शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीसँग ‘वारपार’

‘रास्वपा संघीयता खारेजीको पक्षमा छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीमा एकमत छ’

‘महाधिवेशनलाई तीन दिनको समयसीमा तोक्नु हाम्रो कमजोरी थियो’
बिहीबार, १८ असार २०८३, २० : ००
बिहीबार, १८ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली र वैचारिक नेता गणेश पराजुली स्थापनाकालदेखि नै पार्टीमा सक्रिय छन् । स्पष्ट वक्ता, शान्त स्वभाव र तार्किक क्षमताका धनी पराजुली अहिले रास्वपा संसदीय दलको उपनेता र केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । 

भर्खरै सम्पन्न महाधिवेशनमा उनी भारी मतका साथ केन्द्रीय सदस्यमा विजयी भए । पार्टीभित्र उनलाई विवादरहित र सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा चिनिन्छ । 
नेता पराजुलीसँग रास्वपाको पहिलो महाधिवेशनपछि पार्टीको आन्तरिक जीवन, नीति, विचार र व्यवस्थापकीय पक्षबारे रातोपाटीको ‘वारपार’मा संवाद गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

महाधिवेशन सकियो, नवनिर्वाचित केन्द्रीय सदस्यको रूपमा शपथ पनि लिनुभयो । सुरुमा त तपाईंलाई महामन्त्रीको दाबेदारको रूपमा हेरिएको थियो, तर केन्द्रीय सदस्यमा मात्रै सीमित हुनुभयो । किन फिर्ता लिनुभयो उम्मेवारी ?

राजनीतिमा पदभन्दा पनि जिम्मेवारी र भावना मुख्य कुरा हो । सबै इच्छा सधैँ पूरा हुन्छन् भन्ने छैन । एउटा राजनीतिक कार्यकर्ताले समय र परिस्थिति अनुसार राष्ट्र र समाजप्रति समर्पित भएर काम गर्नुपर्ने हुन्छ । अहिले म जुन जिम्मेवारीमा छु, यसलाई निर्भीकतापूर्वक र न्यायोचित ढंगले निर्वाह गर्न सकेँ भने त्यो नै मेरो लागि पदभन्दा ठुलो उपलब्धि हुनेछ । महामन्त्री बन्ने इच्छा हुनु स्वाभाविक हो, तर पार्टीको एकता र बृहत्तर हितका लागि म अहिलेकै भूमिकामा खुसी छु ।

रास्वपाले आफूलाई ‘स्मार्ट पार्टी’ भन्छ, तर महाधिवेशन व्यवस्थापन त निकै भद्रगोल देखियो नि ? किन यस्तो भयो ?

प्रश्न जायज छ । हामीले महाधिवेशनका लागि तीन दिनको समय तय गरेका थियौँ । तर समय व्यवस्थापन र प्राविधिक पाटोमा हामी चुक्यौँ भन्ने म स्वीकार गर्छु । हामीले इलेक्ट्रोनिक भोटिङ सिस्टम र डिजिटल डाटालाई प्राथमिकता दियौँ । तर अन्तिम समयमा आएर डाटा इन्टिग्रेसन र प्रतिनिधिको भेरिफिकेसनमा प्राविधिक समस्या उत्पन्न भयो ।

Ganesh Parajuli

अझ म्यानुअल फर्म भरेका डाटाहरूलाई सिस्टममा हाल्दा सोचेभन्दा बढी समय लाग्यो । यो कुनै राजनीतिक विवादले ढिलो भएको होइन । नितान्त प्राविधिक कारणले हो । यसबाट हामीले पाठ सिकेका छौँ र आगामी दिनमा यसलाई सुधार गर्नेछौँ ।

पुराना पार्टीहरूलाई ‘आउटडेटेड’ भन्ने तपाईंहरू नै महाधिवेशनमा उनीहरूभन्दा पनि बढी अव्यवस्थित देखिनुभयो नि, तात्विक फरक के रह्यो त ?

पुराना दलहरूले दशकौँदेखि महाधिवेशन गरिरहेका छन् । उनीहरूका लागि यो नियमित प्रक्रिया हो । हाम्रो यो पहिलो अभ्यास थियो । हामीले केही नयाँ प्रयोग गर्न खोज्यौँ, जसमा केही चुनौती थपिए । पार्टीको निर्वाचन आयोगले पनि पहिलो पटक यसरी डिजिटलाइज्ड महाधिवेशन गराउँदै थियो । तीन दिनको समयसीमा तोक्नु नै हाम्रो एउटा कमजोरी थियो कि भन्ने मेरो बुझाइ छ । तर प्रक्रिया ढिलो भएपनि हामीले धाँधलीरहित र प्रविधिमैत्री बनाउने प्रयास गर्‍यौँ । अव्यवस्थित देखिनुमा अत्यधिक गर्मी र समयको चाप पनि एउटा कारण थियो ।

आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको कुरा गर्ने पार्टीमा अधिकांश पदाधिकारीहरू त सबै निर्विरोध जस्तै चुनिए । लोकतान्त्रिक प्रतिस्पर्धालाई त ठाउँ नै दिनुभएन नि ?

पदाधिकारी चयनमा सहमतिको प्रयास हुनुलाई अलोकतान्त्रिक भन्न मिल्दैन । महाधिवेशनका प्रतिनिधिहरू अत्तालिसकेको र समय धेरै घर्किसकेको अवस्था थियो । पार्टीको जग बसाल्ने बेला भएकाले संस्थापकहरूबिच फाटो नआओस् र सबैलाई समेट्न सकियोस् भनेर सहमतिको बाटो रोजिएको हो । तर त्यहाँ कसैलाई चुनाव लड्न रोकिएको थिएन । जो साथीहरू प्रतिस्पर्धा गर्न चाहनुहुन्थ्यो, उहाँहरू चुनावी मैदानमा जानुभयो । सहमति गर्नु भनेको गुटबन्दी होइन, बरु पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने एउटा सूत्र हो ।

तपाईंले पनि महामन्त्रीमा दाबी छाडेर विपिन आचार्यलाई समर्थन गर्नुभयो । मनिष झालाई रोक्न सभापति रवि लामिछानेकै इशारामा यो ‘फिक्सिङ’ गरिएको हो भन्ने आरोप छ नि ?

मनिष झा मेरो अत्यन्तै प्रिय मित्र हुनुहुन्छ । हामी संस्थापक सदस्यहरू धेरै जना एउटै पदमा भिड्दा प्रतिनिधिहरू अन्योलमा पर्ने अवस्था थियो । त्यसैले हामीले आपसमा सल्लाह गरेर विपिनजीलाई अगाडि बढाउने निर्णय गरेका हौँ । मनिषजीले आफ्नो उम्मेदवारी कायम राख्न पाउनुहुन्थ्यो र राख्नुभयो पनि । यो कसैलाई हराउन वा जिताउन गरिएको फिक्सिङ होइन । 

तपाईंले मन्त्री पदसँग महामन्त्री साट्नुभयो भन्ने आरोप छ । मन्त्री बन्दै हो र तपाईं ?

एउटा स्वस्थ राजनीतिक समझदारी मात्र हो । मलाई मन्त्रीको लोभ दिएर पछि हटाइएको भन्ने कुरामा कुनै सत्यता छैन । मैले सधैँ लोभ र डरभन्दा माथि उठेर राजनीति गर्ने प्रयास गरेको छु ।

Ganesh Parajuli2

मत परिणाममा पनि व्यापक त्रुटि देखियो । कम मत ल्याउनेले जितेको र बढी ल्याउनेले हारेको भन्दै अदालतमा मुद्दा पनि परेको छ । ‘स्मार्ट पार्टी’ को यो कस्तो नतिजा हो ?

यसमा पनि म प्राविधिक कुरा नै दोहोर्‍याउँछु । भोटिङ मेसिनमा फोटो र क्लस्टर मिलाउने क्रममा समय अभावका कारण केही कठिनाइ भयो । निर्वाचन आयोगले म्यानुअल डाटा इन्ट्री गर्दा कतै त्रुटि भयो कि भन्ने हाम्रो पनि चासो छ । यो नियतवश गरिएको होइन । जो साथीहरूलाई मर्का परेको महसुस भएको छ, उहाँहरूले कानुनी बाटो रोज्नुभएको छ । यसले पार्टीलाई अझ बढी जिम्मेवार बनाउन मद्दत पुग्छ ।

सभापति रवि लामिछानेलाई असीमित अधिकार दिइएको छ, ५१ जना त उहाँले नै मनोनयन गर्ने भनिएको छ । यो त अलोकतान्त्रिक र ‘वान म्यान सो’ भएन र ?

हाम्रो पार्टीमा समायोजन प्रक्रिया अझै बाँकी छ । मधेशी, दलित, थारु, जनजाति र विभिन्न स्वतन्त्र अभियन्ताहरूलाई पार्टीमा समेट्न सभापतिलाई केही अधिकार दिनु आवश्यक थियो । यो अधिकार कसैलाई पाखा लगाउन होइन, बरु छुटेका वर्ग र समुदायलाई पार्टीको मूलधारमा ल्याउन प्रयोग गरिनेछ । अर्को महाधिवेशनसम्म पुग्दा हामी पूर्ण रूपमा निर्वाचित प्रणालीमै जानेछौँ । अहिलेको संक्रमणकालीन अवस्थामा यो आवश्यकता महसुस गरिएको हो ।

रास्वपा वैचारिक रूपमा झन् अस्पष्ट भयो भनिन्छ । पहिले ‘संवैधानिक समाजवाद’ भन्नुहुन्थ्यो, अहिले ‘सामाजिक लोकतन्त्र’ भन्नुभयो । यो कांग्रेसको विचारसँग नजिक हुन खोजेको हो ?

विचार भनेको ढुंगाको अक्षर होइन, यो समय र समाजको आवश्यकता अनुसार परिमार्जन हुँदै जान्छ । हामीले जलेश्वर बैठकबाटै आफ्नो वैचारिक लाइन स्पष्ट पारेका छौँ । ‘सामाजिक लोकतन्त्र’ले व्यक्तिको स्वतन्त्रता र राज्यको सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राख्छ । हामी उदार अर्थतन्त्रको पक्षमा छौँ, तर शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा राज्यको बलियो उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो कांग्रेस वा एमालेको नक्कल होइन, रास्वपाको मौलिक वैचारिक मार्गचित्र हो ।

प्रदेश संरचनाका बारेमा तपाईंहरू आफैँ अन्योलमा हुनुहुन्छ । सभापति पुनर्संरचना भन्नुहुन्छ, उपसभापति ‘खारेज’ भन्नुहुन्छ । आधिकारिक कुरा के हो ?

यहाँ शब्दमा अलिकति भ्रम भएको हुन सक्छ, तर भावना एउटै हो । रास्वपा प्रदेश संरचनाको हालको स्वरूपको विरुद्धमा छ । अहिलेको प्रदेश सभा अत्यन्तै खर्चिलो र कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ मात्र बनेको छ । हामी प्रदेश सभा खारेज गरेर प्रदेशलाई एउटा चुस्त प्रशासनिक र समन्वयकारी एकाइको रूपमा मात्र राख्न चाहन्छौँ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र सानो आकारको मन्त्रिमण्डल हाम्रो प्रस्ताव हो ।

Ganesh Parajuli1

त्यसैले प्रदेशको हालको भद्दा संरचना खारेज गरेर नयाँ ढंगले पुनर्संरचना गर्नुपर्छ भन्ने नै पार्टीको आधिकारिक र साझा धारणा हो । तर प्रदेश संरचना नै नराख्ने खारेज गर्ने भन्ने कुरा होइन । रास्वपा संघीयता पक्षधर पार्टी हो । 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा पनि तपाईंहरू विभाजित देखिनुभयो नि ? राष्ट्रपति कि प्रधानमन्त्री ? सभापतिको प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी मात्र छ । उपसभापतिको प्रतिवेदनमा प्रधानमन्त्री छ, यस्तो किन ? 
 
हाम्रो मूल एजेण्डा भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । यसमा राष्ट्रपति वा प्रधानमन्त्री भन्ने प्राविधिक पाटोमा बहस हुन सक्छ । सभापतिको प्रतिवेदनमा कार्यकारी प्रमुख भनिएको छ भने उपसभापतिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्नुभएको छ । यो संविधान संशोधनको विषय भएकाले राष्ट्रिय सहमति र बृहत छलफलपछि टुंगो लाग्ने कुरा हो । तर जनताबाट प्रत्यक्ष चुनिएको व्यक्तिले शासन चलाउनुपर्छ भन्नेमा हामी सबै एकमत छौँ ।

रास्वपाले सुशासनको कुरा गर्छ, तर सरकारमा गएपछि आफ्नै नेताहरूमाथि लागेका आरोपमा मौन बस्छ । यो कस्तो सुशासन हो ?

हामीले कहिल्यै पनि हाम्रा नेताहरूमाथि छानबिन हुनुहुँदैन भनेका छैनौँ । सुशासन भनेको कानुन सबैका लागि बराबर हुनु हो । रास्वपाले राज्यका संयन्त्रहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भन्दै आएको छ । भ्रष्टाचार विरुद्धको लडाइँमा हामी सम्झौता गर्दैनौँ । 

प्रधानमन्त्री बालेन्द्र शाहको लगाम रास्वपासँग छ कि छैन होला भनेर मानिसहरू सोध्ने गर्छन्, यसमा के भन्नुहुन्छ ?

हामी सरकारमा एउटा निश्चित कार्यादेश र न्यूनतम साझा कार्यक्रम लिएर गएका हौँ । सुशासन र डेलिभरीको मुद्दामा हामी सँगै छौँ । सरकारले गर्ने हरेक निर्णय सभापति र प्रधानमन्त्रीबिच सल्लाह भएर नै हुने गरेका छन् । पार्टी सभापति रवि लामिछानेले र सरकार बालेन्द्र शाहले चलाइरहनुभएको छ । हाम्रा मन्त्रीहरूले आफ्नो मन्त्रालयमा स्वायत्त रूपमा काम गरिरहनुभएको छ । प्रधानमन्त्रीले पनि हाम्रा मुद्दाहरूलाई सकारात्मक रूपमा लिनुभएको छ । लगाम पार्टीकै हातमा छ । 

तपाईं दलको उपनेता, १८२ जना सांसदलाई एकताबद्ध बनाएर लैजान कत्तिको चुनौती छ ?

यो चुनौतीपूर्ण छ तर असम्भव होइन । हाम्रा धेरै सांसद नयाँ हुनुहुन्छ । केही अनुभवको कमी हुन सक्छ । तर सबैमा एउटा जोस र परिवर्तनको भोक छ । हामीले संसदीय दलमा र पार्टीमा नियमित प्रशिक्षण र छलफल गरिरहेका छौँ । सबैका आ–आफ्ना विचार हुन सक्छन्, तर पार्टीको मूल नीति र जनभावना विपरीत कोही पनि जानुहुने छैन भन्नेमा म विश्वस्त छु । हामी एउटा नयाँ संस्कारको राजनीति स्थापित गर्न आएका हौँ र यसमा सफल हुनेछौँ ।

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप

छुटाउनुभयो कि ?