा विश्वास रहेको बताए ।
  • कोहलीले टोलीको आपसी तालमेल, सन्तुलन र खेलाडीहरूको सामूहिक शक्तिका कारण उपाधि जित्न सफल भएको उल्लेख गरे ।

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल उपाधि जितेको छ । 

फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो । आईपीएलको इतिहासमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सपछि आफ्नो उपाधि रक्षा गर्न सफल हुने बेंगलुरु तेस्रो टोली बनेको छ ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै बेंगलुरुका अनुभवी ब्याटर विराट कोहलीले यस वर्ष गत वर्षको जस्तो दबाब महसुस नभएको बताएका छन् । ‘मैले टोलीका अन्य साथीहरूलाई पनि भनेको थिएँ कि यस पटक गत वर्षजस्तो दबाब थिएन, किनकि हामीलाई आफ्नो समूहको क्षमता राम्रोसँग थाहा थियो,’ कोहलीले भने, ‘हामीले लिग तालिकाको शीर्ष स्थानमा रहँदै यात्रा टुङ्ग्याएका थियौँ । हामी यहाँ पहिलो स्थानमा रहँदै आइपुग्नुको पछाडि बलियो कारण थियो । हामीले केवल एउटै कुरामा ध्यान दियौँ कि यदि हामी आफ्नो स्वाभाविक क्रिकेट खेल्छौँ र योजनाहरू सही रूपमा लागू गर्छौँ भने हामी नै यस प्रतियोगिताको सर्वश्रेष्ठ टोली हौँ ।’

खेलको बिचको मोडबारे चर्चा गर्दै कोहलीले विश्रामपछि टोलीले एक खेल हारेको र त्यसपछि मुम्बई इन्डियन्सविरुद्ध कठिन जित निकालेको स्मरण गरे । ‘त्यस हप्ता हाम्रा लागि केही जटिल बनेको थियो किनकि हामी शीर्ष स्थानमै रहेर लिग चरण सकाउन चाहन्थ्यौँ,’ उनले थपे, ‘तर मुम्बई विरुद्धको त्यो जितपछि टोलीमा विश्वास फिर्ता आयो । त्यसपछि हामीले कोलकाता नाइट राइडर्सविरुद्ध सानदार जित निकाल्यौँ र शीर्ष स्थान सुरक्षित गर्दै फाइनलको यात्रा तय गर्‍यौँ ।’

कोहलीले यस पटक टोलीभित्रको आपसी तालमेल र सन्तुलन निकै उत्कृष्ट रहेको बताएका छन् । मैदान उत्रिँदा सधैँ आफैँले मात्र खेल जिताउनुपर्छ भन्ने दबाब नरहेको स्पष्ट पार्दै उनले भने, ‘यस पटक टोलीमा यस्ता खेलाडीहरू थिए, जसले मलाई मैदानमा जाँदा एक्लैले सबै गर्नुपर्छ भन्ने महसुस हुन दिएनन् । म असफल हुँदा पनि खेल जिताउन सक्ने खेलाडीहरू मेरो पछाडि र वरपर थिए । हाम्रो टोलीमा यस सिजन धेरै खेलाडीहरूले ‘म्यान अफ दि म्याच’ को अवार्ड जितेका छन्, जसले हाम्रो सामूहिक शक्ति देखाउँछ ।’

टोलीको बलिङ र ब्याटिङ पक्षको प्रशंसा गर्दै उनले जस ह्याजलवुड, भुवनेश्वर कुमार, ज्याकब डफी जस्ता विश्वस्तरीय बलरका साथै क्रुणाल पाण्ड्या र यस सिजन उत्कृष्ट प्रदर्शन गरेका रसिख दारको योगदान महत्त्वपूर्ण रहेको बताए । सबै ब्याटरहरूले पनि समयअनुसार आफ्नो भूमिका निभाएको भन्दै कोहलीले सन्तुलित र अलराउन्ड रूपमा बलियो टोलीको हिस्सा हुन पाउँदा आफू निकै खुसी भएको र यही शक्तिका कारण मैदानमा उच्च आत्मविश्वास देखिएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप