रवि लामिछानेलाई भारतले दिएको महत्त्वको कूटनीतिक अर्थ के ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
- भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भ्रमणमा रहेका लामिछानेलाई भारतले राजकीय शैलीमा विशेष महत्त्व दिएको छ ।
- यो भेटघाटलाई परराष्ट्र विज्ञहरूले नेपाल-भारत कूटनीतिक सम्बन्ध र नयाँ दलहरूसँगको सहकार्यका लागि महत्त्वपूर्ण मानेका छन् ।
काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटवार्ता गरेका छन् ।
सभापति लामिछानेको भ्रमण राजकीय शैलीमा देखिएको छ । उनलाई भारतले विशेष महत्त्व दिएको विभिन्न घटनाक्रमले देखाएका छन् ।

रास्वपा सभापति लामिछानेसँगको भेटघाटपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत खुसी व्यक्त गरेका छन् । रास्वपा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको उनले जनाएका छन् ।
मोदीले दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाउँदै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले पूर्ण रूपमा स्वागत र समर्थन गरेको पनि प्रस्ट पारेका छन् ।
नेपाल ‘नेभरहुड फस्ट’ नीतिको एक प्राथमिकतामा परेको साझेदार देश रहेको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबिचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्थानमा पुर्याउन हामी उत्सुक छौँ ।’
भेटघाटका क्रममा दुवै नेताबिच आपसी सहकार्य र साझा समृद्धिका लागि सँगै अगाडि बढ्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ । भारतले आफ्नो विदेश नीतिमा नेपाललाई सदैव उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै मोदीले नेपालको नयाँ सरकारसँग ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने तत्परता समेत देखाएको बताइएको छ ।

यो भेटघाट र भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिलाई नेपाल र भारतबिचको कूटनीतिक सम्बन्ध तथा नयाँ राजनीतिक दलहरूसँगको सहकार्यका लागि एक महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको परराष्ट्र विज्ञ इन्द्रा अधिकारीले बताइन् । ‘पुराना दलहरूसँग भारतको एकखालको सम्बन्ध छँदैछ, नयाँ शक्तिको रूपमा उदाएको रास्वपासँग पनि सम्बन्ध बनाउन भारतले जोड दिएको देखिन्छ । यसलाई अन्यथा लिन हुँदैन,’ उनले भनिन् ।
कुनै पनि नयाँ शक्तिसँग विदेशी शक्तिहरूले सम्बन्ध बनाउन चाहने प्रस्ट पार्दै उनले भारतले पनि त्यही गरिरहेको बताइन् ।
सोमबार भारत भ्रमणमा पुगेका सभापति लामिछानेले मंगलबारदेखि राजनीतिक भेटघाट सुरु गरेका हुन् । मंगलबार उनले भाजपाका अध्यक्ष नितिन नवीन, भारतीय गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस.जयशंकारसँग भेटवार्ता गरेका थिए ।

विगतमा पनि नेपालका विभिन्न राजनीतिक दलका नेतृत्वले भारत भ्रमण गरेका थिए, तर यसपटक रास्वपाका सभापति रवि लामिछानेलाई भारतले जति महत्त्व दिएको छ, त्यति महत्त्व अन्य पार्टीका नेतृत्वलाई दिएको थिएन । यसको कारण खुलाउँदै पूर्वराजदूत डा.लोकराज बरालले भने, ‘सबैले बलेको आगो ताप्ने हो । भारतले पनि त्यही गरेको हो । जो शक्तिमा हुन्छ, उसको भक्ति हुनु स्वाभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।’
भारतले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग सम्बन्ध राख्दै आएको थियो । रास्वपा छोटो समयमै नेपालको राजनीतिमा शक्तिशाली पार्टीका रूपमा स्थापित भएपछि भारतको सत्तारुढ दलमार्फत नेपालको सत्तारुढ दलसँग सम्बन्ध स्थापित गर्ने प्रयास भारतले सुरु गरेको कूटनीतिक मामिलाका जानकार बताउँछन् । त्यसैले पनि अहिले रवि लामिछानेले भारत भ्रमणमा निकै महत्त्व पाएको उनीहरूको तर्क छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशन डा. मृगेन्द्र कार्कीले भारतले रास्वपाको सभापति लामिछानेलाई महत्त्व दिनु भनेको नेपाललाई नै महत्त्व दिएको जस्तो भएको बताए । उनले भने, ‘भारतले अहिले रास्वपालाई जसरी महत्त्व दिएको छ, त्यो हेर्दा नेपालसँगको सम्बन्धलाई निरन्तरता दिन खोजेको देखिन्छ ।’
प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपाल–भारत सीमाको बारेमा दिएको अभिव्यक्ति पनि भारतको पक्षमा रहेकाले रास्वपा सभापति लामिछानेको यो भ्रमण उत्साहजनक र महत्त्वपूर्ण रहेको उनले बताए ।
अहिलेको समयमा नेपालमा सबैभन्दा शक्तिशाली पार्टी रास्वपा भएकाले अर्को चुनावसम्म यसलाई कसैले केही गर्न नसक्ने प्रस्ट पार्दै उनले सोही कारणले पनि भारतले रास्वपाका सभापति लामिछानेलाई महत्त्व दिएको हुन सक्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण