१३ पटक फेरिए आयोजना प्रमुख तर २४ वर्षदेखि उस्तै छ हालत
सारांश
- मनोहरा जग्गा एकीकरण आयोजनाले २४ वर्षअघि सुरु गरेको नमुना बस्ती हालसम्म सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन्।
- सुविधासम्पन्न नमुना बस्तीका रूपमा परिकल्पना गरिएको क्षेत्रमा हाल अनधिकृत पार्किङ, अव्यवस्थित व्यवसाय र असुरक्षा बढेको छ।
- आयोजना प्रमुखहरू पटकपटक फेरिए पनि समस्या ज्यूँका त्यूँ रहनुका साथै सहयोग समितिको कार्यशैली र आर्थिक पारदर्शितामाथि प्रश्न उठेको छ।
काठमाडौँ । २४ वर्षअघि मनोहरा जग्गा एकीकरण आयोजनाले सुरु गरेको सुविधासम्पन्न नमुना बस्ती हालसम्म सम्पन्न हुन सकेको छैन ।
भक्तपुर जिल्लामा पर्ने मनोहराका बासिन्दाले यसकै कारण ठुलो सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । सिंहदरबारबाट मात्र ५ किलोमिटरको दूरीमा रहेको दिव्यश्वरी मनोहरा क्षेत्रको स्थलगत निरीक्षण गर्दा यहाँको भद्रगोल अवस्था स्पष्ट देखिन्छ ।
काठमाडौँको जडीबुटी पुल काट्नेबित्तिकै अरनिको राजमार्गको उत्तरतर्फ कुनै समय प्रशस्त खेतीयोग्य जमिन थियो । खोलाको किनारमा रहेको यो सुन्दर फाँटमा त्यतिबेला घरहरू बनेका थिएनन् । हाल सिद्धार्थ पेट्रोल पम्प रहेको क्षेत्रमा तत्कालीन मेयर केशव स्थापितको नजर पर्यो । उनले यस क्षेत्रमा २०५८ जेठ ६ गते सुविधासम्पन्न नमुना बस्तीको परिकल्पना गरे ।
_JQJmbDCeDC.jpg)
त्यसपछि काठमाडौँ महानगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको संयुक्त पहलमा मनोहरा जग्गा एकीकरण आयोजना सुरु भयो । जग्गाधनीहरूले आयोजनाका लागि आवश्यक जग्गा प्रदान गरे । यस क्षेत्रमा सडक, खानेपानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरी सो जग्गा पुनः स्थानीयलाई हस्तान्तरण गर्ने आयोजनाको सर्त थियो, तर २४ वर्ष बितिसक्दा पनि यो काम पूरा हुन सकेन ।
करिब २ हजार ३ सय रोपनी क्षेत्रफलमा फैलिएको मनोहरा जग्गा एकीकरण आयोजनाको दिव्यश्वरी ५ ‘ख’ ब्लक पुग्दा यहाँको अव्यवस्थित र लथालिङ्ग अवस्था छर्लङ्ग देखिन्छ ।
सुविधासम्पन्न नमुना बस्ती बनाउने भनिएको दिव्यश्वरीमा हाल अनधिकृत र अव्यवस्थित रूपमा सार्वजनिक सवारीसाधनहरू पार्किङ गरिएका छन् । पूर्व र पश्चिम रुटका बस व्यवसायीहरूले यो बस्तीलाई मनपरी ढंगले पार्किङस्थलका रूपमा कब्जा गरेका छन् ।
_Mx5NV7xMcs.jpg)
‘अन्यत्र शुल्क तिर्नुपर्ने भएकाले यहाँ जबर्जस्ती बसहरू पार्किङ गरिन्छ,’ दिव्यश्वरी मनोहर समाजका अध्यक्ष राजकुमार अधिकारीले भने, ‘बस व्यवसायीहरूले यहाँ दादागिरी र गुण्डागर्दी गर्छन्, हामीलाई हिँड्ने बाटोसमेत हुँदैन ।’
मनोहरा क्षेत्रमा अनधिकृत रूपमा गरिने पार्किङका कारण बालबच्चालाई विद्यालय र कलेज जान कठिनाइ भइरहेको छ । दैनिक आवतजावतमा निकै सास्ती भोग्नुपरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । स्थानीय चन्द्रकला खरेल (जमुना) भन्छिन्, ‘साँझ कार्यालयबाट घर फर्किँदा घरभित्रसम्म स्कुटर वा गाडी लैजान समस्या छ । ठुला गाडीको ओहरदोहरले सडकमा ठुला खाडलहरू बनेका छन् । बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसकेका छौँ ।’ गाडी चालकहरूको रवैयाका कारण केही बोल्न सक्ने स्थिति नरहेको उनी बताउँछिन् । गाडी चालक र सहचालकले उल्टै धम्काउने, गाली गर्ने र अपशब्द प्रयोग गर्ने गरेको स्थानीयको गुनासो छ ।
करिब ६ सय रोपनी क्षेत्रफलमा फैलिएको दिव्यश्वरी ५ ‘ख’ ब्लक अव्यवस्थित बस्तीको गतिलो उदाहरण बनेको छ । अनधिकृत र जबर्जस्ती पार्किङ गरिएका सवारीसाधन मात्र नभई यहाँ थुप्रै बेथिति र गैरकानुनी कामहरू पनि भइरहेका देखिन्छन् ।
_vYTCtrG8VN.jpg)
कच्ची बाटोका दुवैतर्फ ग्रिल पसल, कवाडी र ग्यारेजहरू सञ्चालन गरिएका छन् । जबर्जस्ती कब्जा जमाएर बसेका बसका कर्मचारीले दिने हैरानी र तनावको बयान गरिसाध्य छैन । चन्द्रकला खरेल (जमुना) भन्छिन्, ‘बस्ती एकदमै असुरक्षित बन्दै गइरहेको छ । यहाँ चोरी, लुटपाट र अनैतिक क्रियाकलापहरू भइरहेका छन् ।’
गाडीका कर्मचारीहरूले जथाभाबी पार्किङ गर्ने मात्र नभई मदिरा सेवन गरेर होहल्ला गर्ने र स्थानीयलाई धम्की दिने गरेको स्थानीय राजकुमार उप्रेतीले बताए ।
दिव्यश्वरी ५ ‘ख’ ब्लकमा झन्डै ७० घर र एक सय वटा टहरा छन् । यो बस्तीमा अझै पनि व्यवस्थित खानेपानी, बिजुली र सडक पूर्वाधार बनेको छैन । पुरानो सुकुमबासी बस्तीमा बाँस गाडेर बिजुलीको तार जोडिएको छ भने खानेपानीको पाइपलाइन नहुँदा बस्ती काकाकुल बनेको छ ।
बाटोभरि पाइलैपिच्छे खाल्डाखुल्डी छन्, जहाँ पानी पर्दा पोखरी जम्छन् । जथाभाबी फोहोर फाल्ने गरिएकाले यो बस्ती ‘डम्पिङ साइट’जस्तै बनेको छ । सार्वजनिक पार्क बनाउने भनिएको जग्गासमेत हडपेर खेती गरिएको छ । दिव्यश्वरी नगर अहिले एउटा कुरूप र अव्यवस्थित डम्पिङ साइट जस्तो देखिन थालेको स्थानीय राजकुमार उप्रेतीले दुखेसो पोखे ।
२४ वर्षअघि स्थापना भएको दिव्यश्वरी मनोहरा जग्गा एकीकरण आयोजना सहयोग समितिका अध्यक्ष सानुकाजी हेक्कालगायत कैयौँ सदस्यको निधन भइसकेको छ । हाल यो समिति कार्यवाहक अध्यक्ष रामसुन्दर विष्टको भरमा चलिरहेको छ ।
_PnH1c4igo0.jpg)
समितिको पुनर्गठन नगरी कार्यवाहककै भरमा आयोजनाले काम चलाउँदै आएको छ । यस समितिले अहिलेसम्म आय–व्ययको हिसाब सार्वजनिक नगरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन् । दिव्यश्वरी मनोहरा नगर समाजले नेपालको संविधान, २०७२ को धारा २७ (सूचनाको हक) अन्तर्गत लिखित रूपमा आयोजना समक्ष आय–व्ययको विवरण माग गरे पनि अनेक बहानाबाजी गरेर विवरण उपलब्ध नगराएको समाजका सदस्य राजेन्द्रप्रसाद कोइरालाले बताए । यसै विषयलाई लिएर अदालतमा रिट दायर गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।
‘सहयोग समिति नै मुख्य समस्याका रूपमा खडा भएको छ,’ स्थानीय बासिन्दा लोकबहादुर थापा भन्छन्, ‘आयोजनाले सहयोग समितिको सिफारिसबिना रकम खर्च गर्न पाउँदैन । यसमा सहयोग समितिका सदस्य र आयोजना पक्षबिच मिलेमतो छ । उपभोक्ता समितिका नाममा गैरकानुनी ठेक्का दिएर करोडौँ रकम भुक्तानी गरिएको छ ।’ हालसम्म आयोजनाको भौतिक प्रगति शून्यप्रायः रहेको थापा बताउँछन् ।
यस पटकदेखि मात्र टेन्डरमार्फत काम गर्ने भन्दै सूचना जारी गरिएको छ । ठेकेदार र आयोजनाबिच सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न भई कार्यादेश (वर्क अर्डर) समेत पाइसकेको अवस्थामा पनि आयोजनाले ठेकेदारलाई काम गराउन नसकेको उनले आरोप लगाए ।
व्यवस्थित र सुविधासम्पन्न नमुना आवासीय क्षेत्रको सपना देखाएर सुरु गरिएको यो बस्तीको उत्तरतर्फ दिव्यश्वरी ख ब्लकको अवस्था पनि उस्तै छ । हालसम्म यस क्षेत्रमा कुनै काम हुन नसकेको दिव्यश्वरी मनोहर नगर समाजका पूर्वअध्यक्ष उमानाथ रिजालले बताए । स्थानीय बासिन्दा राजकुमार अधिकारीका अनुसार, यो क्षेत्र नमुना बस्तीका रूपमा विकास हुने अपेक्षा गरिएको भए पनि हाल पूर्ण रूपमा सार्वजनिक पार्किङ स्थलमा परिणत भएको छ ।
_Y1zvga0WZV.jpg)
- आयोजना प्रमुखहरूको फेरबदल, समस्या भने उस्तै
स्थानीयका अनुसार, २४ वर्षको अवधिमा १३ जना आयोजना प्रमुख फेरिएका छन् । नयाँ नेतृत्व आउँदा आश्वासन त पाइन्छ, तर काम भने कहिल्यै अघि नबढेको स्थानीयको गुनासो छ । पटक–पटक डेलिगेसन जाँदा पनि आयोजनाका अधिकारीहरूले ‘आलटाल’ गर्ने र जिम्मेवारीबाट पन्छिने गरेको आरोप उनीहरूले लगाएका छन् ।
केही जग्गाधनीहरूले आफ्नो जग्गा ग्यारेज र पार्किङका लागि भाडामा दिएका कारण पनि यो समस्या झन् विकराल बनेको छ । जथाभाबी पार्किङ गरिएका ठुला गाडीहरूका कारण बाटो साँघुरो भएको छ, जसले गर्दा आपत्कालीन अवस्थामा एम्बुलेन्स वा दमकल आउनसमेत कठिन छ । जग्गाको मूल्यअनुसारको सुविधा नभए पनि कम्तीमा सम्मानजनक रूपमा बाँच्न सक्ने वातावरण बनाइदिन स्थानीय बासिन्दाले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री
-
लाओसबाट मान्यता खोज्दै मिन आङ ह्लाइङ
-
तालिम र गोष्ठीको बजेट काटेर किसानलाई राहत देऊ : रखाल
-
१४ महिनादेखि प्रमुख निर्वाचन आयुक्त पद रिक्त
-
सुडानको एल–ओबिडमा 'रेड अलर्ट' जारी
-
ट्राभल तथा टूर व्यवसायीलाई दुई दिने तालिम प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण