मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुसी आक्रमणपछि भग्नावशेषबाट शव निकाल्दै उद्धारकर्मी, युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु

मङ्गलबार, १९ जेठ २०८३, १९ : २९
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • रुसले युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
  • यो रुसको पछिल्ला केही महिनायताको सबैभन्दा ठुलो आक्रमणमध्ये एक हो, जसमा बालबालिकासहित नागरिक पूर्वाधार र ऊर्जा संरचनाहरूलाई निशाना बनाइएको थियो ।
  • युक्रेनका राष्ट्रपतिले रुसले रातभरमा ६५६ वटा आक्रमणकारी ड्रोन र ७३ वटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको जानकारी दिएका छन् ।

किभ । रुसले मंगलबार राति युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुई बालबालिका पनि रहेका छन् । पछिल्ला केही महिनायता यो रुसको सबैभन्दा ठुलो आक्रमणमध्ये एक मानिएको छ । अधिकारीहरूका अनुसार डिनिप्रोमा एक अपार्टमेन्ट भवनमा भएको आक्रमणपछि भग्नावशेषबाट एक आठ वर्षीय बालक र एक महिलाको शव निकालिएको छ । उक्त सहरमा मात्रै १२ जनाको मृत्यु भएको बताइएको छ । राजधानी किभमा थप ६ जनाले ज्यान गुमाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशभरका नागरिक पूर्वाधार र ऊर्जा संरचनाहरूलाई निशाना बनाइएको बताएका छन् । आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । रुसको रक्षा मन्त्रालयले यो आक्रमण युक्रेनले यसअघि गरेको हमलाको जवाफस्वरूप गरिएको जनाएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा सबै निर्धारित लक्ष्यहरू सफलतापूर्वक पूरा गरिएको दाबी गरिएको छ ।

गत मे महिनाको अन्त्यतिर पूर्वी युक्रेनको आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा रहेको एक छात्रावासमाथि भएको घातक आक्रमणका लागि किभलाई दोष दिँदै रुसले व्यवस्थित आक्रमण जारी राख्ने चेतावनी दिएको थियो । युक्रेनले भने आफूले रुसी सैन्य एकाइलाई निशाना बनाएको जनाएको छ । ‘यो अभ्यास जारी रहनेछ,’ रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने । आक्रमणहरू युक्रेनका सैन्य पूर्वाधारलाई लक्षित गरिएको दाबी उनले गरे ।

६५६ ड्रोन र ७३ मिसाइल प्रहार

जेलेन्स्कीले सोमबार राति नै ठुलो आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । उनले  सर्वसाधारणलाई हवाई हमलासम्बन्धी सतर्कता सूचनामा ध्यान दिन आग्रह गरेका थिए । मंगलबार बिहान उनले रुसले रातभरमा ६५६ वटा आक्रमणकारी ड्रोन र ७३ वटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको जानकारी दिए, तीमध्ये ब्यालिस्टिक, क्रुज तथा जहाजविरोधी मिसाइलहरू समेत रहेको उनले बताए । उनले युक्रेनलाई थप प्याट्रियट मिसाइल प्रणालीमिसाइल उपलब्ध गराउन अमेरिकासँग पुनः आग्रह गरेका छन् । ‘प्याट्रियट प्रणालीका लागि मिसाइल आपूर्तिमा अमेरिकाको सहयोग अहिले अत्यन्त आवश्यक छ,’ जेलेन्स्कीले भने ।

जेलेन्स्कीका अनुसार मुख्य आक्रमण राजधानी किभमाथि केन्द्रित थियो, जहाँ दर्जनौँ आवासीय भवन तथा अन्य नागरिक पूर्वाधारमा क्षति पुगेको छ । ड्निप्रोमा भएको आक्रमणले अपार्टमेन्ट भवनको एक भाग पूर्ण रूपमा ध्वस्त भएको उनले बताएका छन् । किभ र ड्निप्रोमा मात्रै ९० भन्दा बढी व्यक्ति घाइते भएका छन् । उत्तरपूर्वी सहर खार्किभमा पनि ऊर्जा संरचना तथा नागरिक क्षेत्रलाई निशाना बनाइएको थियो । त्यहाँ एक बालकसहित १० जना घाइते भएका छन् ।

त्यसैगरी दक्षिणी क्षेत्र जापोरिजियामा रहेको एक औद्योगिक प्रतिष्ठानमा पनि आक्रमण भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार उद्धारकर्मीहरू अझै पनि भग्नावशेष हटाएर थप व्यक्तिको खोजी गरिरहेका छन् । युद्ध जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप