बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भा रियल मड्रिडमा आबद्ध

बुधबार, ०३ असार २०८३, १५ : ५०
बुधबार, ०३ असार २०८३

सारांश

  • रियल मड्रिडले पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भालाई सन् २०२८ सम्मका लागि अनुबन्ध गरेको छ ।
  • म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएपछि सिल्भा फ्री ट्रान्सफरमा रियल मड्रिड आबद्ध भएका हुन् ।
  • मुख्य प्रशिक्षक जोसे मोरिन्होको विशेष आग्रहमा सिल्भालाई टोलीमा भित्र्याइएको हो ।

म्याड्रिड । स्पेनिस क्लब रियल मड्रिडले पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भालाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको छ ।

३१ वर्षीय सिल्भा र मड्रिडबिच सन् २०२८ सम्मका लागि सम्झौता भएको छ, जसमा आपसी सहमतिमा थप एक वर्ष सम्झौता नवीकरण गर्न सकिने विकल्प पनि राखिएको छ । 

हाल आफ्नो राष्ट्रिय टोलीसँग विश्वकप खेलिरहेका सिल्भा फ्री ट्रान्सफरमा रियल मड्रिड आउन लागेका हुन् । म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएपछि उनले स्पेनिस क्लब रोजेका हुन् । सन् २०१७ मा आबद्ध भएयता उनी प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा म्यानचेस्टर सिटीका एक महत्त्वपूर्ण खेलाडीका रूपमा रहँदै आएका थिए । रियल मड्रिडले यसअघि नै मार्क कुकुरेयाको आगमन घोषणा गरिसकेको छ भने डमफ्रीज र कोनाटेको अनुबन्ध औपचारिक रूपमा घोषणा हुन बाँकी छ । 

स्पेनी खेलकुद पत्रिका 'मार्का'ले जुन ११ मै सिल्भा र क्लबबिचको वार्ता अन्तिम चरणमा पुगेको उल्लेख गरेको थियो, जसलाई अहिले क्लबले औपचारिकता दिएको छ ।

सिल्भालाई टोलीमा भित्र्याउन मुख्य प्रशिक्षक जोसे मोरिन्होले विशेष आग्रह गरेका थिए । हालै मड्रिडमा जोसे एन्जल सान्चेज, जुनी कालाफाट, एजेन्ट जोर्ज मेन्डिस र प्रशिक्षक मोरिन्होबिच क्लबको आगामी योजना र खेलाडी अनुबन्धका विषयमा भएको छलफलमा सिल्भाको नामलाई प्राथमिकता दिइएको थियो । 

विगतको सिजनमा केही कठिन परिस्थितिबाट गुज्रिएको रियल मड्रिडको मिडफिल्डलाई सिल्भाको आगमनले थप सिर्जनशील र ऊर्जा दिने अपेक्षा गरिएको छ । 

केही हप्ताअघि मात्र सिल्भाले आफ्नो भविष्यबारे भनेका थिए, 'म अन्ततः यस्तो टोलीको खोजीमा रहनेछु, जहाँ मलाई साँच्चिकै आवश्यक ठानियोस् । त्यो मेरो लागि निकै महत्त्वपूर्ण छ र मैले निर्णय गरेको दिन सबैले थाहा पाउनेछन् ।'

अन्ततः बार्सिलोना र एट्लेटिको मड्रिडजस्ता प्रतिद्वन्द्वी क्लबहरूलाई पछि पार्दै रियल मड्रिड उनलाई अनुबन्ध गर्न सफल भएको छ ।

उनको राष्ट्रिय टोली पोर्चुगलले आज राति पौने ११ बजे कंगोसँग खेल्दै फिफा विश्वकप सुरुवात गर्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप