अवसरवादीहरूको भीड र रास्वपाको चुनौती
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट निर्वाचित धेरै सभापतिहरू विगतमा अन्य दलमा सक्रिय रहेका व्यक्तिहरू हुन् ।
- नयाँ पार्टीमा प्रवेश गर्ने सबै व्यक्तिहरू विचार र सिद्धान्तका आधारमा सङ्गठित भएका हुन् वा अवसर खोज्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् भन्ने प्रश्न उठेको छ ।
- अवसरवादी प्रवृत्तिहरूले पार्टीभित्र जरा गाडेमा जनताको आशा निराशामा बदलिने र नयाँ शक्तिको सफलता व्यक्तिभन्दा सिद्धान्त र नतिजाले मापन हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट निर्वाचित धेरै जिल्ला सभापतिहरू विगतमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूमा सक्रिय रहेका व्यक्तिहरू भएको तथ्य सार्वजनिक भएको छ । यो आफैँमा अस्वाभाविक कुरा होइन । लोकतन्त्रमा दल परिवर्तन गर्ने अधिकार सबैलाई हुन्छ ।
तर प्रश्न के हो भने, नयाँ राजनीतिक शक्तिमा प्रवेश गर्ने सबै व्यक्तिहरू विचार र सिद्धान्तका आधारमा रास्वपामा सङ्गठित भएका हुन्, वा सत्ताबाहिर रहेका बेला आफूलाई नयाँ अवसर खोज्ने माध्यमका रूपमा रास्वपालाई प्रयोग गरिरहेका छन् ?
सत्तामा रहेका बेला भ्रष्टाचारको आरोप, गुटबन्दी र अवसरवादसँग जोडिएका धेरै अनुहारहरू, जब सत्ताबाट बाहिरिएपछि नयाँ पार्टीमा प्रवेश गर्छन्, तब उनीहरूको उद्देश्य परिवर्तनको राजनीति हो कि नयाँ अवसरको खोजी भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । भ्रष्टाचार गर्न नपाएको अवस्था र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता एउटै कुरा होइन । सत्तामा नहुँदा स्वच्छ देखिनु सजिलो हुन्छ, तर वास्तविक परीक्षा जिम्मेवारी र अधिकार प्राप्त गरेपछि सुरु हुन्छ ।
यसैकारण कुनै पनि नयाँ राजनीतिक दलका लागि सबैभन्दा ठुलो खतरा बाहिरका विरोधी होइनन्, भित्र प्रवेश गर्ने अवसरवादीहरू हुन सक्छन् । इतिहासले धेरै दलहरूलाई बाह्य आक्रमणले भन्दा आन्तरिक रूपमा प्रवेश गरेका स्वार्थ समूहहरूले कमजोर बनाउने गरेको देखाएको छ । यदि पुराना प्रवृत्ति र पुरानै सोच बोकेका व्यक्तिहरूले नयाँ पार्टीको नेतृत्व कब्जा गर्न थाले भने नयाँ दल पनि पुरानै राजनीतिक संस्कृतिको सिकार बन्न सक्छ ।
जनताले रास्वपालाई पुराना दलहरूको विकल्पको रूपमा स्वीकार गरेका हुन्, पुराना दलका असन्तुष्ट नेताहरूको शरणस्थलको रूपमा होइन । त्यसैले पार्टीभित्र विचार, सिद्धान्त र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता झनै बढेको छ । केवल कुन दलबाट आएको हो भन्ने आधारमा होइन, उसले नयाँ राजनीतिक संस्कार विकास लागि के योगदान गरेको छ भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ ।
विशेष गरी आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणका विषयमा जनताले अपेक्षा गरेका परिणामहरू देखिन सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । विगतमा भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता र संरचनात्मक सुधारका विषयमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा कति अघि बढे ?
भ्रष्टाचार नियन्त्रणको बहस केवल अनुसन्धान र कारबाहीमा सीमित रहने कि भ्रष्टाचार हुनै नसक्ने व्यवस्था निर्माण गर्ने दिशामा जाने ? नगदमा आधारित अर्थतन्त्रलाई क्रमशः डिजिटल र पारदर्शी बनाउने, ठुला कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तथा भ्रष्टाचारका अवसरहरू कम गर्ने नीतिगत सुधारबारे पर्याप्त बहस र कार्यान्वयन किन देखिँदैन भन्ने प्रश्न उठिरहेको छ ।
परिवर्तनका नाममा पुरानै संस्कार र अवसरवादले पार्टीभित्र जरा गाड्न थाल्यो भने जनताको आशा निराशामा बदलिन धेरै समय लाग्दैन । त्यसैले बालेन्द्र शाहसहित पार्टी नेतृत्वले सबैभन्दा बढी सावधान हुनुपर्ने विषय बाहिरका आलोचक होइनन्, भित्र प्रवेश गरिरहेका अवसरवादी प्रवृत्तिहरू हुन् । नयाँ राजनीतिक शक्तिको सफलता पुराना अनुहारहरूको सङ्ख्याले होइन, नयाँ मूल्य, नयाँ संस्कृति र नतिजाले मापन हुनेछ ।
यदि परिवर्तनको यात्रालाई जोगाउने हो भने, पार्टीले व्यक्तिभन्दा सिद्धान्त, पदभन्दा कार्यसम्पादन र लोकप्रिय नाराभन्दा संरचनात्मक सुधारलाई प्राथमिकता दिनुपर्छ । अन्यथा नयाँ बोतलमा पुरानै रक्सी राखिएको आरोपबाट बच्न गाह्रो हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण