ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
सारांश
- सांसद रामेश्वर श्रेष्ठले ग्वार्को-दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्ग बनाउने सरकारी तयारीको विरोध गरेका छन्।
- उनले विस्तारका क्रममा बस्ती, पुरातात्त्विक सम्पदा र नागरिकको थातथलो सङ्कटमा पर्ने भन्दै दिगो र जनमुखी विकासको माग गरेका छन्।
- सांसद श्रेष्ठले युनेस्कोमा सूचीकृत हुने प्रक्रियामा रहेको क्षेत्रमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्त्विक मूल्य विपरीत हुने बताएका छन्।
काठमाडौँ । सरकारले ग्वार्को–दाहालटार सडक खण्डलाई ‘राष्ट्रिय राजमार्ग’ का रूपमा रूपान्तरण र विस्तार गर्ने तयारी अघि बढाएकोमा बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठले आपत्ति जनाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले 'ग्वार्को–दाहालटार सडक प्रभावित सरोकार समिति' मार्फत स्थानीय जनताले अघि सारेका जायज मागहरूमा आफ्नो दृढ समर्थन र ऐक्यबद्धता रहेको स्पष्ट पारेका छन्
विस्तारका नाममा केन्द्रविन्दुबाट दायाँबायाँ २५/२५ मिटर र सेडब्याकको मापदण्ड कार्यान्वयन गर्दा ऐतिहासिक बस्ती, पुरातात्त्विक सम्पदा र नागरिकको थातथलो सङ्कटमा पर्ने भन्दै सांसद श्रेष्ठले दिगो र जनमुखी विकासको अवधारणा अपनाउन सरकारसँग माग गरे । उनले विकास र भौतिक पूर्वाधार निर्माण राज्यको अनिवार्य दायित्व भए तापनि स्थानीय सभ्यता र ऐतिहासिक पहिचानलाई विस्थापित गरेर गरिने विकास मान्य नहुने बताए ।
सांसद श्रेष्ठले ऐतिहासिक ग्वार्कोदेखि सिद्धिपुर लुभु हुँदै पनौतीसम्मको क्षेत्र एउटा मानव बस्ती मात्र नभएर जीवित इतिहास, संस्कृति र प्राचीन नेवारी सभ्यताको केन्द्र भएको स्मरण गराएका छन् ।
पनौती क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको उल्लेख गर्दै उनले यस्तो संवेदनशील क्षेत्रमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्त्विक मूल्य र मान्यता विपरीत हुने बताए । उनले भने, 'संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको यस्तो ऐतिहासिक स्थलमा आधुनिक राजमार्गको मापदण्ड लाद्नु पुरातात्त्विक मूल्य र मान्यता विपरीत हुन जान्छ। विकासले सम्पदाको विनाश होइन, संरक्षण गर्नुपर्छ।'
विज्ञप्तिमा नागरिकको आवासको अधिकार र पुस्तौँदेखि आर्जेको सम्पत्तिको सुरक्षा गर्नु लोकतान्त्रिक राज्यको प्राथमिक कर्तव्य भएको सम्झाइएको छ। विकासका योजनाहरू तर्जुमा गर्दा स्थानीय नागरिकलाई भूमिहीन वा घरबारविहीन बनाउने नीति न्यायसङ्गत हुन नसक्ने उनको तर्क छ।
उनले भनेका छन्, 'भौतिक पूर्वाधारले नागरिकको जीवनस्तर उकास्नुपर्नेमा उल्टै विस्थापनको जोखिम निम्त्याउनु विकासको सर्वमान्य सिद्धान्तभित्र पर्दैन। विकास नागरिकका लागि हो, नागरिकलाई विस्थापित गरेर गरिने विकासको कुनै औचित्य रहँदैन।'
भौगोलिक संवेदनशीलता र सांस्कृतिक विशिष्टता भएका क्षेत्रमा द्रुतमार्ग वा राष्ट्रिय राजमार्गभन्दा स्थानीय आवश्यकता सुहाउँदो ‘सहरी सडक’ को अवधारणा उपयुक्त हुने ठहर सांसद श्रेष्ठको छ। उनले यस सडक खण्डलाई राष्ट्रिय राजमार्गको भारी बोकाउनुभन्दा स्थानीय पर्यावरण, पर्यटन र सांस्कृतिक संवेदनशीलतालाई मध्यनजर गर्दै वैज्ञानिक स्तरोन्नति गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
'ग्वार्को–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गको भारी बोकाउनुभन्दा स्थानीय पर्यावरण, पर्यटन र सांस्कृतिक संवेदनशीलतालाई मध्यनजर गर्दै ‘सहरी सहायक मार्ग’ का रूपमा वैज्ञानिक स्तरोन्नति गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण