बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘डीडीसीबाट सुधारको सुरुआत गरिएको हो, निजी क्षेत्रलाई उपेक्षा गर्ने सरकारको कुनै नीति छैन’

सोमबार, १८ जेठ २०८३, १६ : ०२
सोमबार, १८ जेठ २०८३

सारांश

  • कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि तीनै तहका सरकार, कृषक, निजी क्षेत्र र सरोकारवालाबिच आपसी सहकार्य आवश्यक रहेको बताएकी छन्।
  • मन्त्री चौधरीले दुग्ध व्यवसायलाई थप प्रभावकारी र व्यावसायिक बनाउन जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा सुधार आवश्यक रहेको बताइन्।
  • उनले दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको बक्यौता भुक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र निजी क्षेत्रलाई उपेक्षा गर्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पारिन्।

ललितपुर। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि तीनै तहका सरकार, कृषक, निजी क्षेत्र र सरोकारवालाबिच आपसी सहकार्य आवश्यक रहेको बताएकी छन्। २६ औँ राष्ट्रिय दुग्ध दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन्। 

दुग्ध व्यवसायलाई थप प्रभावकारी र व्यावसायिक बनाउन जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सरकार यसका लागि निरन्तर लागिपरेको उनले स्पष्ट पारिन्। कार्यक्रममा बोल्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रले हाल उत्पादन लागतमा भएको वृद्धि, उपभोक्ताको घट्दो सङ्ख्या, भौगोलिक जटिलता, पशु रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण तथा किसानले समयमै भुक्तानी नपाउने जस्ता बहुआयामिक चुनौतीहरू सामना गरिरहेको उल्लेख गरिन्। 

उनले दुग्ध उत्पादन गर्ने किसानहरूको लामो समयदेखिको बक्यौता भुक्तानी प्रक्रियालाई दुग्ध विकास संस्थान (डीडीसी) ले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी समेत दिइन्। आफ्नो सम्बोधनका क्रममा मन्त्री चौधरीले भनिन्, ‘समग्र दुग्ध क्षेत्रको विकासका लागि तीनै तहको सरकार, कृषक, निजी क्षेत्रका व्यवसाय र सरोकारवालाहरूसँग हातेमालो गर्दै जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य व्यवस्थापन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा अझै सहकार्य गर्नको लागि आवश्यक पनि छ।’ 

उनले सरकारले दुग्ध विकासको क्षेत्रमा दिनप्रतिदिन काम गरिरहेको दाबी गर्दै थपिन्, ‘अहिले भुक्तानी समस्या समाधानको लागि दुग्ध विकास संस्थानले कृषकको भुक्तानी प्रक्रियालाई प्राथमिकतामा राख्दै आइराखेको कुरा तपाईँहरूलाई अवगत नै छ र हामीले सकेसम्म दुग्ध क्षेत्रलाई निकै अगाडि बढाउनुपर्छ भनेर काम गरिराखेका छौँ। डीडीसी नेपालको सरकारी संस्थान भएको कारण त्यहाँबाट नै राम्रो कामको सुरुवात गरेका हौँ, निजी क्षेत्रलाई उपेक्षा गरेको होइन।’

मन्त्री चौधरीले डीडीसी सरकारी स्वामित्वको संस्था भएकाले सरकारले आफ्नै निकायबाट सुधार र सकारात्मक कामको सुरुआत गरेको स्पष्ट पारिन्। निजी क्षेत्रलाई उपेक्षा गर्ने वा पाखा लगाउने सरकारको कुनै पनि नीति नरहेको प्रस्ट पार्दै उनले निजी र सरकारी दुवै क्षेत्रको सहअस्तित्वले मात्रै दुग्ध बजारलाई सुरक्षित र भरपर्दो बनाउन सकिने धारणा व्यक्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप